ad ad

सुदूरपश्चिम


दैजी–छेला औद्योगिक क्षेत्र : दशकअघिको सपना, उत्साहसँगै चिन्ता

शिलान्यासको दुई वर्षपछि औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय
दैजी–छेला औद्योगिक क्षेत्र : दशकअघिको सपना, उत्साहसँगै चिन्ता

शिलान्यास भएको करिब दुई वर्ष पछि औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय खुलेको हो। तस्बिर : गोकुल जाेशी/नेपालखबर।


गोकुल जोशी
फागुन ९, २०७९ मंगलबार ९:४१, कञ्चनपुर

कञ्चनपुरको बेदकोट नगरपालिका–२ मा शिलान्यास गरिएको दैजी–छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय स्थापना भएको छ। सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालयको उद्घाटन गरेका छन्।

शिलान्यास भएको करिब दुई वर्ष पछि औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय खुलेको हो। वि.सं. २०७७ फागुन १० गते नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए।

शिलान्यास भएको दुई वर्ष पछि नेकपा एमाले सुदूरपश्चिमका अध्यक्ष समेत रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्।

औद्योगिक क्षेत्रको शिलान्यास गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली।

उत्साहसँगै चिन्ता
दशकअघिदेखि औद्योगिक क्षेत्र बन्ने आश्वासनमा रहेका यस क्षेत्रका जनता उत्साहसँगै औद्योगिक क्षेत्र बन्ने÷नबन्नेमा चिन्तित पनि छन्।

बेला बेलामा राजनीतिक लाभका लागि औद्योगिक क्षेत्रलाई चर्चामा ल्याउने गरिएको स्थानीयहरू बताउँछन्। 

‘औद्योगिक क्षेत्र बन्छ भनेर सुनेको दशक नै भइसक्यो, काम कछुवा गतिमा छ,’ स्थानीय बीरमान चौधरीले भने, ‘यसबीचमा उच्चपदस्थ नेताहरुले अनुगमन, शिलान्यास गरे, तर अझै काम अगाडि बढेको छैन।’

आर्थिक रुपले विपन्न र मुक्त कमैयाको बसोवास रहेको औद्योगिक क्षेत्र विस्तार क्षेत्रमा उद्योग सञ्चालनमा आएमा स्थानीय स्तरमै रोजगारीदेखि गाउँको मुहार नै फेरिने उनले बताए। 

‘उद्योग सञ्चालनमा आएपछि हामीले रोजगारीका लागि विदेशिनु पर्ने बाध्यताको अन्त्य पनि हुनेछ,’ उनले भने, ‘अब निर्माण कार्य तीव्र गतिमा कार्यान्वयन गर्दै लैजानुपर्छ।’

विसं २०५२ मा बेदकोट नगरपालिकास्थित दैजीछेला औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा भए निर्माण हुन सकेको छैन। 

‘मन्त्रीज्यूले अहिले ५/६ दिनमा जुन गतिमा काम गर्नुभयो, यसले हामीलाई खुसी बनाएको छ,’ उद्योग, वाणिज्य संघ बेदकोटका अध्यक्ष शंकर चन्दले भने, ‘यसले निरन्तरता पाउनुपर्छ, अब भोगाधिकारको लिएर चाडो निर्माणको काम अगाडि बढ्नुपर्छ।’

आपूर्तिमन्त्री भण्डारीले गत शुक्रबार औद्योगिक क्षेत्रको निरीक्षण तथा दैजीमा अन्तरक्रिया गरेका थिए। सोमबार नै उनले औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्।

प्रावधिक समस्याले औद्योगिक क्षेत्रको काम लम्बिन सक्ने हुनाले यसप्रति सचेत रहेर काम गर्नुपर्ने बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले बताए। 

औद्योगिक क्षेत्र स्थापना भएपछि यस क्षेत्रका स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ पाउने उनले बताए। ‘रोजगारीका प्रशस्त सम्भावनाहरु छन्, सुदूरपश्चिमको विकासका लागि औद्योगिक क्षेत्र बन्न आवश्यक छ,’ उनले भने।

औद्योगिक क्षेत्रको लागि प्रस्तावित स्थानको रुखहरुको छपान तथा नम्बरिङ्ग, नापजाँच कार्य छिटो सम्पन्न गरी वन प्रयोग तथा रुख कटान अनुमति प्रदान गरिनु पर्ने उनले बताए।

