खेल


आईसीसीले नेपाललाई दिएको अवसर: पहिलोपटक महिला विश्वकप ग्लोबल छनोट

आईसीसीले नेपाललाई दिएको अवसर: पहिलोपटक महिला विश्वकप ग्लोबल छनोट

लक्ष्मी जि.सी
साउन १७, २०८२ शनिबार ९:७, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपटक घरेलु मैदानमा सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दैछ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई टी-२० महिला विश्वकप ग्लोबल छनोट आयोजनाको अवसर पहिलोपटक दिएको हो।  
 
अर्को वर्ष बंगलादेशसँग मिलेर आईसीसी यू-१९ विश्वकप आयोजना गर्न लागेको नेपालले त्यसअघि ग्लोबल छनोट आयोजनाको मौका पाएको छ।  

ग्लोबल छनोट आगामी पुष २८ गतेदेखि माघ १९ सम्म मुलपानीका दुई मैदान र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।   

क्यानले नेपालमा ग्लोबल छनोट आयोजना गर्न दिने आईसीसीको निर्णयको स्वागत गरिसकेको छ। पछिल्लो समय नेपाली क्रिकेटले लिइरहेको उचाइका कारण नेपालले ग्लोबल छनोटको मौका पाएको क्यानको बुझाइ छ। 

'विश्व मञ्चमा नेपालको उमेर समूह तथा महिला र पुरुष टोलीले दिलाएको सेटअपले देखाएको बेन्चमार्कको प्रभावका कारण हो,'क्यानका प्रवक्ता छुम्बी लामा भन्छन्, 'सगँसगैँ पछिल्लो समय नेपाल क्रिकेट संघले जति पनि काम गरेको छ, जति पनि प्रतियोगिता आयोजना गरेको छ। एनपीएलले पनि जसरी चर्चा पायो त्यसले नेपाल सबै हिसाबले उत्तम भयो।'

प्रतियोगिता मात्र नभएर पुर्वाधारका कारण पनि नेपालले ग्लोबल छनोट आयोजना गर्न लागेको छ। प्रवक्ता लामाले थपे, 'मुलपानीमा नै दुई वटा अन्तराष्ट्रिय मैदान छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पनि अन्तराष्ट्रिय स्तरको निमार्ण हुँदैछ यो सबैलाई आईसीसीले देखेकै छ। उसले यो सबै देखेर नै नेपालले गर्न सक्छ भनेर आयोजनाको अवसर दिएको हो।'

ग्लोबल छनोटमा नेपालसहित १० टोलीको सहभागी हुनेछन्। सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूहका शीर्ष ३ टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्। सुपर सिक्सको शीर्ष चार टोलीले विश्वकपमा स्थान बनाउनेछन्। 

विश्वकपका लागि बंगलादेश र आयरल्यान्डले स्थान बनाइसकेका छन्। २०२४ को महिला विश्वकपमा सहभागिता जनाएका कारण यी दुई देश स्वतः छनोट भएका हुन्।

इङल्यान्ड र वेल्समा हुने आईसीसी महिला टि-२० विश्वकप २०२६ जुन १२ देखि जुलाई ५ सम्म चल्नेछ। गत जेठमा थाइल्यान्डमा भएको एसिया क्षेत्र छनोटबाट नेपालले पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाएको थियो। नेपालको महिला टोलीले एकै वर्ष विश्वकपको एसिया क्षेत्र छनोट र ग्लोबल छनोट खेल्दै इतिहास बनाउँदैछ। 

ग्लोबल छनोट नेपालमा आयोजना हुने भएपछि टोलीकी पूर्वकप्तान रुविना क्षेत्री वेलबासे उत्साहित छिन्। 'मेरो लागि एकदम ठूलो अवसर हो। घरेलु मैदानमा मेरो जीवनको एकदमै ठूलो गेम हो। एकदम खुसी र उत्साहित छु। अरु बेलामा बाहिर गएर खेल्नभन्दा यो पटक घरमा नै खेल्नुपर्छ भनेर धेरै जोस जागँर बढेर आएको छ,' उनले भनिन्, 'विश्वकप खेल्नु नै छ। आफ्नो घरेलु मैदानमा छनोट हुने अवसर पाएका छौँ। हल्ला त सुनेको थिएँ तर समाचार नै सुनिसकेपछि खुसी लाग्यो। सबैले प्रेसर भन्छन् तर मैले अवसरको रुपमा लिएको छु।'

थाइल्यान्डबाट फर्केपछि नेपाली टोलीका हरेक सदस्य आफ्नो काममा जुटेको उनले सुनाइन्। 'उताबाट फर्केपछि फिटनेस प्रशिक्षक, कन्सल्टेन्ट कोच र हेड होचले के मा गल्ती छ के-के मा काम गर्नुपर्छ भनेर विगत दुई महिनादेखि आफ्नो ठाउँमा प्रशिक्षण गरिरहेका छौँ,' उनले थपिन्, 'जति जक्दो छिटो प्रशिक्षणमा बोलाएर वा त्रिकोणात्मक सिरिजमा पठाइयो, तयारी गर्न सक्यो राम्रो हुन्छ। पुरुष टोलीको लागि तयारी चलिरहेको छ। हाम्रो लागि पनि गर्‍यो भने राम्रो हुन्छ।'
 
ग्लोबल छनोट नेपालमा हुँदा यसले नेपालको खेलकुद मात्र नभएर पर्यटकीय आर्थिक  र रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण टेवा पुग्नेछ। 

'यसअघि नेपालमा नै यू-१९ विश्वकप आयोजना गर्ने भनिसकेका छौँ यस्तोमा ग्लोबल छनोट आयोजना हुनु राम्रो कुरा हो। एकपछि अर्को ठूलो प्रतियोगिता आयोजना गर्न दिँदा विस्तारै हामी न्युट्रल भेन्युको रुपमा विकास गर्नतर्फ लागिरहेका छौँ,' उनले भने, 'त्यसैले सरकारले जति सक्दो धेरै पुर्वाधारमा गर्‍यो भने साँच्चै नै नेपालमा अन्तराष्ट्रिय प्रतियोगिता गरेर आर्थिक पर्यटनको ढोका खोल्न सकिन्छ।' 

ग्लोबल छनोट नेपालमा आयोजना गर्नका लागि क्यानका तर्फबाट कुनै एप्रोच नभएको तर क्यान नेतृत्वले गरिरहेको कामको मुल्याङकन र क्रिकेटलाई माया गर्ने दशर्कका कारण नै नेपालले ग्लोबल छनोटको अवसर पाएको उनको बुझाइ छ। 

दुई ठूला प्रतियोगिता आयोजना गर्न कस्सिएको क्यानले यसलाई चुनौतीभन्दा पनि अवसरको रुपमा लिएको छ। व्यवस्थित रगंशाला हुँदा पुवार्धारमा अहिले कमजोरी छैन। आईसीसीले सबै कुरा मुल्याङकन गरेर नै प्रतियोगिता गर्न दिएको हो।

यसले क्यान पनि सक्षम छ भनेर नै प्रतियोगिता आयोजना गर्न दिएको लामाले बताए। त्यसैले क्यानले यसलाई अवसरको रुपमा प्रमाणित गर्नुपर्ने जरुरी रहेको लामाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad