समूह एच को पहिलो खेलमा उरुग्वे र कोरिया भिड्दै छन्। खेल दोहास्थित एडुकेशन सिटी स्टेडियममा पौने ७ बजे सुरु हुनेछ।
स्ट्राइकर लुइस सुआरेज, एडिन्सन काभानीसहित दिग्गज खेलाडीहरू समेट्दै उरूग्वे कोरियाविरुद्ध खेल्नेछ।
३५ वर्षीय सुआरेज र काभानीको चौथो तथा अन्तिम विश्वकप हुने आकलन छ। गोलरक्षक फर्नान्डो मुस्लेरा, डिफेन्डर डिएगो गोडिन र मार्टिन कासेरेस उरुग्वेका मुख्य आधार हुन्। चोटका कारण पछिल्लो समय बार्सिलोनाका खेल गुमाइरहेका डिफेन्डर रोनाल्ड अराउजोले पनि टोलीमा स्थान बनाएका छन्।
आजको खेलमा सर्जियो रोचेट, गुइलेर्मो भारेला, डिएगो गोडिन, जोसे गिमेनेज, मथियास ओलिभेरा, रोड्रिगो बेन्टानकुर, माटियास भेसिनो, फेडेरिको भाल्भर्डे, जियोर्जियन डी एरास्केटा, लुइस सुआरेज, डार्विन नुनेजले सुरुवाती ११ मा स्थान बनाउनेछन्।
यता कोरिया गणतन्त्रका कप्तान सन ह्युङ–मिन सम्भवत आजको खेलमा उपस्थित हुनेछन्। चोटका कारण उनले फेस मास्क लगाउनु परेको थियो।
कोरियाका किम सेउङग्यु, किम मुनहवान, किम योङगवान, किम मिन्जाए, किम जिन्सु, जुंग वुयोङ, ह्वांग इनबिओम, ली जेसुङ, ह्वांग हेचन, सन ह्युङमिन, ह्वांग उइजो सुरुवाती रोजाइमा मैदान उत्रनेछन्।
हेड टु हेड
हेड टु हेडलाई हेर्ने हो भने कोरियाभन्दा उरुग्वे बलियो टोली हो। उरुग्वे र कोरियाबीच यसअघि २ खेलमा भेट भएको छ। दुवै खेलमा उरुग्वेले जित निकालेको छ। पहिलो पटक सन् १९९० मा भएको पहिलो भेटमा उरुग्वेले १–० ले हराएको थियो। सन् २०१० मा भएको दोस्रो भेटमा उरुग्वेले २–१ ले जित हात पारेको थियो।
प्रतिक्रिया