ad ad

खेल


विश्वकप हेर्न कतार जाँदै हुनुहुन्छ? जान्नैपर्ने यी कुरा

विश्वकप हेर्न कतार जाँदै हुनुहुन्छ? जान्नैपर्ने यी कुरा

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार ११:५३, काठमाडौँ

कतार विश्वकप २०२२ आउन अब दुई साता मात्र बाँकी छ। विश्वकपको मिति नजिकिँदै गर्दा कतारले नोभेम्बर १ देखि नै दर्शकलाई स्वागत गर्न सुरु गरिसकेको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका जिल्ला संघ, प्रदेश संघ, ए, बी र सी डिभिजन क्लब, रेफ्री संघ, महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ, मोफसलका चारवटै फुटबल क्लबका प्रतिनिधिलाई विश्वकपका लागि टिकट बिक्री गर्ने भएको छ। 

एन्फाले खेलअनुसार टिकटको मूल्य निर्धारण गरेको छ। एन्फाले उद्घाटन खेलका लागि ८४ हजार ८ सय, समूह चरणका खेलका लागि ३० हजार १५० रुपैयाँ तोकेको छ।

यस्तै प्रिक्वार्टरफाइनलका लागि ३७ हजार ६९०, क्वार्टफाइनलका लागि ५८ हजार ४१६ र सेमिफाइनल खेलका लागि १ लाख ३१ हजार १५५ रुपैयाँ टिकट मूल्य तोकेको छ। 

फाइनलका लागि १० वटा टिकट आएकोमा सबै बिक्री भइसकेको एन्फाले बताएको छ। फाइनल खेलको टिकट मूल्य १ लाख ९८ हजार ९२४ रुपैयाँ परेको छ। 

टिकटबाहेक जाने आउने र अन्य खर्च पनि स्वयंले नै व्यहोर्नुपर्ने एन्फाले जनाएको छ। 

विश्वकपकै लागि भनेर नेपालबाट कति दर्शक कतार जाँदैछन् भन्ने यकिन तथ्यांक छैन। विश्वकपलाई लक्षित गर्दै कतार पुग्ने दर्शकको सुविधा र उनीहरुको बसाइ लम्ब्याउन कतारले कुनै कसर बाँकी राखेको छैन। विश्वकप लक्षित गरेर नै कतारले डिपार्टमेन्ट स्टोरलाई राति २ बजेसम्म खुला राख्न निर्देशन दिएको छ।  

विश्वकपलाई लक्षित गर्दै भिजिट भिषामा कतार पुगेका पर्यटक लक्षित गरी फ्यान भिसामा परिवर्तन गर्न पाउने सुविधा पनि कतारले दिएको छ। नोभेम्बर १ अघि कतार जुनसुकै प्रकारको भिजिट भिषामा कतार पुगेका र हाया कार्ड भएका व्यक्तिले राहदानी निर्देशनालय केन्द्र तथा आन्तरिक मन्त्रालयको सेवा विभागमा गएर भिजिट भिसालाई फ्यान भिसा सक्ने सुविधा दिएको छ। यो भिसा परिवर्तन गरेपछि जनवरी २३,२०२३ सम्म कतारमा बस्न पाइनेछ। 

विश्वकपका लागि कतार प्रवेशका लागि हाया कार्डलाई अनिवार्य बनाएको छ। यो कार्ड बनाउन ५ सय रियाल शुल्य लाग्नेछ। 

कतारले विश्वकपलाई लक्षित गरेर लागू गरेको नियम अनुसार हाया इन्ट्री परमिट मात्र आवश्यक पर्ने आन्तरिक मन्त्रालयले बताएको छ। अब विश्वकप हेर्न कतार जाँदा कोरोना परीक्षण गराउनु पर्दैन। त्यस्तै एहतेराज एपमा पहिला नै दर्ता गरेको, अनिवार्य मास्कको नियम, भ्याक्सिनको प्रमाणपत्रलगायतको नियम खारेज गरिसकेको छ। 

खेलसँगै पर्यटनलाई पनि लक्षित गर्दै कतारले विश्वकप खेलको टिकट खरिद नगरेका व्यक्ति पनि कतार घुम्न जान पाउने  सुविधा दिएको छ। तर, त्यसको लागि समूह चरणको खेल सकिएपछि मात्र अर्थात डिसेम्बर २ देखि कतार जान पाउनेछन्।

त्यसका लागि एप वा पोर्टल मार्फत हाया कार्डको लागि आवेदन दिनुपर्नेछ। यो कार्ड भएका व्यक्ति जनवरी २३ सम्म कतारमा बस्न पाउनेछन्। कार्ड स्वीकृत हुन यात्रुले होटेल बुकिङ वा आफन्तसँगै बस्ने व्यवस्थाको प्रमाण भने पेश गर्नुपर्ने हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .