युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिका लागि प्रस्ताव आह्वान गरेको सोमबार ४ दिन पूरा भइसकेको छ।
यो बीचमा राखेपको जिम्मेवारी सम्हाल्न पुनः रमेश कुमार सिलवाल नै आउने चर्चा अहिले खेलकुद क्षेत्रमा छ। सिलवाल आफैँले पनि सदस्यसचिवमा आवेदन दिने विषयमा निर्णय लिइसकेका छैनन। तर आफू नै सदस्यसचिवमा आए यस क्षेत्रका थाती रहेका कामलाई पूर्णता दिने सिलवाल बताउँछन्।
चार वर्षको पदावधि तोकेर राखेपमा आए पनि १ वर्षमा नै पदमुक्त भएपछि उनले नयाँ ऐनमा केही असहमति राख्दै आएका छन्। उनी भन्छन्, ‘पदमा आए पनि नआए पनि मेरो यो बोली फेरिनेछैन।’

अहिलेको स्थिति हेर्ने हो भने सिलवाल नै पुनः राखेपमा फर्किने बलियो सम्भावना छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निकटता त छँदै छ, योग्यताको हिसाबले पनि सिलवालको राखेप पुनरागमन यथार्थ देखिन्छ। त्यसैले उनी फर्किनेमा धेरैले विश्वास गरेका छन्।
सदस्यसचिव नियुक्त भएको झण्डै ५ महिनामा नै १३औँ दक्षिण एसियाली खेलकुद (साग)को सफल आयोजना गरेकोले पनि उनीप्रति नेपाली खेलकुद क्षेत्रले आवश्यकता महशुस गरेको छ। त्यसमाथि उनले प्रधानमन्त्री ओलीको विश्वास जितेका छन्।
गत असार १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुद विकास ऐन २०७७ प्रमाणीकरण गरेसँगै सिलवालसँगै राखेपका पदाधिकारी र सदस्य पदमुक्त भएका थिए।
नयाँ ऐनले पुरानो नियुक्तिलाई निरन्तरता दिन नरोक्ने सिलवालले दाबी गर्दै आएका छन्। तर असार २२ गते मन्त्रालयले खेलकुद महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई कार्यवाहक सदस्यसचिव नियुक्त गरेको छ।

उनी आफूले अहिलेसम्म गरेको काममा सन्तुष्ट रहेको बताउँछन्। नेपालखबरसँगको भिडियो वार्तामा उनी भन्छन्, ‘सदस्यसचिवको हिसाबले हनिमुन पिरियड समेत मनाउन पाइनँ तर छोटो समय भए पनि द्रुतगतिमा काम गर्न सफल भएँ।’
सिलवालसँगको पूरा कुराकानी भिडियोमा :

प्रतिक्रिया