ad ad

खेल


यसपटकको विश्वकपमा किन बढेको छ इन्ज्युरी समय?

यसपटकको विश्वकपमा किन बढेको छ इन्ज्युरी समय?

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १०:२४, काठमाडौँ

कतारमा जारी फिफा विश्वकपअन्तर्गत अहिलेसम्म धेरै खेल त भएका छैनन्। तर, यो विश्वकपमा यसअघिको तुलनामा केही अन्तर भने देखिन थालिसकेको छ।

जसमध्येको एउटा इन्ज्युरी समय धेरै हुनु हो। विश्वकपमा सुरुका पाँच खेलमा करिब ८५ मिनेट इन्ज्युरी समय थपिएको थियो। जसमध्येको सबैभन्दा लामो खेल इंग्ल्याण्ड र इरानबीच भएको थियो। यो खेल ११७ मिनेट १६ सेकेण्डसम्म चलेको थियो।

यो खेल लामो हुनुमा खेलको बीचमा इरानका गोलकिपर घाइते हुनु पनि एक कारण थियो। यद्यपि अघिपछि पनि यस्ता घटनामा पनि यति धेरै इन्ज्युरी समय भने थप हुँदैनथ्यो। यो विश्वकपमा वास्तविक ९० मिनेटको खेल होस् भनेर फिफाले प्रयोग गरेको नयाँ प्रविधिको कारण पनि खेलको क्रममा खेर गएको वास्तविक समय थप हुन थालेको हो। जसले गर्दा इन्ज्युरी समय धेरै देखिएको हो। 

यो क्रम मंगलबार साउदी अरेबियाले अर्जेन्टिनामाथि ऐतिहासिक जित हात पार्दा पनि कायम रह्यो। यो खेलको पहिलो हाफमा ७ मिनेट इन्ज्युरी समय थप गरिएकोमा दोस्रो हाफमा १४ मिनेटको समय थप गरिएको थियो।

इन्ज्युरी समय बढ्नुमा खेलाडी घाइते हुँदा, भिडिओ एसिस्टेन्ट निर्णय लिँदा, खेलाडी सब्स्टिच्युट गर्दा, पेनाल्टी र रातो कार्डका साथै जानाजान खेलाडीले समय बिताउने चेष्टा गर्नु मुख्य कारण हुन्।  

फिफाको रेफ्री कमिटिका प्रमुख पिएर्लुइगी कोलिनाले गत साता चौथो अफिसियललाई  खेलमा खेर जाने समयको वास्तविक जानकारी राख्न केही निर्देशन दिइएको थियो। उनका अनुसार उनीहरुले बललाई ट्र्याक गरेर खेर गएको समय निकाल्न सक्छन्। यस्तो प्रयास सन् २०१८ को रुस विश्वकपमा पनि गरिएको थियो। 

‘रुसमा पनि हामीले खेर गएको समयलाई अझ प्रभावकारीरुपमा गणना गर्ने प्रयास गरेका थियौं। जसको कारण तपाइँले ६, ७ र कहिलेकाहीँ ८ मिनेटसम्म पनि इन्ज्युरी समय थपिएको थियो’, उनले भनेका थिए। 

‘कल्पना गर्नुहोस् कि पहिलो हाफमा तीन गोल भएको छ भने उक्त खेलमा चारदेखि पाँच मिनेटसम्मको समय उत्सव मनाउन र खेल पुनः सुरु गर्दाको बीचमा खेर गएको हुन्छ’, उनले थपे। 

यो धारणाको कारण पटिल्लो समय खेलको केही रेकर्ड तोडिएका छन्। फुटबलबारे जानकारी राख्ने ओप्टाका अनुसार सोमबार र मंगलबारका पाँच खेलले सन् १९९६ यता सबैभन्दा धेरै इन्ज्युरी समय थप गरिएको कीर्तिमान  राखेका छन्।

स्वाभाविक रुपमा यसरी धेरै समय थप गर्दा अन्तिम समयमा पनि गोल हुने सम्भावना बढ्छ। सेनेगलविरुद्धको खेलमा नेदरल्याण्ड्सका डाभी क्लासेनले  ९८ मिनेट १७ सेकेण्डमा गोल गरेका थिए। 

इन्ज्युरी समयको विषयमा मिश्रित प्रतिक्रिया आइरहेका छन्। केहीले फिफाको यो प्रयासलाई राम्रो भनेका छन् भने केहीले अनावश्यकरुपमा खेल लम्ब्याइएको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .