खेल


छोटो समयमै चर्चा कमाउन सफल भलिबल खेलाडी र प्रशिक्षक

छोटो समयमै चर्चा कमाउन सफल भलिबल खेलाडी र प्रशिक्षक

लक्ष्मी जि.सी
बैशाख ८, २०७८ बुधबार ९:५२,

कोरोना महामारीका कारण २०७७ खेल जगतका लागि उपलब्धीमूलक रहन सकेन। तर, भएका केही प्रतियोगिता र खेलाडीलाई हेर्ने हो भने छोटो समयमा पनि खेलाडीहरुले आफ्नो खेलकौशललाई मज्जाले प्रदर्शन गरेका छन्। कोरोना संक्रमण घट्ने क्रममा रहँदा माघको अन्त्यतिर पोखरामा भएको टाइगर कपबाट भलिबल पुनः सुरु भएको थियो।

त्यसपछिको करिब दुई महिनामा पोखरामा टाइगर कप, सोही ठाँउमा मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरी महिला तथा पुरुष भलिबल, नेपालगञ्जमा सातौँ संस्करणको प्रधानमन्त्री कप महिला राष्ट्रिय भलिबल, इलाममा पुरुष भलिबल प्रतियोगिता र काठमाडौंमा पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता आयोजना भए।

गत वर्ष क्लब च्याम्पियनसिपकै दौरान घुँडामा चोट लागेकी प्रतिभा मालीले सफल पुनरागमनको संकेत गर्दा क्लब लिगमा विदेशी खेलाडी पनि चर्चामा रहे। राष्ट्रिय टोलीकी समेत महत्वपूर्ण खेलाडी प्रतिभा फर्केसँगै होगान्जी न्यु डायमन्ड क्लब क्लब च्याम्पियनसिप जित्न सफल भएको छ।

महिला र पुरुषको संयुक्त ३ र अलगअलग एक प्रतियोगिता भए। जसमा अलगअलग विजेता रहे। महिलातर्फका ३ उपाधि फरक टोलीले जिते। टाइगर कपमा पुलिस क्लब विजेता बन्यो। नेपालगन्जको प्रधानमन्त्री कपमा पुलिसलाई हराउँदै एपीएफले जित्यो। वर्षको अन्तिम प्रतियोगितामा पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन बन्यो।

volleyball Main image 2

पुरुषतर्फ टाइगर कपमा गण्डकी विजेता रह्यो भने इलामबाट आर्मी च्याम्पियन बनेर फर्कियो। क्लब लिग हेल्प नेपाल स्पोर्टस्ले उचाल्यो।

महिला भलिबलको सदाबहार दाबेदार एपीएफ क्लब ४ वर्षपछि लिग उपाधि दौडबाट बाहिरिएको थियो। गत वर्ष विभागीय टोलीलाई चुनौती दिन अन्य क्लब सफल भए। अर्कोतर्फ वर्षको अन्तिम प्रतियोगिता क्लब लिगमा गण्डकी प्रदेश र भारतीय खेलाडी सम्मिलित टिपटप हेल्प नेपालले पनि विभागीय टोलीलाई पन्छाउँदै पुरुषतर्फको उपाधि जिते। गतवर्षका दुई प्रतियोगितामा फरक क्लबबाट रमेश केसीले दुई टोलीलाई उपाधि जिताएर उत्कृष्ट प्रशिक्षक बन्न सफल भए। वर्ष २०७७ मा गरेका प्रर्दशनका आधारमा सफल बनेका केही खेलाडी र प्रशिक्षकको चर्चा यहाँ गरिएको छ।

प्रतिभा माली
झन्डै एक वर्षपछि नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा न्यु डायमन्डकी महत्वपूर्ण सदस्य प्रतिभा माली कोर्ट फर्किएकी छन्।

२०७६ माघ १० गते चौथो संस्करणको आरबीबी एनभीए क्लब च्याम्पियनसिपमा नेपाल एपिएफ क्लबविरुद्धको फाइनलमा प्रतिभाको बायाँ घुडाँमा चोट लागेको थियो। स्पाइक प्रहार गरेपछि ल्यान्डिङ नमिल्दा उनले घुँडामा चोट लागेको थियो। पाँचौँ संस्करणको सोही प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्दै प्रतिभाले वर्ष २०७७ मा उत्कृष्ट पुनरागमन गरिन्।

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पिपल्स च्वाइसको मनोनयनमा परेपछि उनलाई जिताउन गत पुसमा पोखरामा मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो। एपीएफ क्लब र न्यु डायमन्ड एकेडेमीबीचको मैत्रीपूर्ण खेलबाट प्रतिभा कोर्टमा फर्किएकी थिइन्।

पूर्ण रुपमा चोट निको नभएपनि आफू मैदान फर्किएको प्रतिभाले बताएकी थिइन्। कोरोना महामारीको कारण कुनै प्रतियोगिता नभएकाले चोटकै कारण बाहिर रहनु परेको दुःख भने महसुस गर्न नपाएको उनले बताएकी थिइन्।

mahila volleyball new diamond apf

सरस्वती चौधरी
राष्ट्रिय टोली र एपीएफकी स्टार ओपन स्पाइकर सरस्वती चौधरी सातौँ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बनिन्। चोटका कारण केही समय मैदानबाहिर रहेकी सरस्वतीले राम्रो पुनरागमन गरिन्। एपीएफलाई उपाधि जिताउन प्रतियोगिताभर उत्कृष्ट प्रर्दशन गरेकी सरस्वती सर्वोत्कृष्ट खेलाडी समेत बनिन्। लिग चरणको अन्तिम तथा उपाधिको लागि फाइनल सरह मानिएको पुलिसविरुद्धको खेलमा उत्कृष्ट प्रर्दशन गर्दै सरस्वती ‘प्लेयर अफ द म्याच’ समेत भएकी थिइन्। फागुनमा नेपालगन्जस्थित रंगशाला परिसरमा एस्एिफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो।

उषा भण्डारी
पुलिस क्लबकी युवा स्पाइकर उषा भण्डारी प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको महिलातर्फ सर्वोत्कृष्ट खेलाडी बनेकी थिइन्। प्रथम टाइगर कपमा नेपाल पुलिस क्लबलाई उपाधि जिताउन महत्वपूर्ण प्रर्दशन गरेकी उषा सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन्। उनी सातौँ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको विधागततर्फ पनि उत्कृष्ट स्पाइकर घोषित भएकी थिइन्। गत वर्षका सबै प्रतियोगिता खेलेकी उषाको लागि २०७७ सम्झन लायक वर्ष रह्यो।

हरि पाण्डे
घरेलु प्रतियोगितामा विभागीय टोलीको दबदबालाई पाखा लगाउँदै गण्डकी प्रदेश २०७७ मा नयाँ च्याम्पियनको रुपमा उदाएको थियो। घरेलु समर्थकको बीचमा गण्डकी प्रदेशले विभागीय त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दा टोलीका कप्तान हरिको अलराउन्डर प्रर्दशन निर्णायक बन्यो। पोखरामा टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपमा हरिकै कप्तानीमा रहेको घरेलु टोली गण्डकी प्रदेश च्याम्पियन बन्यो। गण्डकीले भलिबल इतिहासमा पहिलो उपाधि जित्ने क्रममा आर्मीलाई त्यसै प्रतियोगितामा लगातार दोस्रो पटक पराजित गर्न सफल भयो।

घनश्याम चौधरी
टाइगर कपमा गण्डकी प्रदेशले पहिलो पटक उपाधि उचाल्दा ओपन स्पाइकर घनश्याम चौधरी सर्वोेत्कृष्ट खेलाडी बने। घनश्यामले सुरुमा पश्चिमाञ्चल र अहिले गण्डकी प्रदेशबाट खेले। विभागीय टोलीलाई हराएर उपाधि उचालेपछि उनले छोटो समयको तयारीमा पनि उत्कृष्ट नतिजा दिन सकिएला भनेर आफूले नसोचेको बताए।

मानबहादुर श्रेष्ठ
त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर मानबहादुर श्रेष्ठ दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी बने। प्रतियोगितामा आर्मीलाई अपराजित रहँदै उपाधि जिताउन मानबहादुरले उत्कृष्ट प्रदर्शन गरेका थिए। आर्र्मीले इलामको ठूलो टुँडिखेलमा भएको फाइनलमा भारतीय विमान ट्रेडर्स विर्तामोडलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको थियो। केही वर्षयता राष्ट्रिय टोलीबाट बाहिर रहेका मानबहादुरलाई पछिल्ला प्रदर्शनले पुनरागमनका लागि सहज बनाउनेछ।

रमेश केसी, प्रशिक्षक
रमेश केसी घरेलु फुटबलमा नयाँ नाम भने होइन। तर उनी चर्चामा पनि कहिल्यै आएनन्। कारण उनले भलिबल त खेले तर राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्न सकेनन्। कोरोना कहरपछि सुरु भएको प्रतियोगितामा फरक टोलीमा प्रशिक्षकको जिम्मेवारी लिएका उनले दुवै टोलीलाई च्याम्पियन बनाए। पोखरामा भएको टाइगर कपमा गण्डकी प्रदेश र पाँचौँ संस्करणको आरबीबी एनभीए क्लब लिग च्याम्पियनसिपमा टिपटप हेल्प नेपाललाई च्याम्पियन बनाए।

प्रतियोगिताकै दौरान लिग चरणको अन्तिम खेलमा नेपाल एपीएफ क्लबसँगको हारलाई लिएर उनीमाथि प्रश्न उठेपनि उनी उत्कृष्ट नतिजा दिन सफल भए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .