ad ad

खेल


भलिबलमा अन्तर्राष्ट्रिय पदक दिलाउने कप्तान इम भन्छन्ः खेलाडी जोगाउन कठिन छ

भलिबलमा अन्तर्राष्ट्रिय पदक दिलाउने कप्तान इम भन्छन्ः खेलाडी जोगाउन कठिन छ

लक्ष्मी जि.सी
जेठ १५, २०७७ बिहिबार १:४९,

नेपालले अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ४ दशक बढी भएको छ। इतिहास लामो भए पनि भलिबलले अन्तर्राष्ट्रिय तहमा पदक जितेको धेरै भएको छैन। ३ वर्ष २ महिना मात्र भयो। नेपालको पुरुष भलिबल टोलीले २०७३ चैतमा एभिसी सेन्ट्रल जोन च्याम्पियनसीमा कास्य पदक जित्यो। त्यो नै नेपाली भलिबलको पहिलो अन्तर्राष्ट्रिय पदक हो।

यो सफलताले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिन एक हदसम्म दवाब बढाएको कतिपयको बुझाइ छ। नेपाली टोलीले त्यो बेला पदक जितेको चर्चा भलिबल वृत्तमा अझै सेलाएको छैन। नेपाली भलिबलले त्यतिबेला अन्तर्राष्ट्रिय पदक जित्दाका कप्तान हुन्, इम राना।

टोलीका सबैभन्दा अनुभवी खेलाडी उनी सेटर पनि हुन्। कोर्टभित्र रणनीति बनाउने, टोलीका अन्य साथीलाई कस्तो बल उठाइदिने भनेर तय गर्ने काम सेटरकै हो। खेललाई आफ्नो नियन्त्रणमा राख्ने जिम्मेवारी पनि सेटरकै हुन्छ। त्यसमाथि कप्तान पनि रहँदा इमलाई राम्रो प्रदर्शनको दवाब अझ बढी रहन्छ।

विभागीय टोली नेपाल पुलिस क्लबका कप्तान समेत कप्तान हुन्— इम। सामान्य अवस्थामा नियमित अभ्यास र प्रतियोगितामा व्यस्त रहने इमको दैनिकी यतिबेला बद्लिएको छ। त्यो रहरले होइन, कोरोना लकडाउनले हो। इम यतिबेला गृह जिल्ला कास्कीमा छन् तर भलिबलबाट टाढा होइन। भन्छन्, ‘बिहान खेतबारीको काम गर्छु, दिउँसो परिवाससँगै हुन्छु। साँझमा गाउँकै भाइहरुसँग भलिबल खेलेर दिन बिताउँछु।’

रुपा गाउँपालिका—६ (तत्कालीन रुपाकोट गाविस मोहरिया गाँउ) का इम भौगोलिक कारण पनि भलिबलमा लागेको स्मरण गर्छन्। ‘त्यो समयमा खेलाडी हुन्छु भनेर खेलेको हैन, गाँउको परिवेश अनुसार खेलेको हो’, उनी स्मरण गर्छन्, ‘दाईहरुले भलिबल खेलेको देखेर मलाई पनि खेल्न पाए हुन्थ्योजस्तो लाग्थ्यो। भलिबल खेलाडीले पाउने सम्मानले पनि म यता आकर्षित भएँ।’

तराई, पहाड, हिमाल सबैतिर खेलिने खेल हो, भलिबल। गाउँमा सानै उमेरदेखि भलिबल खेल्न थाले पनि नियमहरु पछि मात्र प्रस्ट भएको उनी सुनाउँन्। ‘२०६० सालमा पोखरा झरेर भलिबल खेल्न थालेँ। त्यसपछि भलिबलको माहोल नजिकबाट देख्न पाएँ। नियमहरु बुझ्ने अवसर पाएँ’, उनी भन्छन्। पोखरामा उनले करिब डेढ वर्षसम्म दृष्टि क्लबबाट खेलेका थिए।

सुरुमा ओपन स्पाइक खेल्ने इम नेपाल प्रहरीमा आबद्ध भएपछि आफ्नो खेल जीवनले गति लिएको ठान्छन्। उनी प्रहरी सेवामा प्रवेश गरेको १५ वर्ष पुगेको छ। भन्छन्, ‘पुलिसमा नआएको भए अहिले कुनै व्यवसाय वा विदेशमा काम गरिरहेको हुन्थेँ होला।’

उनको अन्तर्राष्ट्रिय खेल यात्राको सुरुवात समुद्र किनारमा बालुवामा खेलिने बीच भलिबलबाट भएको हो। बीच भलिबल खेलेको दुई वर्षपछि इम भलिबल राष्ट्रिय टोलीमा परे। बीच भलिबल प्रतियोगिता कम हुने नेपालमा यसको सम्भावना रहेको इमको बुझाई छ। ‘लगानी, ठाउँ र पदकको हिसाबमा नेपालमा यसको सम्भावना धेरै छ तर हामीले त्यता ध्यान दिन सकेका छैनौं’, उनी भन्छन्। नेपालमा समुद्र नभएकाले पोखराको फेवाताल तथा नदी किनारमा बलुवाको कोर्ट बनाएर यो खेल आक्कल झुक्कल मात्र खेलिने गरिएको छ।

