फिफा विश्वकप २०२२ अन्तर्गत बुधबार राति भएको खेलमा चारपटकको विश्वविजेता टोली जर्मनी जापानसँग २–१ गोलले पराजित भयो।
स्वाभाविकरुपमा चारपटकको विश्वविजेताको हारको चर्चा हुने नै भयो। तर, जर्मनीका खेलाडीले खेल हुनुपूर्व आफ्नो मुख छापेको घटनाले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा स्थान पाएको छ।
खेल हुनुपूर्व सबै खेलाडी एकै ठाउँमा बसेर राष्ट्र गीत गाउने चलन छ। सोही क्रममा बुधबारको खेलमा भने जर्मनीका खेलाडीले आफ्नो मुख छोपे।
जर्मनीका खेलाडीहरुले फिफाले पाखुरामा ‘वान लभ’ लेखेको पट्टी बाँध्न नदिएको विरोधमा आफ्नो मुख छोपेर सांकेतिक विरोध गरेका हुन्। फिफाले तोकेको नियम उल्लंघन वा त्यसको विरोध गरेको अवस्थामा फिफाले टोलीमाथि कारबाही अघि बढाउन सक्छ। तर, जर्मनीको हकमा भने फिफाले कुनै पनि कारबाही नगर्ने स्काईस्पोर्ट्सले उल्लेख गरेको छ।
जर्मनीको राष्ट्रिय टोलीको आधिकारिक ट्वीटरमा खेलअघि गरिएको विरोधबारे उल्लेख गरिएको छ। जसमा भनिएको छ, ‘यो राजनीतिक वक्तव्यबाजी थिएन, मानव अधिकार सम्झौताको विषय नै होइन। यो सबैले पाउनुपर्ने कुरा हो तर अझै पनि त्यसो हुन सकेको छैन। त्यसैले यो सन्देश हाम्रो लागि निकै महत्वपूर्ण छ।’
पोस्टमा भनिएको छ, ‘हामीलाई पट्टी बाँध्न निषेध गरिनु बोल्न रोक लगाइनुजस्तै हो। हामी हाम्रो निर्णयप्रति अडिग छौं।’
कतारमा समलिङ्गीहरुको अधिकारको सम्मान नगरिएको भन्दै पश्चिमा मुलुकले कतारको विरोध गर्दै आएका छन्। कतारले भने समलैङ्गिकता मानसिक बिरामी भएको बताउँदै आएको छ। सोही विषयलाई लिएर केही मुलुकका कप्तानले यो विश्वकपमा कतार सरकारको विरोधमा पाखुरामा ‘वान लभ’लेखिएको पट्टी बाँध्ने निर्णय गरेका थिए।
यद्यपि फिफाले भने पश्चिमा मुलुकको आरोप खण्डन गर्दै उक्त त्यसो गरे जरिवाना र कडा कारबाही गर्न सक्ने चेतावनी दिएको थियो।
प्रतिक्रिया