ad ad

खेल


जब फर्नान्डेजको गोललाई रोनाल्डोले आफ्नो दाबी गरे...

जब फर्नान्डेजको गोललाई रोनाल्डोले आफ्नो दाबी गरे...

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार २३:२३, काठमाडौँ

फिफा विश्वकपअन्तर्गत समूह एचको सोमबार भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोल अन्तरले पराजित गर्‍यो। यो खेलमा जित हात पारेसँगै पोर्चुगलले माथिल्लो चरणमा आफ्नो स्थान पक्का गरेको छ।

सोमबार कतारको लुसेल स्टेडियममा भएको खेलमा उरुग्वेविरुद्ध ब्रूनो फर्नान्डेजले खेलको ५४ औं मिनेट र इन्ज्युरी समयमा पेनाल्टीमार्फत गोल गरेका थिए। पहिलो खेलमा उनले ‘डी एरिया’ भन्दा बाहिरबाट प्रहार गरेको बलले सोझै जाली चुमेको थियो।

यद्यपि यो गोल हुनुभन्दा अगाडि हेडिङ प्रयास गरेका क्रिस्टियानो रोनाल्डोले उक्त गोल आफ्नो भएको हाउभाउसहित उत्सव मनाए। 

यद्यपि गोलको रिप्ले गरेर हेर्दा गोलको लागि रोनाल्डोले प्रयास गरे पनि उनले बल भने नछोएको देखिएको थियो। यो गोल रोनाल्डोको नाममा भएको खण्डमा उनले पोर्चुगलका लागि विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानसँग बराबरी पनि गर्ने थिए।

विश्वकप फुटबलमा पोर्चुगलको तर्फबाट सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान एउसिबिओको नाममा छ।

रोनाल्डोले आफ्नो गोलमा दाबी गरेको विषयमा गरिएको प्रश्नमा फर्नान्डेजले भने, ‘मलाई यो अवस्थामा कसले गोल  गर्‍यो भन्ने कुरा महत्वपूर्ण होइन भन्ने लाग्छ। मलाई पनि त्यतिबेला रोनाल्डोले बल छोएजस्तो लागेको थियो। मैले बल उनलाई नै पास दिएको थिएँ।’ 

फर्नान्डेजले निकै कठिन प्रतिस्पर्धीलाई हराउन सफल हुनु सोमबारको महत्वपूर्ण कुरा रहेको उल्लेख गरे। उनले अहिले पोर्चुगलको टोली सन्तुलित रहेको र प्रत्येक खेलमा एकबद्ध भएर टोली अघि बढ्ने उनको भनाइ छ। 

सोमबारको खेलमा जित हात पारेसँगै पोर्चुगलले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको भने उरुग्वेमाथि अन्तिम १६ मा पुग्न घानालाई हराउनै पर्ने बाध्यता थपिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .