खेल


कुशल भुर्ते‍ल: सानदार सुरुवात, नेपाली टोलीको कमी पूरा गर्ने अपेक्षा

कुशल भुर्ते‍ल: सानदार सुरुवात, नेपाली टोलीको कमी पूरा गर्ने अपेक्षा

लक्ष्मी जि.सी
बैशाख ९, २०७८ बिहिबार १७:५६,

नेपाली क्रिकेटका प्रशंसकहरुले लामो समयदेखि गर्दै आएको एउटा गुनासो थियो– नेपालको ब्याटिङ कमजोर छ। त्यसमा पनि ओपनिङ साह्रै कमजोर छ। त्यसैले नेपाली टोलीलाई भरपर्दो ओपनिङ जोडीको खाँचो थियो।

अहिले कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी त्रिदेशीय सिरिज हेर्दा धेरैले नेपाली टोलीको त्यो खाँचो पुरा भएको महसुस गरेका छन्। यसका कारण हुन्– यही सिरिजमा डेब्यु गरेका कुशल भुर्तेल।

यतिबेला जताततै कुशलकै चर्चा छ। नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित सिरिजमा कुशल र आसिफ शेखको ओपनिङ जोडी जम्दा नेपालको प्रदर्शनमा गुणात्मक छलाङ देखियो। नेपाल र नेदरल्यान्ड्सले शनिबार हुने फाइनलका लागि स्थान सुरक्षित गरिसकेका छन्।

नेपालले राउन्ड रोबिनका चारमध्ये तीन खेल जितेको छ। पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराएसँगै नेपाल फाइनल पुग्ने सम्भावना बलियो बनेको थियो। अर्को खेलमा मलेसियालाई पनि ९ विकेटले नै हरायो। तेस्रो खेलमा भने २ सय रन बढीको चुनौती दिँदा पनि नेपालले नेदरल्यान्ड्सँग पराजय भोग्नु पर्‍यो। मलेसियाविरुद्धको चौथो खेलमा पनि नेपालले ६९ रनको फराकिलो विजय हात पार्‍यो।

KushalBhurtel 1

यी चारमध्ये सुरुवाती तीन खेलको केन्द्रमा रहे कुशल। शनिबार डेब्यु खेलमै कुशल र आसिफले कीर्तिमानी साझेदारी गरे। उनीहरुले नेदरल्यान्ड्सविरुद्ध १ सय १६ रनको ओपनिङ पार्टनरसिप गर्दै पहिलो विकेटका लागि सर्वाधिक रनको विश्व कीर्तिमान बनाए।उनीहरुसँग सोही खेलमा बलर तथा ब्याट्सम्यान साहब आलमले पनि डेब्यु गरे। १ सय ३६ रनको लक्ष्य नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै भेट्टएको थियो।

कुशलले ४६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६२ रन बनाए। आसिफ ३८ बलमा ४ चौका र ४ छक्का साथ ५४ रनमा अविजित रहे।

कुशलको यो सुरुवात मात्र थियो। उनले त्यसपछिका दुई खेलमा पनि क्रमशः मलेसियाविरुद्ध र नेदरल्यान्ड्सविरुद्धको अर्धशतक पुरा गरे। र, डेब्युसँगै लगातार ३ टी–२० अन्तर्राष्ट्रियमा पुरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। लिग चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध उनले १२ बलमा १६ रन बनाए।

कुशलको खेल यात्रा कहाँसम्म पुग्छ, अहिले नै अनुमान गर्नु पक्कै हतार हुनेछ। तर, उनले विश्व क्रिकेटमा आफ्नो नाम लेखाएर सुनौलो सुरुवात भने गरेका छन्। मगंलबार आईसीसीले सार्वजनिक गरेको टी–ट्वान्टी वरियतामा पहिलो पटक समावेश हुँदा उनी ९३ औँ स्थानमा छन्।

सानदार सुरुवाती प्रदर्शनसँगै कुशलप्रति क्रिकेटप्रेमीको अपेक्षा पनि चुलिएको छ। त्यसभन्दा बढी नेपाली टोलीको ब्याटिङमा सुधार आउने आशा धेरैमा छ।

मलेसियासँग ६१ रनमा अविजित रहेका कुशलले नेदरल्यान्ड्ससँगको ३ विकेटको हारमा ६२ रन जोडेका थिए। नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा अझ राम्रो अवसर आफूसँग रहेपनि आफू असफल भएको कुशलको भनाइ छ।

‘अझै राम्रो गर्ने अवसर थियो। तर, त्यसो हुन सकेन। अर्को खेलमा योभन्दा राम्रो गर्ने कोसिस गर्नेछु,’ कुशलले भने।

कुशल व्यक्तिगत प्रदर्शन भन्दा टोलीको जितलाई महत्वपूर्ण मान्छन्।

‘मुख्य कुरा त टोलीको जित नै हो। यसमा आफूले कति योगदान दिन सकिन्छ भन्ने महत्वपूर्ण कुरा हो,’ उनले थपे, ‘व्यक्तिगत प्रर्दशन राम्रो हुँदा आफूले पहिले गरेको मेहनत याद आउने रहेछ।’

नौ वर्षदेखि क्रिकेट खेलिरहेका कुशलले डेब्यु खेलमा पनि बिनादबाब मैदानमा उत्रिएको बताए।

‘डेब्यु म्याच पनि थियो त्यसैले बिना प्रेसर खेलेँ। त्यसपछिको खेलमा भने धेरैको आशा बढेपछि केही दबाब अनुभव गरेँ,’ कुशलले नेपालखबरसँग भने, ‘सुरुमा नेदल्यान्ड्ससँग ५० रन बनाएपछि धेरैको आशा बढेको रहेछ। पछि चेन्जिङ रुपमा पनि ल तिमीले राम्रो गर्नपर्छ भनेपछि मात्रै केही प्रेसर बढेको जस्तो भयो। अब ब्याटिङ र फिल्डिङमा आफ्नो बेस्ट दिने हो। टिमलाई जिताउने हो।’

KushalBhurtel 2

फुटबल र परीक्षा छाडेर क्रिकेटमा
सुरुमा कुशलको रुचिको खेल थिएन– क्रिकेट। उनलाई फुटबल खेल्न मनपथ्र्यो। बुटवलका कुशल सन् २०१२ सम्म फुटबल खेल्थे।

‘त्यो बेलामा सिनियर दाइहरुले जहाँ लानुहुन्थ्यो, त्यहाँ गएर खेल्थेँ,’ उनी सम्झिन्छन्।

वैदेशिक रोजगारीमा रहेका बुबा दीपक भुर्तेल घर फर्केपछि उनको फुटबल खेलमा पूर्णविराम लाग्यो।

‘बुबा सात वर्षपछि भारतबाट फर्कनु भएको थियो। भारतमा क्रिकेटको क्रेज धेरै भएकोले बुवालाई पनि क्रिकेट एकदमै मनपर्ने। त्यसैले होला उहाँ मलाई पनि क्रिकेट खेलाडी बनाउन चाहानुहुन्थ्यो,’ उनले भने।

दीपकले स्कुलमा क्रिकेट खेलाउन थाले। कुशल पनि खेल्न थाले। बिस्तारै उनी यस खेलप्रति आकर्षित हुँदै गए।

‘खेल भनेको लतजस्तो रहेछ,’ उनी भन्छन्, ‘खेल्दै जान थालेपछि राम्रो गर्न थालेँ। अनि क्रिकेटमै लागेँ। परिवारको सपोर्ट नभएको भए म यहाँसम्म आइपुग्ने थिइनँ।’

कुशलको परिवारमा उनकी एक दिदी र एक बहिनी छन्। बुबा अहिले गार्मेन्ट व्यवसाय गर्छन्।

‘मैले १२ पास गरेपछि ४ वर्ष ग्याप भयो। अहिले फेरि पढ्न थालेको छु। बीबीए ज्वाइन गरेको छु,’ उनी भन्छन्।

पढाइको प्रसंग आउँदा कुशललाई ११ को परीक्षाको याद आउँछ।

‘कक्षा ११ को परीक्षा थियो, त्यही बेलामा नेपाल प्रिमियर लिग पनि भइरहेको थियो। मैले बाबालाई परीक्षा दिन जान्छु भनेँ,’ उनले हाँस्दै भने, ‘त्यो बेलामा बुबाले परीक्षा पछि दिए पनि हुन्छ, पहिला खेल्न जा भन्नुभयो। परीक्षा छाडेर खेल्न गए। मैले खेल्न त पाइनँ तर हाम्रो टोलीले प्रतियोगिता जित्यो।’

KushalBhurtel 3

कुशलको क्रिकेट यात्रा
झन्डै एक दशकदेखि उनी क्रिकेटमा सक्रिय छन्। जिल्लाबाट विभिन्न प्रतियोगिता खेलेका कुशलले सन् २०१६ मा बगंलादेशमा भएको आईसीसी यू–१९ विश्वकप छनोटबाट उमेर समुहमा डेब्यु गरे। तर, उमेर समूह र राष्ट्रिय टोलीका बीचमा निकै फरक महसुस गरेका छन् उनले।

‘उमेर समूह र राष्ट्रिय टोलीबाट खेल्दा धेरै फरक हुने रहेछ। सिनियर दाइहरुसँग धेरै सिक्न पाइने रहेछ। उमेर समूहमा धेरै कुरा थाहा हुन्थेन। राष्ट्रिय टोलीमा हारको कारणदेखि साना साना कुरा पनि याद हुने रहेछ,’ कुशलले भने।

राष्ट्रिय टोलीमा मौका पाउँदा त्यसको पुरा सदुपयोग गर्छु भन्नेमा कुशल दृढ थिए। तर, यस्तो दमदार सुरुवात होला भन्ने उनलाई पनि अनुमान थिएन।

‘म अवसरको खोजीमा थिएँ। अवसर पाए भने त्यसको पुरै सदुपयोग गर्छु भन्ने मनमा थियो। अर्धशतकसम्म सोचेको थिइनँ,’ उनले भने, ‘अर्धशतक हानेपछि पहिला गरेको मेहनत सम्झिएँ। कोचले गरेको विश्वास र आमाबुबाको सपोर्ट सम्झिएँ।’

उनी विद्यालयका क्रिकेट प्रशिक्षक हेमन्त श्रेष्ठलाई पनि उत्तिकै स्मरण गर्छन्

‘उहाँलाई सम्झिरहन्छु। स्कुलमा हुँदा धेरै सपोर्ट गर्नुभएको थियो। सधैँ सिकाउनुहुन्थ्यो,’ उनले भने।

उनी क्रिकेटमा आफूले धेरै गर्न बाँकी रहेको बताउँछन्।

‘गर्व गर्नलायक ठाउँ बनाउने लक्ष्य हो,’ कुशल भन्छन्, ‘अहिलेको लागि यो सिरिज महत्वपूर्ण हो। यो जित्न हामी हरसम्भव प्रयास गर्नेछौँ।’

सामाजिक सञ्जालमा कुशलका भाइरल पोस्ट
कुशलले सामाजिक सञ्जालमा गरेका पुराना पोस्ट अहिले भाइरल भइरहेका छन्। तर, उनलाई भने यसले अप्ठेरो महसुस भएको छ।

जिल्लास्तरमा छनोट भएका बेला उनले राष्ट्रिय टोलीको जर्सी लगाउने सपना साँचेको फेसबुकमा उल्लेख गरेका थिए।

Kushal status

‘राष्ट्रिय टोलीको जर्सी लगाउने मेरो पनि सपना थियो। अहिले आएर त्यो इच्छा पुरा भएको छ,’ उनी भन्छन्, ‘जिल्लामा छनोट हुँदा मैले राष्ट्रिय टोलीबाट खेल्ने सपना छ भनेर लेखेको थिएँ। तर, पहिलाका स्ट्याटसहरु अहिले भाइरल भएको देख्दा एकदमै अप्ठेरो लाग्ने रहेछ।’ 

यो पनिः
सुरुवाती तीनै खेलमा कुशल भुर्तेलको लगातार अर्धशतक

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .