खेल


क्रिकेटर पृथुको कमब्याक, भन्छन्- आफूलाई प्रमाणित गर्न इख राखेर खेल्दैछु

क्रिकेटर पृथुको कमब्याक, भन्छन्- आफूलाई प्रमाणित गर्न इख राखेर खेल्दैछु

लक्ष्मी जि.सी
माघ ९, २०७७ शुक्रबार १४:२२,

टिम इभेन्टमा मुख्यतः उमेर समूहमै गरिने प्रदर्शनका आधारमा खेलाडीको भविष्यबारे आकलन गर्ने गरिन्छ।

नेपालमा पनि फुटबल र क्रिकेट खेलाडीले उमेर समूहमा गरेको प्रदर्शनलाई महत्वका साथ हेरिन्छ।

पूर्वकप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मीलगायत राष्ट्रिय क्रिकेट टोलीका अहिलेका धेरै स्थापित खेलाडी र अझ पहिलेका खेलाडीहरूले पनि आफूलाई उमेर समूहदेखि नै स्थापित गर्दै आएका हुन्।

उनीहरुले उमेर समूहपछि पनि आफूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नसकेका छन्। यसरी उमेर समूहमा राम्रो गरेका खेलाडीमध्ये सबैको कथा समान छैन।

पारस, शरद वा उनकै पुस्ता जस्तै क्रिकेटमा लामो यात्रा तय गर्ने अनुमान गरिएका यी युवा खेलाडीको कथा त्यस्तो हुन सकेन।

उनको खेल जीवन निकै उतारचढावपूर्ण रह्यो। मुख्यतः चोटले उनलाई मैदानमा नियमित रुपमा खेल्ने अनुमति नै दिएन।

उनी हुन् अन्डर–१९ टोलीको कप्तानी गरिसकेका पृथु बास्कोटा।

उमेर समूहमा गरेको प्रदर्शनबाट नेपाली क्रिकेटमा परिचित बनेका पुथुलाई धेरैले राष्ट्रिय टोलीको नियमित सदस्यका रुपमा हेरेका थिए। तर, परिस्थिति त्यस्तो रहेन।

नयाँ पुस्ताका खेलाडीहरुको चुनौतीलाई परास्त गर्दै उनले राष्ट्रिय टोलीमा पुनरागमन गर्लान्? अहिले उनीबारे यस्ता जिज्ञासा सुरु भएका छन्।

नेपाली क्रिकेटमा जुनियरदेखि सिनियरसम्मका खेलाडीमा बलिङ र फिल्डिङभन्दा ब्याटिङमा समस्या रहेको मानिन्छ। त्यहि ब्याटिङ लाइनलाई बलियो बनाउने सम्भावना बोकेका खेलाडीका रुपमा पृथुलाई हेरिन्थ्यो।

तर चोट र अरु परिस्थितिले उनलाई साथ दिएन। उनी लामो समय मैदानबाहिरै रहनु पर्यो। खेलिरहेकै बेला पनि उनलाई कमब्याक गर्न कठिन भइरह्यो।

कोभिड–१९ का कारण झन्डै एक वर्ष क्रिकेटका घरेलु प्रतियोगिताहरू हुन सकेनन्। पहिलो प्रतियोगिताका रुपमा माघ २ गतेबाट प्रधानमन्त्री कप राष्ट्रिय एक–दिवसीय क्रिकेट प्रतियोगिता अहिले काठमाडौंमा जारी छ।

कुनै समय पारस, ज्ञानेन्द्रसहित सशस्त्र प्रहरीको एपीएफ टोलीमा रहेका पुथु यसपटक बागमती प्रदेशको टोलीबाट खेलिरहेका छन्।

Cricket BagmatiProvince

३ खेलमा शतप्रतिशत नतिजा निकाल्दै बागमती अंक तालिकाको शीर्ष स्थानमा छ। समुह–बी मा अपराजित रहेको बागमती तालिकामा ६ अंक जोड्दै सेमिफाइनल नजिक पुगेको छ। यो प्रदेशको जितमा पृथुको मुख्य भूमिका रह्यो। तीन वटै खेलमा पृथुको ब्याटिङ राम्रो चल्दा शुभेच्छुकबीच उनको सुखद् पूनरागमन हुनसक्छ कि भन्ने अपेक्षा बढेको छ।

अहिले नै उनले पुनरागमन गरिसके भन्नु भने हतारो हुनसक्छ।

प्रधानमन्त्री कपका आधा जस्तो खेल सकिँदा २ खेलाडीले मात्र शतक रन जोड्न सफल भएका छन्। केही खेलाडी शतकको नजिक पुगेर पनि रोकिएका छन्। पृथु तिनैमध्ये एक हुन्। गत आइतबार बागमती प्रदेशले विभागीय टोली पुलिसलाई हरायो।

पुलिसविरुद्ध अर्धशतक बनाउनबाट पृथु २ रनले चुके, तर उनले टोलीको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे। कठिन परिस्थितिबाट टोलीलाई उनले जिततर्फ डोर्‍याएका थिए। पुलिसलाई ७ विकेटले हराउँदै बागमतीले सो खेल आफ्नो पक्षमा पार्‍यो।

