खेल


रंगशालाका लागि एक सातामा डेढ करोड संकलन

रंगशालाका लागि एक सातामा डेढ करोड संकलन

नेपालखबर
साउन १३, २०७६ सोमबार १४:३३,

रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि जिल्लामा सहयोग रकम संकलन हुने क्रम बढेको छ। गत जेठ १५ गते स्थानीयवासीले बाटोको विवादलाई लिएर अस्थायी वार भत्काएपछि रोकिएको निर्माणको काम शुरु भएसँगै जिल्लामा रकम संकलन हुन थालेको हो।

यही साउन ८ गतेदेखि निर्माणको काम शुरु भएपछि जिल्लामा अहिलेसम्म रु एक करोड ४७ लाख ८८ हजार ५५५ संकलन भइसकेको धुर्मश–सुन्तली फाउण्डेसनका अध्यक्ष सीतारम कट्टेलले जानकारी दिए। उनका अनुसार पूर्वेली समाज चितवनले आयोजना गरेको कार्यक्रममा विभिन्न व्यक्तिबाट रु २४ लाख, उद्योग वाणिज्य संघ चितवनबाट रु ५५ लाख ५५ हजार ५५५, भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिबाट रु ५० लाख, उद्योग संघबाट रु १२ लाख ५० हजार, अक्सफोर्ड कलेज गैँडाकोटबाट रु दुई लाख ३३ हजार र क्रिकेट संघ चितवनबाट रु दुई लाख ३३ हजार संकलन भएको हो।

रंगशाला निर्माणको प्रारम्भिक चरणमा बोलकबोल रकम रु छ करोड ५० लाख थियो भने त्यसपछि विभिन्न व्यक्ति र कार्यक्रमबाट रु एक करोड ३१ लाख संकलन भएको थियो। रंगशाला निर्माणका लागि जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको संयोजकत्वमा सहयोग समिति गठन भएको छ। संयोजक डल्लाकोटीका अनुसार जिल्लाका छ स्थानीय तहमा सहयोग समिति गठन गरिसकिएको छ।

सबैले आ–आफ्नो ठाउँबाट काम गर्न थालेका छन्। भरतपुर महानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा सहयोग समिति गठन भएको छ भने प्रमुखको संयोजकत्वमा निर्देशन समिति गठन भएको छ । प्रमुख रेनु दाहालका अनुसार बिचमा रोकिएको काम शुरु भएसँगै जिल्लामा रंगशाला निर्माणका लागि लहर शुरु भएको छ। विभिन्न संघ संस्था र व्यक्तिले सहयोगका लागि ईच्छा व्यक्त गर्न थालेको उनले जानकारी दिए।

फाउण्डेसनका अध्यक्ष कट्टेलकाअनुसार अहिले परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन निर्माणको काम भइरहेको छ भने निर्माण स्थलमा बार लगाउने, मैदानका लागि आवश्यक दुबो गोडमेल गर्ने, सुरक्षाकर्मीको निवास निर्माण लगायतका काम भइरहेका छन्। जिल्लावासीले अपनत्व लिएसँगै देश र विदेशमा रंगशाला निर्माणका लागि माहोल बन्दै गएको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad