ad ad

खेल


कतार विश्वकप : घरेलु टोलीको कीर्तिमानी हारमा इक्वेडर बन्यो भिलेन

कतार विश्वकप : घरेलु टोलीको कीर्तिमानी हारमा इक्वेडर बन्यो भिलेन

नेपालखबर
मंसिर ४, २०७९ आइतबार २३:४४, काठमाडौँ

आयोजक कतारले विश्वकप फुटबलमा खराब सुरुवात गरेको छ। घरेलु मैदानमा इक्वेडरसँग २–० ले पराजित हुँदा विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक पराजित भएको पहिलो रेकर्ड बन्यो। यसअघि २१ विश्वकपका सबै उद्घाटन खेलमा आयोजकले जित दर्ता गरेका थिए। 

आइतबार राति अल बेत रंगशालामा इक्वेडरले खेलको १६ औँ मिनेटमा अग्रता लियो। इक्वेडरका कप्तान इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसअघि तेस्रो मिनेटमै भ्यालेन्सियाले नै कतारको पोष्टमा सफल प्रहार गरे पनि रेफ्रिले अफसाइड दिएका थिए। 

तर त्यसको केही मिनेटपछि उनले पेनाल्टिमार्फत गोल गरेका हुन्। कतारका अल शहिबले फउल गरेपछी इक्वेडरले पेनाल्टी पाएको थियो। जसमा भ्यालेन्सिया चुकेनन्। उनले पहिलो हाफकै ३१ औं मिनेटमा दोस्रो गोल गर्दा इक्वेडरका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाए। 

भ्यालेन्सियाले विश्वकपमा ५ गोल पुर्याएका छन्। इक्वेरडसँग पराजित हुँदा कतारको नाममा  दुई खराब किर्तिमान बनेका छन्। विश्वकपको २२ औँ संस्करणसम्म आइपुग्दा आयोजक उद्‍घाटन खेलमा पराजित भएको पहिलो पटक हो। 

यस्तै सन् १९७० मा मेक्सिको बाहेक हरेक टोलीले पहिलो खेलमा गोल गरेका छन्। जुन इतिहास कायम राख्न पनि पनि कतार चुकेको छ। 

२०१० मा दक्षिण अफ्रिकाबाहेक विश्वकप आयोजक राष्ट्रले नकआउट चरण पार गरेका छन्। यसअघि २०१८ को आयोजक रुसले पनि बलिया टोलीलाई हराउँदै क्वाटर फाइनलसम्मको यात्रा तय गरेको थियो। तर तुलनात्मक रुपमा कमजोर मानिएको एशियन देश कतारले भने खराब हार व्यहोरेको हो।

यदी कतारले समूह चरण पार नगरेमा अर्को खराब इतिहास पनि उसको नाममा रहनेछ। घरेलु लिगका खेलाडीको साथमा मैदान उत्रेको कतारले विश्वकपमा पहिलो अनुभव बटुलीरहेको छ। 

समूह ए मा रहेको कतारले दोस्रो खेलमा शुक्रबार अफ्रिका कप नेसन्सको च्याम्पियन सेनेगलसँग खेल्नेछ। समूहको अन्तिम खेलमा २०१० को विश्वकपको फाइनलिष्ट टोली नेदरल्याण्डसँग मंसिर १३ गते खेल्नेछ। यो समूहमा नेदरल्याण्ड र सेनेगललाई बलियो टोलीका रुपमा हेरिएको छ। 

यता सन् २०१४ पछि विश्वकपमा फर्किएको इक्वेडरले सुखद सुरुवात गरेको छ। इक्वेडरले यसअघि सन् २००२ र २००६ को विश्वकप खेले पनि २०१० र २०१८ को विश्वकप गुमाएको थियो। जितसँगै इक्वेडरले ३ अंक जोडेको छ। 

विश्वकप फुटबल अन्तरगत सोमबार साँझ ६ :४५ बजे इङ्ल्याण्ड र इरान, ९:४५ बजे सेनेगल र नेदरल्याण्ड तथा राति १२:४५ बजे अमेरिका र वेल्स भिड्ने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .