काठमाडौं क्रिकेट एकेडेमीका ११ जना खेलाडीलाई हिमालयन ह्वाइट हाउस आईबी वल्र्ड स्कुलले छात्रवृत्ति प्रदान गरेको छ।
काठमाडौँ क्रिकेट एकेडेमीमा बिहीबार एक कार्यक्रम गर्दै हिमालयन ह्वाइट हाउससँग सम्झौता गरेको हो।
सम्झौता पत्रमा केसिएका संचालकद्वय मदन कार्की र कुन्दन खड्का तथा हिमालयन ह्वाइट हाउसका अध्यक्ष युवराज शर्माले हस्ताक्षर गरे। सम्झौता आगामी पाँच वर्षका लागि रहेको छ।
सम्झौता पत्रमा केसीएले प्रतिभाशाली तथा योग्य युवा क्रिकेटरहरू पहिचान, प्रशिक्षण र सिफारिस गर्नेछ भने हिमालयन व्हाइट हाउसले उनीहरूलाई छात्रवृत्ति प्रदान गर्ने उल्लेख छ।
सम्झौताअनुसार काठमाडौं क्रिकेट एकेडेमीले खेलाडीहरूको प्रगति, अनुशासन र प्रशिक्षणको नियमित अनुगमन गर्दै विद्यालयलाई जानकारी गराउनेछ। हिमालयन व्हाइट हाउसले एकेडेमीद्वारा सिफारिस गरिएका खेलाडीहरूलाई प्राथमिकता दिँदै छात्रवृत्ति प्रदान गर्ने, आवश्यक परे अतिरिक्त कक्षा तथा वैकल्पिक मूल्यांकनको व्यवस्था गर्ने र केसिएलाई आफ्नो आधिकारिक क्रिकेट साझेदारको रूपमा प्रवद्र्धन गर्ने भएको छ ।
कार्यक्रममा बोल्दै एकेडेमीका निर्देशक तथा प्रमुख प्रशिक्षक जगत टमाटाले खेलाडीका लागि शिक्षा अपरिहार्य रहेको बताए। हिमालयन व्हाइट हाउसका अध्यक्ष युवराज शर्माले यसलाई नयाँ सुरुवातको रूपमा लिँदै ग्रासरुटबाट क्रिकेट विकासमा जोड दिनुपर्ने बताए। एकेडेमीका संचालक मदन कार्कीले यो सहकार्यले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीहरुलाई ठूलो उत्प्रेरणा मिल्ने र उनीहरुको क्षमता अभिवृद्धिमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे।
Shares

प्रतिक्रिया