राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनशिप जितेर देखाउने बताएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ प्रशिक्षकलाई सार्वजनिक गर्न आयोजित कार्यक्रममा अब्दुल्लाहले उक्त कुरा बताएका हुन्।
‘साफ च्याम्पियनशिप जित्नको लागि फिफा र्यांकिङमा धेरै टाढा छैनौँ’, कार्यक्रममा उनले भने, ‘हामी सबै एउटै लेभल (स्तर)का भएकोले यो च्याम्पियनशिप जित्न धेरै गाह्रो हुनेछैन।’

उनले नेपालको १९ वर्षमुनि र २३ वर्षमुनिको राष्ट्रिय टोलीलाई राम्रोसँग आफूले हेरेको समेत बताए।
कतार फुटबल संघसँगको सहमतिअनुसार एन्फाले अब्दुल्लाहलाई १ वर्षको लागि नेपाली प्रशिक्षक नियुक्त गरेको हो।
वैशाखमा हुने सुपरलिगपछि खेलाडीहरुलाई क्याम्पमा राख्ने एन्फाले जनाएको छ। योसँगै कुवेती प्रशिक्षकले राष्ट्रिय टोलीलाई फिफा र एएफसीका छनोट खेलमा तयार गर्नेछन्।
अब्दुल्लाहसँग कुवेत र साउदी अरेबियाका विभिन्न क्लबमा गरेको प्रशिक्षण अनुभव छ। उनले यसअघि किर्गिजस्तानको १६ वर्षमुनिको फुटबल टोलीको प्रशिक्षकका रुपमा पनि काम गरेका थिए।

प्रतिक्रिया