‘कार्यालय उद्घाटन गरेर यस क्षेत्रका जनतालाई खुसी पार्न मात्रै होइन, मन्त्री ज्यू कार्य सम्पन्न गर्नका लागि आउनु भएको छ,’ बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले भने, ‘उहाँको कार्यकालमा बिशेष काम हुने विश्वास लिएका छौँ।’

औद्योगिक क्षेत्रको लागि लाग्ने वन क्षेत्र प्रयोग बापत शूल्क, रुख कटानको लागि बजेटका साथै पूर्वाधार निर्माणको लागि सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नु पर्ने माग छ।

सरकारले घोषणा गरेको १४ वर्षपछि २०६६ सालमा जिल्ला वन कार्यालयले आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो। वि.सं. २०७२ साल चैत्र १ गते मन्त्रिपरिषद्ले बेदकोट सामुदायिक र जनचेतना सामुदायिक वनको ९०० बिघा जग्गा औद्योगिक क्षेत्रका लागि दिने निर्णय भएको थियो।

औद्योगिक क्षेत्रको प्रस्तावित क्षेत्रफलमध्ये ३५४.८७ विगाह क्षेत्रफलमा विस्तृत अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन तयार पारिएको छ। वातारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले ०७७ साउन १८ गते स्वीकृत गरेको थियो।
यस्तो बन्छ औद्योगिक क्षेत्र

३५४.८७ विगाहा क्षेत्रफलमा स्थापना गरिने औद्योगिक क्षेत्रमा औद्योगिक प्लटहरू ३२.८८ प्रतिशत रहनेछन्। सडक १६.४७ प्रतिशत रहने छ। औद्योगिक क्षेत्रमा मध्यवर्ती क्षेत्र २३.१ प्रतिशत र वन कार्यालय क्षेत्र २.१६ रहने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ।

प्रशासकीय तथा सेवा क्षेत्र १.५४, हेलिप्याड, पेट्रोल पम्प, भारी र साधारण सवारी साधनहरुको पार्किङ २.५३, सशस्त्र सुरक्षा बलका लागि ३.३६, आवसिय क्षेत्रका लागि ३.९०, विद्युतीय सबस्टेशनका लागि २.१५ र जलीय क्षेत्र लगायत अन्य क्षेत्रका लागि ११.९१ प्रतिशत रहने छ।
औद्योगिक क्षेत्रको लगानी ९ अर्ब अनुमान गरिएको छ। त्यहाँ २३ साना उद्योग, ४४ मझौला उद्योग र ३३ वटा ठूला उद्योग रहनेछन्।

साना उद्योगका लागि ८ देखि १० कठ्ठा, मझोलाका लागि १० देखि २० र ठूला उद्योगका लागि १ विघादेखि ५ विघा क्षेत्रफल छुट्याइएको छ। यहाँ कृषि, खनिज र विद्युतजन्य उद्योगहरु स्थापना हुनेछन्।

औद्योगिक क्षेत्र स्थापना भएमा करिब २२ हजार मानिसले प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी पाउने छन्।

के हुँदै छ?
औद्योगिक क्षेत्र वन क्षेत्रको जग्गामा स्थापना गर्नुपर्ने भएकाले वन क्षेत्रको जग्गा प्रयोगका लागि प्रक्रिया सुरु भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ।

यसभित्र पर्ने रुखहरूको छपान, नम्बरिङ र नापजाँच गर्ने कार्य डिभिजन वन कार्यालय कञ्चनपुरले गरिरहेको छ। 

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार औद्योगिक क्षेत्रमा २५ हजार ९७८ पोल तथा रुखहरू छन्। 

के भन्छन् मन्त्री?
मन्त्री भण्डारीले औद्योगिक क्षेत्रको विकास पश्चिमबाट सुरुवात गरिने बताएका छन्। औद्योगिक क्षेत्रको विकासविना समृद्धिको यात्रा अगाडि बढ्न नसक्ने बताए। 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी।

दैजी छेला औद्योगिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्नका लागि कार्यालय स्थापना गरिएको उनले बताए।

‘औद्योगिक क्षेत्रको काम गर्नका लागि कार्यालय खोलिएको छ, कैलालीको हरैया बिशेष आर्थिक क्षेत्र र लुम्बिनीको नौवस्ता औद्योगिक क्षेत्र बन्दैछ,’ उनले भने, ‘अब औद्योगिक विकास पश्चिम (दैजी) बाट सुरु भएर पूर्व जाने छ।’

औद्योगिक क्षेत्रको जमिन भोगाधिकारका लागि केही दिनमै यो प्रस्ताव क्याबिनेटमा लैजाने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .