एक समय चौधरी ग्रुप (सीजी) को प्रमुख उत्पादन वाइवाई र नेपाली क्रिकेट पर्यायवाचीजस्तै थिए। नेपाल क्रिकेट संघ (क्यान) निलम्बन हुनु अघिसम्म हरेक उमेर समूहदेखि राष्ट्रिय प्रतियोगितासम्म मुख्य प्रायोजकमा वाइवाई जोडिन्थ्यो। खेलाडीको जर्सी, होर्डिङ बोर्ड, ब्यानर जताजतै वाइवाईकै लोगो।
चार वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले क्यानलाई निलम्बन गर्याे। योसँगै आधिकारिक घरेलु क्रिकेट प्रतियोगिता ठप्प भए। अनि क्रिकेटसँग चौधरी घरानाको सम्बन्धमा पनि ‘ग्याप’ आयो।
तीन वर्षअघि भर्खर निर्वाचित भएर आएका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले यही ‘ग्याप’को मौका छोप्ने निधो गरे र नेपाल सुपर लिगको प्रस्ताव लिएर चौधरी ग्रुपका कार्यकारी निर्देशक निर्वाण चौधरीकहाँ गए।
‘म एन्फामा निर्वाचित भएदेखि नै फुटबललाई व्यावसायिक बनाउन उद्योगी, व्यवसायीलाई भित्र्याउनुपर्छ भनेर लागिपरेको थिएँ,’ एन्फा अध्यक्ष शेर्पा भन्छन्, ‘निर्वाणजीलाई मैले नजिकबाट चिनेको थिइनँ, तर उहाँहरूले क्रिकेटमा धेरै लगानी गरेको थाहा थियो। त्यसबेला ग्याप भएको थियो। त्यही ग्याप पूरा गर्न म उहाँहरूकहाँ फुटबलमा लगानीको प्रस्ताव लिएर गएँ।’
चौधरीले आफ्नो पहिलो म्यासेजमै रिप्लाई दिएको शेर्पा बताउँछन्। पहिलो भेटपछि नेपाली फुटबलमा लगानी गर्न चौधरी ग्रुप तयार भएको थियो।
एन्फा र चौधरी ग्रुपबीच नेपालको पहिलो फ्रेन्चाइज लिग फुटबल ‘नेपाल सुपर लिग’ आयोजना गर्ने सम्झौता भएको थियो। त्यसबाहेक युवा खेलाडीको विकासका लागि विद्यालयस्तरीय फुटबल सञ्चालन गर्ने सम्झौता पनि भयो।
एन्फा अध्यक्ष शेर्पा र चौधरीले सम्झौतापत्रमा हस्ताक्षर गरे। नेपाल सुपर लिग आयोजनाका लागि चौधरी ग्रुपले आफ्नो स्वामित्वमा नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट संस्था खडा गर्याे। यसको अध्यक्ष अश्वरेता कार्की चौधरी छन्। अश्वरेता निर्वाण चौधरीकी श्रीमती हुन्।
सम्झौताबमोजिम युवा खेलाडीको विकासका लागि चौधरी ग्रुपसँगको सहकार्यमा एन्फाले क्विन्स कप इन्टरस्कुल प्रतियोगिताको पहिलो संस्करण सम्पन्न गरिसकेको छ। जहाँ २३ वटा स्कुलले प्रतिस्पर्धा गरेका थिए। दोस्रो संस्करणमा ३ हजार स्कुलबीच प्रतिस्पर्धा गराउने लक्ष्य रहे पनि कोरोना महामारीका कारण योजना रोकिएको शेर्पा सुनाउँछन्।
त्यसबेला सम्झौता भएको अर्को महत्वाकांक्षी कार्यक्रम थियो-नेपाल सुपर लिग। तर आयोजकको दाबीअनुसार प्राविधिक र कोरोनाका कारण तत्काल लिग सञ्चालन गर्न सम्भव भएन। कोरोना मत्थर भएपछि पुनः चौधरी ग्रुपले लिगलाई गति दिएको हो।
आगामी वैशाख ११ गतेदेखि नेपालकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग सञ्चालन हुने निश्चित भइसकेको छ। त्यसका लागि सातै प्रदेशका टोली घोषणा गरिसकिएको छ। गत शुक्रबार खेलाडीको अक्सनसमेत भइसकेको छ। सातै टोलीले अक्सनमार्फत मोल तोकेर १४ खेलाडी अनुबन्ध गरिसकेका छन्।
आयोजक नेपाल स्पोर्ट्स म्यानजमेन्टकी अध्यक्ष अश्वेरिताले नेपाल सुपर लिगले नेपाली फुटबलको नयाँ अध्याय कोर्ने विश्वास व्यक्त गरिन्।
‘लिगले फुटबलप्रेमीलाई भरपुर मनोरञ्जन दिनेछ। यसलाई प्रतिस्पर्धात्मक, व्यावसायिक र अनुशासित बनाउँदै लग्नेछौं,’ उनले भनिन्, ‘फुटबलसँगै क्रिकेट, भलिबल, बास्केटबल, र्याकेट बल पनि लगानी गर्ने हाम्रो उद्देश्य छ। खेलकुदबाट युवाहरूको दक्षता अभिवृद्धि गर्ने अभिभारा बोकेर हामी आएका हौं।’
चितवनमा चन्द्र ढकाल
चन्द्र ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष हुन्। आईएमई ग्रुपका अध्यक्षसमेत रहेका ढकालको समूहले नेपाल सुपर लिगमा एफसी चितवन टोली खरिद गरेको छ। चन्द्रागिरि हिल्स, डिस होम, ग्लोबल आईएमई बैंक, आईएमई रेमिटेन्सलगायत संस्था हाँकिरहेको आईएमई समूहले फुटबलमा लगानी गर्न ‘गेमअन प्रालि’ संस्था खडा गरेको छ।
संस्था हाँक्ने जिम्मेवारी चन्द्रले आफ्नै छोरा सचिनलाई दिएका छन्। गेमअनका प्रबन्ध निर्देशक सचिन स्वयम् पनि फुटबलप्रेमी हुन्। इङ्ग्लिस क्लब म्यानचेस्टरका युनाइटेडका फ्यान सचिनले एक दिन विश्वकपमा पुग्ने सपनासहित खेलकुदमा लगानी गर्ने सोच बनाएको बताए।
‘विश्वकप हुँदा अरूको देशलाई आफ्नो देश मानेर हेरिन्छ, हुटिङ गरिन्छ,’ सचिन भन्छन्, ‘सबै नेपाली हाम्रो देश पनि विश्वकपमा खोलोस् भन्ने चाहन्छन्। त्यसका लागि समय लाग्ला। त्यो सपना पूरा गर्न लगानी बढाउनुपर्छ भन्ने सोचले हामी फुटबलमा आएका हौं।’
सचिनले नेपालमा फुटबल खेला धेरैले मन पराउने भए पनि पूर्वाधार छैन भन्ने गुनासो आउने गरेकाले त्यो अभाव चिर्न फुटबलमा लगानी गर्ने निर्णय गरिएको बताए।
एक साताअघि क्लबको लोगो र नाम सार्वजनिक कार्यक्रममा भने चन्द्र ढकाल आफैं उपस्थित भएका थिए।
चितवन एफसीले मार्की खेलाडी, अक्सनबाट खेलाडी छनोट र प्रशिक्षक अनुबन्धमा २० लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ। अब उसले महँगो मूल्यमा विदेशी खेलाडी भित्र्याउने योजना बनाएको छ।
काठमाडौंमा एमएडब्ल्यू ग्रुप
यामाहा मोरङ अटो एमएडब्ल्यू ग्रुपको भगिनी संस्था हो। जससँग यामाहासँगै जिप, स्कोडा, जेसीबी, इस्कोर्टलगायत ब्रान्ड आबद्ध छन्। नेपाल उद्योग परिसंघ (सिएनआई) का वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल एमएडब्ल्यूका प्रबन्ध निर्देशक हुन्।
यसै संस्थाअन्तर्गत यामाहा मोरङ अटोका सीईओ हुन्– चिरञ्जीवी शाह। उनकै नेतृत्वमा यामाहा मोरङको टोली ‘काठमाडौं रेजर्स एफसी’ नेपाल सुपर लिगमा उत्रिने भएको छ।
‘व्यावसायिक टिमले आयोजना गर्न लागेको यो लिगको हिस्सा हुन पाउँदा हामी खुसी छौं,’ शाह भन्छन्, ‘फुटबललाई व्यवसायिक बनाउने उद्देश्यका साथ हामी जोडिएका छौं। त्यसका लागि कुनै कसुर बाँकी राख्नेछैनौं।’
काठमाडौं रेजर्सले पनि अक्सनबाट खेलाडी खरिदका लागि साढे १० लाख तथा मार्की र प्रशिक्षक खेलाडीका लागि गरी २० लाख हाराहारी खर्च गरिसकेको छ। उसले विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ।
काठमाडौं रेजर्सले नेतृत्वकर्ता टिमसमेत व्यवसायिक बनाएको छ। काठमाडौंले राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्ति गरेको छ। यस्तै टोलीलाई थप व्यवस्थित बनाउन ए डिभिजन लिग कमिटिका निर्देशक तथा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मालाई प्रबन्ध निर्देशक तोकेको छ।