पछिल्ला ५ वर्षदेखि इम राष्ट्रिय भलिबल टोलीको कप्तान छन्। एभिसी सेन्ट्रल जोनमा पदक जितेको समयलाई उनी जीवनकै उत्कृष्ट क्षण मान्छन्। ‘भलिबल संघ, खेलाडी र सिंगो भलिबल परिवारकै लागि त्यो ठूलो उपलब्धि थियो। हामी सबैले एकदमै मेहनत गर्यौं। परिणामस्वरुप पहिलो पटक अन्तर्राष्ट्रिय पदक जित्न सक्यौं’, उनी भन्छन्। 1emभलिबल राष्ट्रिय टोलीका कप्तान इम राना। तस्विर: प्रविन कोइराला

भलिबलकै कारण आफ्नो परिचय बनेको बताउने इमको बुझाइ छ, ‘विभागहरुकै कारण भलिबल अहिलेको अवस्था रहन सफल भएको हो।’ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका खेल टोली छन्। ती विभागीय टोली हुन्। राष्ट्रिय टोलीमा तीन विभागीय टोलीकै खेलाडीहरुको बाहुल्यता रहनुले पनि इमको भनाइलाई पुष्टि हुन्छ। नेपालमा भलिबल खेलेर मात्र बाँच्ने अवस्था अझै छैन। तर विभागहरु भलिबल खेलाडीलाई रोजगारी दिएका छन्।

विभागकै कारण खेलाडीले आर्थिक रुपमा आफूलाई सुरक्षित महसुस गरेको इम बताउँछन्। ‘बाहिर भलिबल खेलेर बाँच्ने अवस्था छैन’, इम भन्छन्, ‘नियमित प्रशिक्षण, भलिबलप्रतिको आफ्नो लगाव र आर्थिक रुपमा सुरुक्षा भएकै कारण धेरैको रोजाई विभाग हुने गरेको छ।’

एउटा राम्रो खेलाडी तयार हुन ४—५ वर्ष लाग्छ। त्यसका लागि विभागहरुले भलिबल लगायतका खेललाई भरथेग गरेको इम मान्छन्। राम्रो खेलाडी उत्पादनका लागि प्रशिक्षण र वातावरण अत्यन्त जरुरी पक्ष हुन्। त्यस्तो सुविधा विभागहरुसँग छ। भन्छन्, ‘आफ्नो खर्च गरेर खेलमा लागिरहन सम्भव छैन। विभागमा खेलका लागि उपुयक्त वातावरण छ। नियमित अभ्यास हुन्छ।’

समय बित्दै जाँदा खेलाडीको पारिवारिक जिम्मेवारी बढ्छ। कतिपय विभागीय खेलाडी पनि जागिर छाडेरै विदेश पलायन भएका उदाहरण छन्। खेलेर मात्र केही हुँदैन भन्ने स्थितिमा पुगेपछि खेलाडी पलायन हुने हुन्। कुनै बेला भलिबलमा स्थापित खेलाडी प्रेम भण्डारी, सञ्जय अर्याललयायत अन्य खेलाडी यसको उदाहरण हुन्।

विभाग नहुने हो भने अहिलेका अन्य खेलाडी पनि टिकाउन कठिन हुने इम सुनाउँछन्। राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीलाई केही सेवा सुविधा दिन सके नयाँ पुस्ता भलिबलमा आकर्षित हुने उनको विश्वास छ। ‘राष्ट्रिय खेलाडी भएपछि योसम्मको सेवा सुविधा हुन्छ भन्ने देखिनुपर्यो। त्यसले मात्र नयाँ खेलाडीलाई आउने वातावरण बन्छ’, इम भन्छन्, ‘विभाग बाहेक पनि राम्रा खेलाडी छन्। विभागमा नहुनेले पनि खेलेर बाँच्ने वातारण बने मात्र खेलाडीले विकल्प खोज्दैनन्। अहिलेकै अवस्थामा खेलाडीलाई जोगाइराख्न कठिन हुन्छ।’

भलिबल राष्ट्रिय खेल घोषणा भए पनि भौतिक पूर्वाधारको अवस्था निराशाजनक छ। अहिलेसम्म अलग्गै कभर्ड हल वा प्रशिक्षण हल नै छैन। अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदा त्यहाँका भव्य भौतिक संरचना देखेर नेपाली खेलाडी छक्क परेका कयौं उदाहरण छन्। खेलको विकासका लागि पनि ती पूर्वाधार जुरुरी हुने इम बताउँछन्। भन्छन्, ‘राष्ट्रिय टोलीले ट्रेनिङ गर्ने छुट्टै हल छैन। त्यसले गर्दा पनि खेलाडीलाई मानसिक दबाब पर्छ। सरकारले एउटा सुविधा सम्पन्न भवन बनाइदिएको खण्डमा भलिबलको विकासमा मद्दत पुग्नेछ।’

पछिल्लो समय पुरुषको भन्दा महिलाको प्रतियोगिता बढी हुनुलाई इम स्वभाविक मान्छन्। ‘पहिला पुरुषहरुको प्रतियोगिता हुँदा महिलाको भएन भन्ने गुनासो हुन्थ्यो’, उनी भन्छन्, ‘अहिले पुरुषको भएन भन्ने सुनिन्छ। दर्शकको रुचीका आधारमा आयोजकले खेल आयोजना गर्ने भएकाले यो स्वभाविक हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .