खेल


एन्फाको वरिष्ठ उपाध्यक्षमा दावाको उम्मेदवारी तत्काललाई स्थगित, अदालतले छलफलमा झिकायो

एन्फाको वरिष्ठ उपाध्यक्षमा दावाको उम्मेदवारी तत्काललाई स्थगित, अदालतले छलफलमा झिकायो

नेपालखबर
चैत ६, २०८२ शुक्रबार १७:९, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका दावा लामाको उम्मेदवारी तत्काललाई स्थगित हुने भएको छ।

उच्च अदालत पाटनले दुवै पक्षलाई छलफलमा झिकाउँदै त्यतिन्जेलसम्म लामाको उम्मेदवारी स्थगित गर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। 

न्यायाधीश तेजेन्द्र प्रसाद शर्मा सापकोटाको इजलासले अन्तरिम आदेश छलफलका लागि चैत १० गते दुवै पक्षलाई झिकाउने आदेश गरेको हो। 

लागूऔषध खैरो हेरोइन मुद्दामा उच्च अदालत पाटनबाटै २०६४ जेठ २० गते ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो।

उक्त फैसलाअनुसार दावा उम्मेदवार बन्न नपाउने भन्दै वरिष्ठ उपाध्यक्षकै अर्का उम्मेदवार दीपक खतिवडाले अदालतमा रिट दायर गरेका थिए। 

‘विपक्षी दावा लामालाई यस अदालतको मिति २०६४ जेठ २० गते भएको फैसलाले लागु औषध खैरो हेरोइन मुद्दामा ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना हुने ठहर गरी फैसला भएको निवेदन साथ पेश भएको फैसलाको प्रतिलिपिबाट देखिएको अवस्थामा अखिल नेपाल फुटबल संघको कार्यकारी वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार भएको देखिँदा तत्काल निजको उम्मेदवारी कायम रहने/नरहने सम्बन्धमा विपक्षीहरुलाई समेत राखी छलफल गरी निष्कर्षमा पुग्न उपयुक्त हुने देखिएकाले २०८२ चैत १० गते अन्तरिम आदेश छलफलका लागि पेसी तोकी उक्त दिन छलफल हुने जानकारी विपक्षी समेतलाई दिनू’, आदेशमा भनिएको छ, ‘सो अवधि सम्मका लागि विपक्षी दावा लामाको उम्मेदवारीलाई स्थगन हुने गरी अल्पकालीन आदेश जारी गरिदिएको छ। सोको जानकारी विपक्षीहरुलाई दिनू।’

इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि विपक्षीलाई भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad