खेल


एनसेल बन्यो तेस्रो संस्करणको नेपाल सुपर लिगको टाइटल स्पोन्सर

एनसेल बन्यो तेस्रो संस्करणको नेपाल सुपर लिगको टाइटल स्पोन्सर

नेपालखबर
फागुन २३, २०८१ शुक्रबार १४:१९, काठमाडौँ

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम)ले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ।

एनएसएल नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो। 

शुक्रबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको हो। यस सहकार्यअन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्द्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ।

साथै, यसले नेपालका उदीयमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ। नेपाल र नेपाली उपभोक्ताहरूलाई एक आपसमा जोड्ने एनसेलको मूल दर्शन नेपाली फुटबलप्रतिको भावना र जोशसँग पनि मेल खाने निश्चित छ। 

सन् २०२१ मा स्थापना भएको एनएसएललाई एनएसईएमले अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ। थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीहरूको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ । यसले क्षेत्रीय पहिचान प्रवर्द्धन गर्दै एकता र गौरवको भावनालाई अझ बलियो बनाएको छ। 

नेपाल सुपर लिग (एनएसएल)को आधिकारिक खेल तालिका २९ मार्च २०२५ बाट सुरु हुनेछ। यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरूबीच कडा प्रतिस्पर्धा हुनेछ । देशभरका फुटबल प्रेमीहरूका लागि यो उत्साहजनक र रोमाञ्चक क्षण हुनेछ जहाँ विभिन्न टिमहरू उपाधी जित्नको लागि प्रतिस्पर्धा गर्नेछन्।

नेपाल सुपर लिग (एनएसएल)का म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्कीले भने, “हामीलाई को-टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा निकै उत्साहित छौँ। यो साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याउने र बलियो फुटबल संस्कृतिको निर्माणमा सहयोग गर्नेछ।" 

त्यस्तै, एनसेलका चिफ कमर्सियल अफिसर (सीओओ) उमैर मोहसिनले एनएसएलसँगको सहकार्यले खेल विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने बताए।

उनले भने, “हामी फुटबलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्छ भन्नेमा विश्वास गर्छौँ। एनएसएललाई समर्थन गरेर हामी नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्दै देशलाई गर्व गराउने अवसर दिन चाहन्छौँ। यो सहकार्य हाम्रो थिम 'हामी तपाईंकै लागि आधारित रहेको छ र यसले विकास, नवीनता र उत्कृष्टताप्रति समान समर्पणको भावना दर्शाउने खेलकुद क्षेत्रप्रति रहेको हाम्रो गहिरो सम्मान र आकर्षणलाई प्रतिविम्बित गर्छ।" 

एनसेलले अघिल्लो वर्षदेखि नै एनएसएलसँग निकट सहकार्य गर्दै आएको छ। यस साझेदारीले नेपाली खेल क्षेत्रको सुधार र युवाहरूको क्षमता अभिवृद्धिमा एनसेलको निरन्तर योगदानलाई प्रतिबिम्बित गर्छ । यस लिग मार्फत एनसेलले फुटबल प्रतिभा प्रवर्द्धन गर्नुका साथै नेपालमा खेल पूर्वाधार सुधार गर्न प्रतिबद्धता दोहोर्‍याएको छ। 

यस संस्करणमा रोमाञ्चक प्रतिस्पर्धा, नयाँ प्रतिभाहरू र नेपाली फुटबलको वास्तविक स्वाद अनुभव गर्न पाइनेछ। एनसेलको निरन्तर समर्थन खेल विकास, युवा सशक्तीकरण र स्वस्थ जीवनशैली प्रवर्द्धनमा केन्द्रित छ। खेल मात्र होइन, यो नेपालसँगको सम्बन्धको पनि कुरा भएको एनसेलले उल्लेख गरेको छ। 

यो लगानी नेपाली खेल प्रतिभाको प्रवर्द्धन मात्र नभई खेललाई मन पराउने दर्शक र फ्यानहरूलाई पनि लक्षित छ जसको कारण यस्ता प्रतियोगिताहरू सफल हुने गर्दछन्। जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। 

कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रहि एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि सहयोग गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad