खेल


सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित

सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित

नेपालखबर
असोज १४, २०८२ मंगलबार २३:२६, काठमाडौँ

वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० आई सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपाल पराजित भएको छ। 

अन्तिम खेलमा १० विकेटको फराकिलो हार व्यहोरे पनि नेपालले तीन खेलको सिरिजमा २–१ ले नतिजा आफ्नो पक्षमा पारेको छ। 

नेपालले पहिलो खेलमा १९ रनको जित निकाल्दै पूर्ण टेस्ट टोलीमाथि ऐतिहासिक जित निकालेको थियो। दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८३ रनमा अलआउट गर्दा नेपालले ९० रनको फराकिलो जित दर्ता गरेको थियो। लगातार दोस्रो जितसँगै नेपालले उपाधि आफ्नो पक्षमा पारेको थियो। 

अन्तिम खेलमा पराजित हुँदा नेपालले सिरिज क्लिन स्विप गर्ने मौका भने गुमायो। 

मंगलबारको खेलमा नेपालले दिएको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमा बिनाविकेटको क्षतिमै भेटायो। 

टोलीका लागि अमिर जांगो र अकिम अगस्तेले १२३ रनको साझेदारी गरे। अमिर ७४ र अकिम ४१ रनमा अविजित रहे। 

युएईको शारजाहस्थित शारजाह क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेपाल १ बलअगावै १२२ रनमै अलआउट भएको थियो। 

ओपनर कुशल भुर्तेलले बनाएको ३९ रन नै नेपालका लागि सर्वाधिक रह्यो। २९ बलमा २ चौका र ३ छक्का प्रहार गरेका कुशल क्याच आउट हुन पुगे। 

त्यसअघि छैटौँ ओभरको चौथो बलमा कुशलले २६ रन बनाउँदा जेसन होल्डरको बलमा फाबियन एलनले क्याच ड्रप गर्दा जीवनदान पाएका थिए। 

कप्तान रोहित पौडेलले १७ रन बनाउँदा विकेट किपरको हातबाट क्याच आउट नै भए। 

कुशल मल्लले १२ र गुल्सन झा १० रन बनाउँदै पेभेलियन फर्के। 

आरिफ शेख ६ रनमा आउट भए। मोहम्मद आदिल आलम ३ रनमा रनआउट हुन पुगे। 

सन्दीप जोरा १४ रन बनाउँदा क्याच आउट नै भए। सोमपाल कामी ४ रनमा एलबीडब्लु धरापमा परे। करण केसी डक आउट भए। 
लोकेश बम ९ रनमा क्याच आउट भए। 

वेस्ट इन्डिजका लागि रामोन सिमोन्डले ४ विकेट लिए। रामोनले आफ्नो टी–२० आई करियरमा पहिलो पटक ४ विकेट लिएका हुन्।
जेडिज ब्लाडेसले २ विकेट झारे। अकिल होसैन र जासोन होल्डरले समान एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad