ad ad

सुदूरपश्चिम


खरिदारबाट उक्लिँदै सुदूरपश्चिमको पहिलो महिला सीडीओ बनेकी किरण

पतिपछि पत्नीको काँधमा जोखिमपूर्ण जिल्ला दार्चुलाको जिम्मेवारी
खरिदारबाट उक्लिँदै सुदूरपश्चिमको पहिलो महिला सीडीओ बनेकी किरण

सीडीओ किरण जोशी


गोकुल जोशी
चैत १२, २०७९ आइतबार ८:०, कञ्चनपुर

प्रशासनिक नेतृत्वमा पुरुषको तुलनामा महिलाको संख्या थोरै छ। सुदूरपश्चिमबाट प्रशासनिक नेतृत्वमा महिलाको उपस्थिति झनै कमजोर छ। प्रदेशका नौ जिल्लामध्ये एउटामा पनि प्रमुख जिल्ला अधिकारी (सीडीओ) महिला थिएनन्। 

यसपटक भने दार्चुला प्रशासनले सीडीओमा महिला पाएको छ। बझाङको दुर्गाथली गाउँपालिका–४ की किरण जोशी त्यहाँको सीडीओ बनेकी हुन्। 

उनी सुदूरपश्चिमबाट महिलाको प्रतिनिधित्व गर्ने पहिलो सीडीओ हुन्। गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्था विभागमा कार्यरत जोशीलाई मन्त्रालयले दार्चुलाको सीडीओको जिम्मेवारी दिएको हो। 

सुदूरपश्चिमको पहिलो महिला सीडीओ बनेपछि जोशीलाई अहिले बधाई थाप्न भ्याइनभ्याइ छ। टेलिफोन, सामाजिक सञ्जाल र भेटेरै उनलाई शुभचिन्तक, इष्टमित्रहरूले बधाई दिइरहेका छन्।

भारत र चीनसँग सीमा जोडिएको चुनौतीपूर्ण जिल्ला दार्चुलाको प्रशासनिक नेतृत्व पहिलोपटक महिलाले हाँक्दै छिन्।

दार्चुलामा बारम्बार नेपाल र भारतबीच सीमा विवाद भइरहेको छ। भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा समेटिएको यो क्षेत्रलाई चासोका साथ हेर्ने गरिन्छ।

खरिदारदेखि उपसचिव
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा जन्मिएकी जोशी खरिदार पदबाट सरकारी सेवामा प्रवेश गरेकी थिइन्। 

उनले २०४८ सालमा महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी थिइन्।

वि.सं. २०६१ मा खरिदार बनेकी जोशीले ०६२ सालमा नायब सुब्बामा नाम निकालेकी थिइन्। 

त्यसपछि २०६७ सालमा शाखा अधिकृत बनेकी उनले ०७७ मा उपसचिव खुलातर्फ नाम निकालिन्।

खुलातर्फबाट उपसचिव बन्ने जोशी सुदूरपश्चिमकी पहिलो महिला हुन। उपसचिव बनेपछि उनी डोटीको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा खटिएकी थिइन्।

त्यहाँ केही महिना निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि सम्हालेको अनुभव जोशीसँग छ। सरकारी सेवामा प्रवेश गर्नुपूर्व जोशी शिक्षण पेसामा थिइन्। 

महिलालाई चुलाचौकामा सीमित राख्ने परम्परा तोड्न जोशी सफल भएकी हुन्। घरपरिवारको साथ र श्रीमान्‌को प्रेरणाले सरकारी सेवामा प्रवेश गरेको उनी बताउँछिन्। 

‘घरपरिवारको पूर्ण साथ रह्यो, पढेलेखेको मानिस घर बस्नु हुँदैन भनेर परिवारले ऊर्जा दिन्थे’, उनले भनिन्, ‘श्रीमान्को प्रेरणाले सेवा प्रवेश गरेपछि सीडीओ बन्नु मेरो ड्रिम (सपना) थियो, घरपरिवारको साथ र दृढ इच्छा–शक्तिले सफलता मिलेको छ।’

दम्पती नै सीडीओ
सीडीओको जिम्मेवारीसहित दार्चुला खटिएकी जोशीका श्रीमान् पनि निजामती सेवामै छन्। 

श्रीमान् सिद्धराज जोशी अहिले सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयमा कार्यरत छन्। उनी यसअघि दार्चुला र बैतडीमा सीडीओ थिए।

श्रीमान्‌ले प्रशासन हाँकेको दार्चुलामै श्रीमती किरण पनि सीडीओका रूपमा खटिएकी छन्। 

श्रीमान् सिद्धराजका साथमा किरण जोशी

बझाङको दुर्गाथली–४ का जोशी ०५६ सालमा नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका थिए। उनी ०६२ सालमा शाखा अधिकृत बने। 

वि.सं. २०७३ मा खुलातर्फबाट उपसचिवमा नाम निकालेपछि जोशीले दार्चुला र बैतडी प्रशासनको नेतृत्व सम्हालेका थिए।

किरण र सिद्धराज २०५४ सालमा वैवाहिक बन्धनमा बाँधिएका थिए। उनीहरूका दुई छोराछोरी छन्।

‘आमाबुवाको साथले हामीहरू सफल भएका छौँ, उहाँहरूले पढाइको वातावरण बनाइदिनुभयो’, सिद्धराज जोशीले भने।

सीडीओका रूपमा आफ्नै क्षेत्रमा काम गर्ने मौका पाउँदा आफू निकै खुसी रहेको किरण बताउँछिन्। 

‘आफ्नो गाउँठाउँको सेवा गर्न पाइएको छ, यो क्षेत्रका बारेमा म परिचित छु’, उनले भनिन्, ‘आफ्नो अनुभव र क्षमताले भ्याएसम्म प्रशासनिक सेवा चुस्त बनाउँछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .