घरेलु टिम विराटनगर सिटी सातौँ संस्करणको विराट गोल्ड कपको फाइनलमा पुगेको छ।
विराटनगरस्थित सहिद मैदानमा सोमबार राति भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले निराश बनाउँदै विराटनगर सिटी उपाधिनजिक पुगेको हो।
विराटनगरको जितका लागि स्टेफन ब्याङगनल र अभिषेक गुरुङले गोल गरेका थिए। जावलाखेलका तर्फबाट हिसुव थपलियाले सान्त्वना गोल फर्काए।
विराटनगरले संघर्षपूर्ण जित हासिल गरेको छ। प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको साथ पाएको विराटनगरले दोस्रो हाफदेखि आक्रामक खेल पस्कियो। जावलाखेलको फिनिसिङ पक्ष कमजोर रहँदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेका थिए। दोस्रो हाफपछि विराटनगरले अग्रता लिँदा जावलाखेललाई दबाब परेको थियो।
५९औँ मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेफन ब्याङगनलले गोल गरी टिमलाई अग्रता दिए। विमल घर्ती मगरले पेनाल्टी एरियाबाट गरेको प्रहार जावलाखेलका गोलरक्षक अनीश देउलाले मैदानतिर बल पालिदिएपछि स्टेफनले गरेको प्रहार गोलमा परिणत भएको थियो।
८७औँ मिनेटमा विराटनगर सिटीका विमल घर्ती मगरले निकालेको क्रस पासलाई अभिषेक गुरुङले गोल गरी टिमको लागि विजय गोल गरे।
लगातार पाएको सुन्दर अवसर जावलाखेलका खेलाडीको फिनिसिङ पक्ष कमजोर देखिँदा सेमिफाइनलबाट घर फर्किन बाध्य भयो।
९औँ मिनेटमा विराटनगर सिटीका विमल घर्ती मगरले डिबक्स भित्रबाट गरेको हानेको बल जावलाखेलका गोलकिपर अनिश देउलाले उत्कृष्ट ढंगले छेके। १७औँ मिनेटमा जावलाखेलका विदेशी खेलाडी एनकोटोले वान भर्सेस वानको प्रहार गोल गर्नबाट चुके। उनले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगर सिटीका गोलकिपर विशाल श्रेष्ठले विफल पारिदिए। त्यसलगत्तै एनकोटोले निकालेको क्रस पासलाई हिसुबले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलकिपरले पन्च गरेर मैदानतिर पठाइदिए।
२७औँ मिनेटमा विमलले निकालेको क्रस पास डिबक्स भित्रबाट विदेशी खेलाडी मोसकले गोल गर्नबाट चुके। ५३औँ मिनेटमा जावलाखेलका विदेशी खेलाडी फोडीले करिब ३० यार्डदेखि गरेको प्रहार विराटनगरका किपर विष्णुले विफल पारिदिए। ७० औँ मिनेटमा विराटनगरका अभिषेक गुरुङले गरेको कडा प्रहार बाहिरिँदा थप गोल गर्ने अवसर खेर गयो।
खेलको ८९औँ मिनेटमा जावलाखेलका कप्तान सीमन्त थापाको प्रहार बाहिरिँदा गोल गर्ने अवसर खेर फाले। त्यसलगैत सुनिल खड्काले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगरका गोलरक्षक विशाल श्रेष्ठले विफल पारिदिए। खेलको अन्ततिर जावलाखेल सम्हालिन नसक्दा थप गोल खाएको थियो। दोस्रो हाफको इन्जुरी समयमा जावलाखेलका तर्फबाट हिसुब थपलियाले सान्त्वना गोल फर्काए। म्यान अफ म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल भए। उनले नगद ११ हजार रुपैयाँ पाए।
मंगलबार हुने अन्तिम सेमिफाइनल खेल पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साबिक विजेता विभागीय टिम एपीएफबीच हुनेछ।
प्रतिक्रिया