वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लूभीएल) मा कर्णाली यशविस र ललितपुर क्विन्सले विजयी सुरुवात गरेका छन्।
शुक्रबार पोखरा रगंशालास्थित कभर्डहलमा भएको खेलमा ललितपुर क्विन्सले मधेस युनाइटेडलाई ३–० को सोझो सेटमा पाखा लगाएको हो।
पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले सहजै आफ्नो पक्षमा पार्यो।
आजै भएको उद्घाटन खेलमा कर्णाली यशविसले पोखरा निन्जाजलाई सोझो सेटमा नै हरायो।
साविक विजेता समेत रहेको कर्णालीले पोखरालाई २५–२१, २५–२० र २५–१४ को सेटमा हराउँदै सहजै जित दर्ता गरेको हो।
लिगको दोस्रो दिन शनिबार तीन खेल हुनेछन्। पहिलो खेलमा ललितपुरले काठमाडौँ स्पाइकर्सविरुद्ध खेल्नेछ। दिनको दोस्रो खेलमा कर्णालीले लुम्बिनी लाभासविरुद्ध खेल्नेछ। दिनको अन्तिम खेलमा पोखरले मधेस युनाइटेडविरुद्ध खेल्ने तालिका छ।
इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा हुने एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाडौँ स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।
सिंगल राउण्ड रोविनमा हुने लिगको शिर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन्। उपाधि भिडन्त भदौ २८ गते हुनेछ।
Shares

प्रतिक्रिया