ललितपुरसँग भाटभटेनी
सन् १९८४ देखि नेपालीको सपिङ व्यवहारमा परिवर्तन थालेको भाटभटेनी सुपर मार्केटका देशभरि १८ वटा आउटलेट छन्। यसका अध्यक्ष मीनबहादुर गुरुङले छोरी कामना गुरुङलाई अध्यक्ष बनाउँदै ललितपुर सिटी एफसी फुटबल क्लब खरिद गरेका छन्।
मार्की खेलाडीलाई सम्भवतः सबैभन्दा बढी पारिश्रमिक दिने टोली ललितपुर नै हो। आफ्ना मार्की खेलाडी अञ्जन विष्टलाई ललितपुले साढे ५ लाखमा यस सिजनका लागि अनुबन्ध गरेको छ। अन्य टोलीले भने मार्की खेलाडीलाई दिएको पारिश्रमिक खुलाएका छैनन्।
यस्तै अक्सनमा पनि अरू टोलीभन्दा सर्वाधिक खर्च गर्नेमध्ये एक ललितपुर नै हो। सोमबार मात्रै उसले टोली प्रशिक्षकमा प्रदीप हुमागाईंलाई नियुक्ति गरेको छ भने आफ्नो जर्सीसमेत सार्वजनिक गरेको छ।
‘लिगप्रति हामी एकदमै उत्साहित छौं। प्रदर्शनमा हामी कुनै कसुर बाँकी राख्नेछैनौं,’ गुरुङले भनिन्, ‘हाम्रो लगानीको प्रतिफलस्वरूप नेपाली फुटबल माथिल्लो स्तरमा पुग्ने विश्वास लिएका छौं।’
पोखरामा लक्ष्मी ग्रुपको लगानी
हुन्डाई अटो मोबाइल्स, सिद्धि लक्ष्मी स्टिल, सुजल डेरी, समृद्धि स्टिल, सुजल फुड्स, इसुजुलगायत व्यापार नेपालमा लक्ष्मी ग्रुपले गरिरहेको छ। जसका अध्यक्ष गणेशबहादुर श्रेष्ठ हुन्। उनका छोरा निराकर श्रेष्ठ ग्रुपका कार्यकारी निर्देशक हुन्। निराकरकै नेतृत्वमा पोखरा थन्डर्स टोलीले नेपाल सुपर लिग खेल्ने तयारी गरेको छ।
निराकरले आफूहरूको व्यवसाय पनि पोखराबाट उदाएकाले यसको प्रतिनिधित्व गर्न पाउँदा खुसी व्यक्त गरे।
‘लक्ष्मी ग्रुप पोखराबाटै उदाएको हो र पोखरालाई खेलुकदको सहरका रूपमा चिनाउन हामी पोखरा सिटी एफसी लिएर आएका छौं,’ निराकरले भने, ‘लक्ष्मी ग्रुपका विभिन्न ब्रान्डले विगतमा पनि खेलकुदमा लगानी गरिरहेको छन्। त्यसैलाई हामीले निरन्तरता दिएका हौं।’
लक्ष्मी ग्रुपले विगतमा ए डिभिजन लिग तथा पोखरामा सफल पोखरा कप फुटबल प्रतियोगता प्रायोजन गरिसकेकोे छ।
खेललाई उद्योग बनाउने प्रयास
माथिका टोलीबाहेक विराटनगर सिटी एफसीमा विसिक प्रालिको लगानी छ। लगानीकर्ता अनुप राजन भट्राई तराईमा फुटबल अत्यधिक मनपराइने खेल भएकाले आफूहरूले त्यस भेगको प्रतिनिधित्व गरेको बताउँछन।
त्यसबाहेक बुटवल लुम्बिनी एफसीलाई इभेन्ट कोड प्रालिले संयोजन गरेको छ। टोलीका अध्यक्ष रामप्रसाद तिमिल्सिनाले धेरैवटा वित्तीय, इन्सुरेन्स क्षेत्रको प्रतिनिधित्व गरेर क्लब खडा गरेको बताए। उनले बुटवलमा फुटबलको क्रेज अत्यधिक रहेकाले त्यस क्षेत्रका खेलप्रेमीको साथ पाउने विश्वास व्यक्त गरे।
धनगढी एफसीका अध्यक्ष हुन्– सुवास शाही। एक दसक क्रिकेट व्यवस्थापनपश्चात् उनले फुटबलमा हात हालेका हुन्। नेपालमा फ्रेन्चाइज क्रिकेट सुरुवातकर्ता उनै हुन्। खेललाई उद्योगका रूपमा सञ्चालन गर्न आफूले टोलीमा लगानी गरेको उनले बताए।
‘खेलकुदलाई उद्योगका रूपमा विकास गर्न जरुरी छ। त्यसका लागि व्यावसायिक घराना नै अघि आउन जरुरी छ,’ शाही भन्छन्, ‘अहिले जुन सुरुवात भएको छ, यसले नेपाली फुटबललाई अर्को चरणमा लैजानेछ।’
Shares
प्रतिक्रिया