नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्।
आइतबार बिहान वरिष्ठ नेता पौडेल अध्यक्ष ठाकुरलाई उनकै निवास हात्तिवनमा पुगेर भेटवार्ता गरेका हुन्।
पौडेल र ठकुरबीच समसामयिक राजनीति र नयाँ सत्ता समीकरण विषयमा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए। उनीह्रुबीच करिव एक घण्टा छलफल भएको उनले बताए।
छलफलमा पौडेलले ठाकुरसँग कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनृनुपर्ने भन्दै त्यसका लागि तीनै दलका शीर्ष नेता बसेर टुंगोमा पुग्न प्रस्ताव गरेका थिए। उनले तीन दलका बीचमा केही असहमति भए छलफलबाटै हल गर्न प्रस्ताव गरे।
‘तपाईं, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बसेर एउटा टुंगोमा पुग्नुहोस्’, वरिष्ठ नेता पौडेलले अध्यक्ष ठाकुरसँग राखेको प्रस्ताव उद्धृत गर्दै अधिकारीले नेपालखबरसँग भने।
पौडेलको प्रस्तावमा अध्यक्ष ठाकुरले आफू सकारात्मक भएको जवाफ दिएको अधिकारीले बताए। अध्यक्ष ठाकुरले छलफलमा कांग्रेसको निर्णय र माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएकोबारे जिज्ञासा समेत राखेको बताइएको छ।
पौडेलले कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको र त्यसमा माओवादी केन्द्र र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सकारात्मक रहेको बताउँदै जसपासँग पनि नमिलेका विषय हल गर्न तयार रहेको बताएका थिए।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो।
नयाँ सरकार गठनका लागि जसपालाई मनाउने जिम्मा पौडेलले लिएका र त्यसका लागि उनले जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग यसअघि दुईपटक अनौपचारिक रुपमा छलफल गरिसकेको पौडेल निकट एक नेताले बताए।
‘उहाँ (पौडेल)ले यसअघि जसपाका वरिष्ठ नेता महतोसँग दुईपटक छलफल गरिसक्नु भएको छ’, ती नेताले नेपालखबरसँग भने।
जसपा अध्यक्ष ठाकुर सत्ता गठबन्धनमा कांग्रेस, माओवादीभन्दा केपी शर्मा ओलीसँगै सहकार्य गर्ने पक्षमा छन्। पछिल्लोसमय ओलीसँग निरन्तर छलफलमा रहे पनि पार्टीभित्रको विवादका कारण सरकारमा गइहाल्ने औपचारिक निर्णय भने गरेका छैनन्।
कांग्रेसले शुक्रबार ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि जसपा थप अलमलमा परेको थियो। जसपाको अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई भने कुनै पनि ओली सरकारमा जान नहुने पक्षमा छन्।
Shares

प्रतिक्रिया