विश्वभर नै कोरोना भाइरस (कोभिड–१९)का कारण रोकिएको खेलकुद क्षेत्र विस्तारै चलायमान हुनथाले पनि नेपालमा भने अझै अन्योल कायमै छ।
सरकारले आवश्यक निर्णय नगर्दा विभिन्न खेलहरुको प्रशिक्षणबारे चिन्ता बढेको हो।
युरोपमा भने खेल प्रशिक्षणमात्र होइन, फुटबल लिगहरु नै सुरु भइसकेका छन्। क्रिकेटलगायतका केही खेलहरु सुरु हुने तरखरमा छन्। तर नेपालमा कोरोनाको संक्रमण देखिनथालेपछि रोकिएको खेल गतिविधि कहिले सुरु हुन्छ भन्ने अझै अन्योल कायमै छ। यद्यपि केही खेलको अनौपचारिक प्रशिक्षण भने आफ्नै हिसाबले सुरु भएको छ।
नेपालमा पनि सुरक्षित रुपमा प्रशिक्षण सुरु गराउन विभिन्न संघहरुले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई आग्रह गरेका छन्। यसमा आफू सकारात्मक देखिए पनि सरकारको आदेशविना निर्णय दिन नसक्ने राखेपले जनाएको छ। उसले यसका लागि सरकारलाई समेत आग्रह गरेको बताएको छ।
सुरक्षित रुपमा प्रशिक्षण सुरु गराउन राखेपले विभिन्न संघका पदाधिकारी र प्रशिक्षकसँग २ दिन लगाएर छलफल गरेको थियो। तर त्यो छलफल नतिजामुखी देखिएन।
सन् २०२१ मा हुने टोकियो ओलम्पिक र आगामी सेप्टेम्बरमा चीनमा हुने एसियन बिच गेममा सहभागी हुने खेलाडीहरुलाई प्रशिक्षण गराउनका लागि उनीहरुसँग छलफल गरेको राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले बताए।
‘अहिले सरकारले नै खेलको प्रशिक्षणलाई रोकेको छ। त्यसैले हामीले अनुमति दिन मिल्दैन तर खेलाडीहरुले आफैँले नै प्रशिक्षण सुरु गरेका छन्’, राष्ट्रिय टोली तयारी समितिका निर्देशक महेन्द्र राईले भने, ‘अहिले औपचारिक रुपमा नभए पनि केही खेलहरुले मौखिक सहमतिमा प्रशिक्षण सुरु गरेका छन्।’
ओलम्पिकमा सहभागी हुने केही खेलहरुको प्रशिक्षण सुरु गर्न नेपाल ओलम्पिक कमिटीले राखेपसमक्ष अनुमति मागे पनि स्वीकृत हुन बाँकी रहेको राखेपले बताएको छ। अहिले ब्याटमिन्टनलाई सदस्यसचिव रमेश कुमार सिलवालले सामाजिक दूरी राख्दै पीसीआर परीक्षण गरेर प्रशिक्षण गर्न मौखिक अनुमति दिएको राईले बताए।
लामो समय मैदानबाहिर रहेका खेलाडीहरु पनि खेलमा फर्किन हतार गरिरहेका छन्। ओलम्पिकमा सहभागी हुने खेलाडीहरुलाई सामाजिक दूरी कायम गरेर, पीसीआर परीक्षण गरेर र छुट्टै होटलमा राखेर प्रशिक्षण गराउनका लागि छलफल भएको थियो।
चीनमा हुने एसियन बिच गेममा सहभागी हुने खेलहरुको पनि टुंगो लाग्न बाँकी छ। ‘बिच गेममा १७–१८ वटा खेल हुने रहेछ तर नेपालबाट ८–९ वटा खेलको सम्भावना छ। बजेटको हिसाबले ६ देखि ७ वटा खेलमा मात्र सहभागी गराउनेबारे सोचेका छौँ’, निर्देशक राइले भने।
अहिले औपचारिक रुपमा नभए पनि ओलम्पिकमा सहभागी हुने कराते, बक्सिङलगायतका खेलहरुको प्रशिक्षण भइरहेको छ। ओलम्पिकमा जुडो, सुटिङ, पौडी, भारोत्तोलन, तेक्वान्दो, आर्चरीलगायतका खेलले भाग लिनेछन्।
ओलम्पिकमा सहभागी हुने अनु अधिकारी र नविन रसाइलीले भने प्रशिक्षण सुरु गरेको करातेका प्रशिक्षक दिपक श्रेष्ठले बताए। श्रेष्ठले भने, ‘औपचारिक रुपमा होइन, अनौपचारिक रुपमा हामीले प्रशिक्षण सुरु गरेका हौं।’
राष्ट्रिय खेलकुद परिषद् राखेपसँगको मौखिक सहमतिमा प्रशिक्षण सुरु गरेको श्रेष्ठले बताए।
त्यस्तै आगामी असोजमा हुने विश्वकप छनोटका खेलका लागि पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले राखेपसँग अनुमति मागेको छ। राखेपको अनुमति पाए एन्फाले यही महिनाबाट नै प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ।

प्रतिक्रिया