विश्वकप फुटबलको अन्तिम क्वार्टरफाइनल खेलमा आज राति साविक विजेता फ्रान्सले इङ्ल्याण्डको सामना गर्दैछ। इङ्ल्याण्ड ५६ वर्षपछि उपाधि दोहोर्याउने लक्ष्यमा छ भने फ्रान्स उपाधि रक्षा गर्ने योजनामा छ।
अल बायत स्टेडियममा हुने खेल मध्यराति पौने १ बजे सुरु हुनेछ।
जारी विश्वकपमा दुवै टोलीले उच्च प्रदर्शन गरेका छन्। इङ्ल्याण्ड अपराजित छ भने, फ्रान्स मुख्य खेलाडीलाई विश्राम दिँदा समूहको अन्तिम खेलमा ट्युनिसियासँग पराजित भएको थियो।
यो खेलसँगै सेमिफाइनल समिकरण पुरा हुनेछ। आजको खेलमा इङल्याण्डका लागि फ्रान्सका फरवार्ड केलियन एम्बापे मुख्य चुनौती हुन्। उनले जारी विश्वकपमा ५ गोल गर्दै गोल्डेनबुट जित्ने सम्भावना बलियो बनाएका छन्। उनीभन्दा पछाडी लियोनल मेस्सी छन्। उनले ४ गोल गरेका छन् भने अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ।
फ्रान्सले नकआउट चरणमा पोल्याण्डलाई ३–१ ले पराजित गरेको थियो। इङल्याण्डले सेनेगललाई ३–० ले पराजित गरेको थियो। यसअघि फ्रान्सले उपाधि जित्दा इङ्ल्याण्ड पनि सेमिफाइनलमा पुगेको थियो।
अघिल्लो पटक क्रोएसियासँग पराजित हुँदै बाहिरिएको इङ्ल्याण्ड यसपटक साविक विजेतालाई पन्छाउँदै अगाडि बढ्ने लक्ष्यमा छ।
यी दुई टोली पछिल्लो पटक सन् २०१७ मा भिडेका थिए। जुन खेल फ्रान्सले ३–२ ले जितेको थियो। २०१५ मा भने इङ्ल्याण्ड २–० ले विजयी भएको थियो। २०१२ मा १–१ को बराबरी खेलेका थिए।
समग्र खेलमा भने इङ्ल्याण्ड हाबी छ। यी दुई टोलीका ३१ भेटमा १७ खेल इङ्ल्याण्डले जितेको छ। फ्रान्स ९ खेलमा विजयी हुँदा ५ खेल बराबरीमा टुंगिएको छ।
विश्वकपमा भने दुई पटक मात्रै भेट भएका छन्। दुवै खेलमा इङ्ल्याण्ड विजयी भएको छ। १९६६ मा २–० ले विजयी भएको इङ्ल्याण्डले १९८२ मा ३–१ ले नतिजा आफ्नो पक्षमा पारेको थियो। इङ्ल्याण्ड त्यही नतिजा दोहो¥याउने लक्ष्यमा हुँदा फ्रान्स बदला लिने योजनामा हुनेछ।
प्रतिक्रिया