खेल


एनएसएल : यस्तो रह्यो मार्की खेलाडीको प्रदर्शन

एनएसएल : यस्तो रह्यो मार्की खेलाडीको प्रदर्शन

लक्ष्मी जि.सी
जेठ ६, २०७८ बिहिबार १७:५०,

पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजनाको मिति घोषणा भएपछि सहभागी टोली र खेलाडी कसरी छनोट हुन्छन् भन्नेमा धेरैको चासो थियो।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट् म्यानेजमेन्टले सहभागी ७ टोलीको नाम एउटा भव्य कार्यक्रमका बीच सार्वजनिक गर्यो। यद्यपि सहभागिताका लागि कुन टोलीले कति रकम तिरे त्यो सार्वजनिक गरिएन।

सुरुमा एक मार्की, अक्सनबाट १४ र ३ विदेशी खेलाडी हरेक टोली राख्न पाउने प्रावधान तय थियो। पछि फरक–फरक नाम गरी २ खेलाडी थपेर एउटा टोलीले २० खेलाडी राख्न पाउने व्यवस्था गरिएको थियो। चैत ६ गते खेलाडीको अक्सन हुनुअघि सबैभन्दा चासो मार्की खेलाडीको विषयलाई लिएर चलेको थियो।

अधिकांश टोलीले तत्कालीन समयमा राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई मार्की खेलाडीका रुपमा चयन गरे। चैतकै १० गतेदेखि दशरथ रंगशालामा आयोजना हुने थ्री नेसन्स कपका लागि राष्ट्रिय टोली भने बन्द प्रशिक्षणमा थियो।

मार्की खेलाडी घोषणाको समयमा राष्ट्रिय टोलीको अन्तिम छनोट पनि भइसकेको थिएन।

मार्की खेलाडी घोषणा गर्ने क्रममा सहभागी टोलीहरुबीच प्रतिस्पर्धा नै चलेको थियो। सबैभन्दा पहिले धनगढीले राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई आफ्नो मार्की खेलाडीका रुपमा सार्वजनिक गर्यो। त्यसपछि क्रमशः अन्य टोलीको मार्की खेलाडी घोषणा गरे।

मार्की खेलाडी सार्वजनिक गर्दा सबै टोलीमा एउटै समानता भने थियो– उनीहरुको पारिश्रमिक रकम नखुलाउने।

सबै टोली त्यसमा एकमत देखिए। सार्वजनिक नगर्ने सहमति भएको भन्दै जवाफ दिन टारे। अक्सनका लागि खेलाडीको तीनवटा श्रेणी विभाजन गरिएको थियो।

‘ए’ श्रेणीका खेलाडीको सर्वाधिक मूल्य २ लाख रुपैयाँसम्म राखिएकोले मार्की खेलाडीले त्योभन्दा बढी पाएको अनुमान लगाउन भने सहज थियो।

न्यूनतम २ लाख ५० हजारदेखि मार्कीका लागि ५ लाख रुपैयाँसम्म तिरिएको हुनसक्ने चर्चा पछिसम्म पनि चलिराख्यो। मार्कीभन्दा बढी विदेशी खेलाडी र धनगढी एफसीका गोलकिपर किरण चेम्जोङ खर्चिएको पनि एनएसएल सुरु हुन अघिसम्म चर्चाको विषय थियो।

आफ्ना कोटाका खेलाडी लिइसकेकोले धनगढीले किरणलाई विदेशी खेलाडीकै कोटामा भित्र्याएको थियो। त्यसैले धनगढीमा २ विदेशी खेलाडी मात्रै थिए।

घरेलु फुटबलमा पहिलोपटक प्रयोगमा ल्याएको मार्की खेलाडीले वैशाख ११ देखि जेठ १ गतेसम्म दशरथ रंगशालामा भएको एनएसएलमा कस्तो प्रदर्शन गरे भन्ने स्वाभाविक रुपमा चर्चा हुने नै भयो।

तीनै मार्की खेलाडीको प्रदर्शनका बारेमा यहाँ चर्चा गरिएको छ–

bikesh kuthu nsl

विकेश कुथु, गोलरक्षक (काठमाडौं रेजर्स)
काठमाडौंले उपाधि जित्दा विकेशले ८ खेलमा पोष्ट सम्हाले। एनएसएलमा काठमाडौं एक्लो टोली हो जसले सर्वाधिक ९ खेल खेल्यो।

टोलीले पहिलो चरणका ६, पहिलो प्ले अफ, एलिमिनेटर र एक फाइनल खेल्यो।

धनगढीविरुद्धको पहिलो प्ले अफको निर्धारित समयमा १–१ को बराबरीपछि ३० मिनेट समय थप गरिएको थियो। त्यसर्थ विकेशले ८ सय ४० मिनेट मैदानमा बिताए।

