चार वर्षअघि लागेको घाउमा यसपटकको विश्वकपले केही मल्हम लगाउने जर्मनीका फ्यानको अपेक्षा थियो। यद्यपि यो विश्वकपको सुरुमै जर्मनीका फ्यान निराश बन्न पुगे।
एसियाको पावर हाउस मानिने जापानसँग जर्मनी २–१ गोलले पराजित भयो। चार वर्षअघिको विश्वकपमा दक्षिण कोरियासँग २-० गोलअन्तरले पराजित हुँदै जर्मनी समूह चरणबाटै बाहिरिएको थियो।
यसपटकको विश्वकपमा पनि जापानसँग हारसँगै जर्मनीको अघिल्लो चरणको यात्रा केही कठिन बनेको छ। जापानसँग हारेसँगै अब जर्मनीलाई समूहका अन्य दुई खेलमा जित हात हात पार्नैपर्ने बाध्यता छ।
समूहको अर्को टोली स्पेनले बुधबारै भएको अर्को खेलमा कोस्टारिकामाथि ७-० गोल अन्तरको कीर्तिमानी जित हात पारेको थियो। त्यसैले जर्मनीलाई स्पेनलाई पाखा लगाउनु त्यति सजिलो छैन।
जापानसँगको खेल हारेसँगै जर्मनीका फ्यानले भने खेलाडीहरु खेलमा भन्दा धेरै राजनीतिक विषयमा अल्झिएकाले टोलीले बुधबारको खेलमा जित हात पार्न नसकेको आरोप लगाएका छन्। केही फ्यानहरुले राजनीतिक विषयमा रुमल्लिने जर्मन फुटबल टोली हारको लायक भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
बुधबारको खेल हुनुअघि जर्मनीका खेलाडीले मुख छोपेर फिफाको सांकेतिक विरोध गरेका थिए। कतारमा मानव अधिकार हनन भएको विरोधमा पाखुरामा पट्टी बाँध्ने अधिकार फिफाले नदिएपछि जर्मनीका खेलाडीले उक्त विरोध जनाएका थिए। यसै विषयलाई फ्यानहरुले जर्मनीका खेलाडीको दिमागमा खेलभन्दा धेरै राजनीतिक विषय रहेको बताएका थिए।
सामाजिक सञ्जालमा आएका केही प्रतिक्रियामा फ्यानहरुले जर्मनीका खेलाडीले कतारको संस्कृतिको पनि सम्मान गर्नुपर्ने बताएका छन्। जर्मनीको फुटबल संघले खेलाडीको समर्थन गर्दै फिफाको निर्णयको विरोध गरेको छ।
राजनीतिक विषयमा मुछिएकाले प्रदर्शन राम्रो रहन नसकेको आरोप लागिरहेको अवस्थामा जर्मनीका प्रशिक्षक हान्सी फ्लिकले भने बुधबारको खेलमा खेलाडीहरु राजनीतिक विषयको कारण विचलित नभएको भन्दै आफ्नो बचाउ गरेका छन्।
उनले खेलाडीहरुले फिफाको निर्णयविरुद्ध सही कदम चालेको पनि बताएका छन्। उनले जर्मनीलाई सन् २०१८ को डरले सताकएको हो? भन्ने प्रश्नको भने उत्तर दिन चाहेनन्। उनले भने, ‘मलाई सन् २०१८ को विश्वकपसँग तुलना गर्नु नै छैन किनकी हामी अब हार बिर्सेर अगाडि बढ्न चाहन्छौं।’
‘हामी सक्छौँ र अझै राम्रो गर्न चाहन्छौँ’, उनले थपे।
आइतबार जर्मनीले विश्वकपको दोस्रो खेलमा स्पेनसँग खेल्नेछ। माथिल्लो चरणमा पुग्ने सम्भावना कायम राख्न जर्मनीले उक्त खेलमा कम्तीमा १ अंक हासिल गर्नुपर्ने हुन्छ।
प्रतिक्रिया