अर्को खेलमा आफ्नो ब्याटिङमा थप सुधार गर्दै पृथु शतक नजिक पुगेका थिए। गत सोमबार सुदूरपश्चिम प्रदेशविरुद्ध उनले ८४ रनको योगदान गरे। त्यो खेल बागमतीले १ सय ८० रनको फराकिलो अन्तरले जितेको थियो। यी दुई खेलमा बागमतीका लागि सर्वाधिक रन पृथुले नै जोडेका थिए।

शुक्रबार भएको खेलमा बागमतीले प्रदेश २ लाई ६ विकेटले पराजित गर्यो। लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल नजिक पुगेको खेलमा उनी ५३ रनमा नटआउट रहे।

Prithu Baskota Bagmati 1

पृथुसँगै धेरै खेलाडीका लागि राष्ट्रिय टोली पूनरागमन गर्न पीएम कपमा उनीहरूले गरेको प्रदर्शनको अर्थ पक्कै रहनेछ।

पृथु अहिले नै हतारिएको देखिँदैनन्। प्राप्त जिम्मेवारीलाई न्याय गर्नमै मुख्यतः आफू केन्द्रित रहेको उनको भनाइ छ।

‘अहिले मेरो ध्यान भनेको लामो ब्याटिङ गर्ने हो,’ राष्ट्रिय टोलीमा पूनरागमन गर्न सहज नरहेकोतर्फ संकेत गर्दै पृथुले भने, ‘पहिले र अहिलेको अवस्थामा फरक छ। त्यसैले म आफूलाई नै प्रमाणित गर्न चाहन्छु।’

कीर्तिपुर मैदानमा प्रशिक्षणका क्रममा उनको दाहिने घुँडामा चोट लागेको थियो। तत्काल एमआरआई गरी हेर्दा उनको लिगामेन्ट च्यातिएको देखियो।

पृथुकै कप्तानीमा नेपालले सन् २०१२ मा अस्ट्रेलियामा आइसिसी यु–१९ विश्वकपमा खेलेको थियो।

त्यहि समयदेखि नै उनी नेपालको एकदिवसीय टोलीमा पनि समावेश भएका हुन्।

३१ जुलाई २०१५ मा आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा स्कटल्याण्डविरुद्ध खेलिएको खेल नै उनले राष्ट्रिय टोलीबाट खेलेको अन्तिम खेल हो।

राष्ट्रिय टोलीमा पुनरागमनको सन्दर्भ कोट्याउँदा उनले परिस्थितिमा धेरै परिवर्तन भएको बताए।

राष्ट्रिय टोलीका लागि विगतमा भन्दा अहिले झन् बढी प्रतिस्पर्धा रहेको पृथुको बुझाइ छ।

‘एकअर्कालाई पुस गर्दै जाने हो। जे जति गर्न सकिन्छ अगाडि बढ्ने हो,’ पृथु भन्छन्, ‘नेपाली क्रिकेटलाई राम्रो गर्ने हो। अहिले त नेपाल एकदिवसीय मान्यता पाएको देश पनि भैसक्यो, त्यसैले स्वभाविक रुपमा टोलीमा पर्न प्रतिस्पर्धा पनि धेरै छ।’

पृथुले झन्डै एकदशक एपीएफमा बिताए। अहिले पारस, ज्ञानेन्द्रले जस्तै उनले पनि प्रदेशको टोली रोजे।

‘लामो समय विभागबाट खेलेँ। अब प्रदेशको टोलीलाई पनि बलियो बनाउनुपर्छ भनेर आएको हुँ’, उनले भने।

चोटका कारण लामो समय मैदान बाहिर रहेका पृथु आफूलाई लयमा फर्काउन मेहनत गरिरहेका छन्।

पृथुले खेलेका तीन खेलको प्रदर्शनलाई आधार मान्ने हो भने आफूले गरेको मेहनत आफ्नो ब्याटिङमा बदल्न उनी सफल भएका छन्। तर राष्ट्रिय टोलीमा पूनरागमनको योजनाबारे भने उनी अहिले नै धेरै खुल्न चाहँदैनन् सायद।

‘कमब्याकको कुरा भन्दा अहिले चाहिँ वान गेम एट अ टाइम भनेर लिएको छु। मैले इख राखेर खेलिरहेको छु,’ पृथुले नेपालखबरसँग मन खोले, ‘अरुलाई सट गर्नुभन्दा पनि आफूलाई प्रमाणित गर्न खोजिरहेको छु।’

शारीरिक चोटको पीडा र त्यसले खेलाडीको जीवनमा पार्ने मानसिक असरलाई राम्ररी अनुभूति गरेका पृथु फिटनेसप्रति निकै सचेत देखिन्छन्।

‘क्रिकेट खेलाडीले फिटनेसलगायत सबै क्षेत्रमा ध्यान दिन जरुरी छ,’ उनले अन्त्यमा भने, ‘अहिले मैले धेरै परको सोचेको छैन। आउने खेलहरुमै बढी केन्द्रित छु।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .