राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी जीवन बुडालको रहस्यमय मृत्यु घटनाको अनुसन्धानका लागि प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।
हत्या आशंकामा पीडित परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
बुडालसँगै पिकनिक मनाउन गएका उनका इष्टमित्र र साथीहरु सहित १२ जनाविरुद्ध श्रीमती अनिशा कुलुमले किटानी जाहेरी दिएकी छन्।
कर्तव्य ज्यान मुद्दा अन्तर्गत किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए।
किटानी जाहेरीपछि अनुसन्धानका लागि बुडालसँगै पिकनिक मनाउन गएका १२ जनालाई नियन्त्रणमा लिइएको उनले बताए।
शनिबार इष्टमित्र र साथीहरुसँग पिकनिक मनाउन गएका दशरथचन्द नगरपालिका–१० का बुडाल राति दोगडाकेदार गाउँपालिका–४ जाडबगरस्थित चौलानी नदीमा मृत भेटिएका थिए।
उनी राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदमा बझाङमा कार्यरत थिए। घर विदामा आएको बेला पिकनिक मनाउन गएका बुडाल शनिबार राति नदीमा मृत भेटिएका थिए।
जिल्ला अस्पताल बैतडीमा शवको पोष्टमार्टम गरिएको छ।
प्रतिक्रिया