खेलका दौरान विकेशले एउटा पेनाल्टी पनि जोगाए। एउटा खेलमा उनी ‘प्लेयर अफ दी म्याच’ चुनिएका थिए। तर एनएसएललगत्तै विश्वकप छनोट र इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको घोषणा हुँदा उनी टोलीमा पर्न असफल रहे। 

bishal rai nsl

विशाल राई, मिडफिल्डर (धनगढी एफसी)
विशाल राई मार्की खेलाडी घोषित हुने पहिलो खेलाडी थिए। धनगढीले फाइनलसम्मको यात्रा तय गर्दा टोलीका आठै खेलमा उनी पहिलो रोजाइमा थिए।

किरणले कप्तानी गरेको धनगढीले बुटवल लुम्बिनीविरुद्धको खेलमा भने विशाललाई कप्तानी गर्ने मौका दिएको थियो।

उनको मनोबल बढाउनका लागि कप्तानीको मौका दिएको प्रशिक्षक फुजा तोपेले बताएका थिए। अपेक्षाअनुसार विशालले एनएसएलको सुरुवात सन्तोषजक गर्न सकेनन्। प्रतियोगिता अघि बढ्दै जाँदा भने भने उनी विस्तारै लयमा देखिएका थिए।

काठमाडौंविरुद्ध भएको पहिलो प्ले अफमा उनले निर्णायक गोल गरेका थिए। १–१ को बराबरी थपिएको ३० मिनेटमा उनले गोल गरेपछि धनगढीले फाइनलको यात्रा तय गरेको थियो।

योसँगै विशालले कुल ७ सय ९७ मिनेट मैदानमा बिताए। एनएसएलकै प्रदर्शनका आधारमा घोषणा गरिएको भनेको राष्ट्रिय टोलीको अन्तिम छनोटमा विशाल परेका छन्।

bharat khawas nsl

भरत खवास, फरवार्ड (एफसी चितवन)
एफसी चितवनले अंक तालिकाको पुछारमा रहेर पहिलो संस्करणको एसएसएलको यात्रा टुंग्याएको थियो।

टोलीले सबैभन्दा बढी अपेक्षा गरेका कप्तान समेत रहेका भरत त्यसमा खरो उत्रन सकेनन्। उनलाई चोटले लामो समय मैदानमा रहने अनुमति नै दिएन।

पहिलो चरणका ६ मध्ये उनले २ खेलमात्र खेले। ललितपुर सिटी एफसीविरुद्धको खेलमा पहिलो रोजाइमा रहेका भरतले ८७ मिनेट खेले।

विराटनगर सिटी एफसीविरुद्ध ३८ मिनेट खेलेका उनी बाँकी खेलमा बेन्चमै रहे।

उनले एनएसएलमा गोलको खाता पनि खोल्न सकेनन्। पूर्ण रुपमा फिट नरहेकै कारण उनले राष्ट्रिय टोलीको २३ सदस्यीय अन्तिम टोलीमा स्थान बनाउन सकेनन्।

navayug shrestha nsl

नवयुग श्रेष्ठ, फरवर्ड (पोखरा थन्डर्स)
अपेक्षाअनुसार नवयुगले पनि एनएसएलमा प्रदर्शन गर्न सकेनन्। यद्यपि २ खेलमा उनकै निर्णायक गोलमा टोलीले खेल जितेको थियो।

उनी आफैले पनि टोलीको स्कोरिङमा समस्या रहेको स्वीकारेका थिए। लिग चरणका ६ खेलमा २ जित, २ बराबर र २ खेलमा हार व्यहोरेको पोखरा समान ८ अंक भए पनि हेड टु हेडका आधारमा बुटवल लुम्बनीसँग पछि पर्दै प्ले–अफ पुग्नबाट वञ्चित भएको थियो।

दबाबका बीचमा पनि टोलीका लागि २ खेलमा निर्णायक गोल गर्न सफल नवयुग एक खेलमा प्लेयर अफ दी म्याच चुनिएका थिए।

नवयुगले कुल ५ सय १५ मिनेट मैदानमा बिताए। मार्की खेलाडी चुनिएलगत्तैको थ्री नेसन्स कपमा राष्ट्रिय टोलीमा पर्न असफल भएका नवयुगले यसपटक विश्वकप छनोट र इराकविरुद्धको मैत्रीपूर्ण खेलमा भने पुनरागमन गरेका छन्।

anjan bista nsl

अञ्जन विष्ट, फरवार्ड (ललितपुर सिटी एफसी)
ललितपुरले सुरुका ४ खेलमा ३ बराबरी खेलेपछि टोलीको प्ले–अफ पुग्ने सम्भावना कमजोर भएको थियो।

टोलीका कप्तान समेत रहेका अञ्जनसहित अन्य खेलाडी जित निकाल्न नसक्दा केही निराश पक्कै भएका थिए।

एउटा खेलाडी पेनाल्टीमा गोल गर्न चुकेका अन्जनको अर्को खेलमा गरेको गोल ‘अफ साइड’ लिइएको थियो।

प्ले–अफ पुग्ने सम्भावना कमजोर भएपछि टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले राजीनामा दिए। टोलीले उनका सहायक राजु तामाङलाई कार्यवाहक प्रशिक्षक बनायो।

त्यसपछिका लगातार २ खेल जित्नै अंक तालिको तेस्रो स्थानमा रहँदै ललितपुर प्ले–अफ पुग्न सफल रह्यो।

दोस्रो प्ले–अफमा पनि बुटवललाई हराउँदै अघि बढेको ललितपुर एलिमिनेटरमा काठमाडौंसँग निराश भयो।

पहिलो चरणबाट अघि बढ्न नसक्ने अवस्थाबाट अघि बढ्ने क्रममा टोलीका लागि अन्जनले सबैभन्दा उत्कृष्ट प्रदर्शन गरे।

त्यसमा ३ गोल र २ असिस्ट समेत गरेका उनी २ खेलमा ‘प्लेयर अफ दि म्याच’ चुनिए।

उनले एउटा खेलमा पहेँलो कार्ड पाएका थिए।

६ सय ३० मिनेट मैदानमा बिताएका उनी एनएसएलकै उत्कृष्ट फरवार्ड चुनिएका थिए। राष्ट्रिय टोलीमा उनी निरन्तर रहेका छन्।

bishal shrestha nsl

विशाल श्रेष्ठ, गोलरक्षक (बुटवल लुम्बिनी एफसी)
पछिल्लो सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लवबाट खेलेका विशाल मार्की खेलाडी बन्ने अर्का गोलकिपर थिए।

बुटवल प्ले–अफसम्म पुग्दा खेलेका सबै सात खेलमा उनी पहिलो रोजाइमा थिए।

एउटा पेनाल्टी समेत रोकेका विशालले एनएसएलका नयाँ अनुभव बटुल्न पाएको सुनाएका थिए।

विदेशी खेलाडीको प्रभावशाली उपस्थितिले खेलमा अझै सिक्ने मौका पाएको उनले सुनाए।

एनएसएलमा ५ सय ४० मिनेट मैदानमा बिताएका उनले विश्वकप छनोट र इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि भने राष्ट्रिय टोलीमा स्थान बनाउन सकेनन्।

ranjit dhimal nsl

रञ्जित धिमाल, रक्षक (विराटनगर सिटी एफसी)
पूर्वका रञ्जितले आफ्नै ठाँउको विराटनगरका मार्की खेलाडी हुन पाएकोमा खुसी व्यक्त गरेका थिए।

धनगढीलाई ३–० ले हराउँदै एनएसएलको दमदार सुरु गरेको विराटनगरले उनको कप्तानीमा प्ले–अफ पुग्ने अनुमान गरिएको थियो।

तर, एनएसएलकै सबैभन्दा उत्कृष्ट खेल मानिएको काठमाडौंविरुद्धको खेल ५–४ ले गुमाएपछि विराटनगरको प्ले–अफ यात्रा कठिन भएको थियो।

उनले त्यो खेलमा दर्शनीय गोल पनि गरेका थिए। प्ले–अफ पुग्नका लागि ललितपुरविरुद्धको मैत्रीपूर्ण खेलका दौरान विराटनगरका प्रशिक्षक र खेलाडीको व्यवहार भने धेरै आलोचित भएको थियो।

रेफ्रीको निर्णय चित्त बुझ्दो नभएको भन्दै विराटनगरका खेलाडी बीचमै खेल छाडेका थिए। ७ मिनेट खेल रोकिएको थियो।

पछि पूरा समय खेलिएको खेलमा ललितपुरसँग ४–० ले पराजित भएको थियो।

रञ्जितले त्यो घटनामा आफूहरुको कमजोरी भएको भन्दै त्यसरी मैदान छाड्नु गलत भएको बताएका थिए।

पूर्ण रुपमा फिट नरहेका रञ्जितले ६ मध्ये ५ खेलमा सुरुवाती रोजाइमा परे। ४ सय ७० मिनेट मैदानमा बताएका उनी एउटा खेलमा प्लेयर अफ दी म्याच चुनिएका थिए।

उनले एउटा खेलमा पहेँलो कार्डको सामना गरे। विश्वकप छनोट र इराकविरुद्धको मैत्रीपूर्ण खेलमा उनी राष्ट्रिय टोलीमा छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .