बसिर अहमदको शतकमा विभागीय डर्वीमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
आइतबार भएको खेलमा आर्मीले पुलिस क्लबलाई २२ रनले हराएको हो। जितसँगै त्रिभुवन आर्मी क्लब अंक तालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानमा एपीएफ छ।
आर्मीले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको पुलिस क्लब ४५.३ ओभरमा २ सय २१ रन बनाउँदा अलआउट भयो।
पुलिस क्लबका लागि रासिद खानले सर्वाधिक ६० रन बनाए। शंकर रानाले ४६, कप्तन आरिफ शेखले ३८ र करण केसीले २३ रन थपे।
पुलिस क्लबलाई कम स्कोरमा रोक्न नरेन साउदले ३ विकेट लिए। आकाश चन्दले २ तथा कुशल मल्ल, साहब आलम, बसिर अहमद र पवन कार्कीले समान १ विकेट आफ्नो नाममा गरे।
त्यसपछि तल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मी ४८ ओभरमा ८ विकेटको क्षतिमा २ सय ४३ रनको योगफल तयार पारेको थियो।
आर्मीका लागि बसिर अहमदले शतक प्रहार गरे। उनले ८६ बलमा ८ चौका र २ छक्का प्रहार गरे। भिम सार्कीले ६२ रन थपे। नरेन साउद २१ रनमा अविजित रहे।
पुलिस क्लबका लागि श्रवन यादवले ३ विकेट लिए। सागर ढकाल र रासिद खानले समान २ विकेट लिए। ललित राजवंशीले एक विकेट लिए।
आजै भएको अर्को खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले हराएको थियो।
Shares

प्रतिक्रिया