खेल


त्रिदेशीय महिला फुटबल : आज नेपाल बलियो टोली चिनियाँ ताइपेईसँग भिड्दै

त्रिदेशीय महिला फुटबल : आज नेपाल बलियो टोली चिनियाँ ताइपेईसँग भिड्दै

प्रतिस्पर्धा गर्नुअघि अभ्यास गर्दै नेपाली महिला फुटबल टोली। तस्बिर : एन्फा


नेपालखबर
मंसिर १६, २०८२ मंगलबार ९:३, काठमाडौँ

इन्डोनेसियामा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत नेपाल आज (मंगलबार) आफूभन्दा बलियो टोली चिनियाँ ताइपेईसँग भिड्दै छ। 

स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे सुरु हुनेछ।

चाइनिज टोली ताइपेई फिफा वरीयतामा नेपालभन्दा माथि छ।

चाइनिज ताइपेई फिफा वरीयतामा ४२औँ स्थानमा छ भने नेपाल ८९औँ स्थानमा। 

सन् १९७७ मा अन्तर्राष्टिय महिला प्रतियोगितामा सहभागिता जनाएको चिनियाँ ताइपेईले १९७७, १९७९ र १९८१ मा लगातार एएफसी महिला एसियन कपको उपाधि जितेको थियो।

सन् १९८६ देखि अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिइरहेको नेपालले पनि एसियन कप खेलेको थियो तर समूह चरणको खेलमा सीमित रह्यो। 

नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले चिनियाँ ताइपेई नेपालभन्दा बलियो टोली भए तापनि उत्कृष्ट खेल प्रदर्शन गर्दै जित हासिल गर्ने विश्वास व्यक्त गरे। 

उनले यसअघि इन्डोनेसियाविरुद्धको खेलमा फिनिसिङ कमजोर देखिए पनि चिनियाँ ताइपेईविरुद्धको खेलमा सुधारिएको प्रदर्शन गर्ने दाबी गरे। 

उनले भने, 'हामी सुधारिएको खेल प्रदर्शन गर्दै जितको लक्ष्यसहित मैदानमा उत्रनेछौँ। राम्रो संगठनमा खेल्न सक्यौँ भने चाइननिज ताइपेईलाई हराएर प्रतियोगिताको समापन सकारात्मक गर्नेछौँ। हामीले जित निकाल्छौँ भन्ने विश्वास छ।'

मुख्य प्रशिक्षक न्यौपानेले नेपाली टोली साफ च्याम्पियनसिपको तयारीमा रहेको हुँदा ‘इन्जुड’ खेलाडीलाई आराम दिँदै नयाँ खेलाडीलाई मौका दिइने र आवश्यक परे सबैलाई मैदानमा उतार्न सकिने बताए।

त्यसैगरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले सबै खेलाडी मानसिक र शारीरिक रूपमा तयार रहेको बताइन्।

उनले भनिन्, 'हामी राम्रो खेल्छौँ। सबै खेलाडी ‘फिजिकली’ र ‘मेन्टली’ तयार भएकाले मैदानमा शतप्रतिशत खेल्नेछौँ।'

यस सिरिजअन्तर्गत यही मंसिर १० गते भएको पहिलो इन्डोनेसियाविरुद्धको खेलमा नेपाल हारेको थियो।

सो खेलमा इन्डोनेसियासँग नेपाल २–१ गोलअन्तरले पराजित भएको थियो।

चिनियाँ ताइपेईले भने इन्डोनेसियालाई ५–० गोलले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad