खेल


साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा आज भुटानसँग भिड्दै नेपाल

यसपटक केही कठिन छ नेपालको यात्रा, छैनन् साम्बा र सविता
साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा आज भुटानसँग भिड्दै नेपाल

नेपालखबर
जेठ ११, २०८३ सोमबार ९:५०, काठमाडौँ

साफ महिला च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन खेलमा आज (सोमबार) नेपालको राष्ट्रिय महिला फुटबल टोली भुटानसँग भिड्दै छ। 

भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरु स्टेडियममा हुने खेल आज अपराह्न पौने ५ बजे सुरु हुनेछ। 

साफ च्याम्पियनसिपमा नेपाल भुटानविरुद्ध हावी भइरहेको देश हो। यद्यपि घरेलु मैदानमा भएको अघिल्लो संस्करणमा नेपाली महिला फुटबल टोली भुटानसँग बराबरीमा रोकिएको थियो।

भुटानको महिला फुटबल टोलीले स्तरवृद्धि गरिरहँदा नेपालको अवस्था भने सुधार हुन सकेको छैन। तर महिला फुटबलमा भुटानले अहिलेसम्म नेपाललाई हराउन सकेको छैन। 

नेपाली टोली गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रनेछ। नियमित कप्तान सावित्रा भण्डारी साम्बा उपचारका लागि कतारमा रहेका कारण महिला टोलीको नेतृत्व एञ्जिलाले गर्ने भएकी हुन्।

साफ च्याम्पियनसिपमा स्थायी उपविजेताको छवि बनाएको नेपालको लक्ष्य उपाधि नै हो।

तर यसपटक पनि नेपाललाई उपाधि जित्न त्यति सजिलो छैन। किनकि यो संस्करणमा नेपालको भेट सेमिफाइनलमै साविक विजेता बंगलादेश र भारतमध्ये एक टोलीसँग हुने निश्चित देखिएको छ।

यसअघि सेमिफाइनलमा भारतलाई हराए पनि यसपटक नेपालको यात्रा केही कठिन देखिएको छ। अनुभवी र नियमित खेलाडी कप्तान साम्बासहित मिडफिल्डर सविता रानामगरको अभाव महसुस हुन सक्छ। सविता पनि घुँडामा चोटका कारण मैदान बाहिरै छिन्।

गीता राना, सबिना चौधरी र अनिता केसीले साफ खेल्ने टोलीमा पुनरागमन गर्दा सरस्वती हमाल र मनमाया दमाईंले अन्तिम टोलीमा स्थान बनाउन सकेनन्। 

अनिता लम्जेल र बिर्सना चौधरी भने डेब्यु गर्ने मौका पर्खिरहेका छन्। टोलीको प्रशिक्षकमा नवीन न्यौपाने छन्। 

नेपाल रहेको समूह एमा भुटान र श्रीलंका छन्। समूह बीमा आयोजक भारत, बंगलादेश र मालदिभ्स छन्।

यो प्रतियोगिताबाट समूहमा शीर्ष स्थान हासिल गर्ने दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

आजै हुने दोस्रो खेलमा घरेलु टोली भारतले मालदिभ्सविरुद्ध खेल्नेछ। 

समूह चरणको अन्तिम खेलमा नेपालले १७ गते श्रीलंकाविरुद्ध खेल्नेछ। सेमिफाइनल जेठ २० र उपाधि भिडन्त जेठ २३ गते हुनेछन्।

नेपालको अन्तिम टोली
एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, पूजा राना, गीता राना, विमला विक, हीरा भुजेल, प्रतीक्षा चौधरी, समीक्षा घिमिरे, निशा थोकर, सबिना चौधरी, रेनुका नगरकोटे, दीपा शाही, प्रीति राई, सरु लिम्बू, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी, रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मीना देउवा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad