ad ad

सुदूरपश्चिम


विश्वासको मत पाउनेमा ढुक्क सोडारी, कांग्रेस भन्छ- आज ट्रेलर देखायौँ, भोलि फिल्म देखाउँछौँ

विश्वासको मत पाउनेमा ढुक्क सोडारी, कांग्रेस भन्छ- आज ट्रेलर देखायौँ, भोलि फिल्म देखाउँछौँ

गोकुल जोशी
जेठ २, २०८१ बुधबार २१:४०, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिहीबार विश्वासको मत लिँदैछन्। विश्वासको मत प्रयोजनका लागि बिहीबार बिहान १०ः१५ मा सुदूरपश्चिम प्रदेश सभा बैठक बोलाइएको छ।

६ वैशाखमा मुख्यमन्त्रीमा दाबी पेश गर्दा समर्थन गर्ने दल र सांसदहरु विश्वासको मत दिन तयार भएकाले मुख्यमन्त्री सोडारी ढुक्क देखिएका छन्। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ।

नेकपा एमाले ११, नेकपा माओवादी केन्द्र १०, नेकपा एकीकृत समाजवादी ४, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता पक्षीय २ सांसद र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीसहित २८ मत पाउने सोडारीको अपेक्षा छ।

‘समर्थन गर्ने दलहरु विश्वासको मत दिन तयार छन्। मुख्यमन्त्रीज्यूले विश्वासको मत पाउनुहुन्छ,’ नेकपा एकीकृत समाजवादी संसदीय दलका उपनेता प्रकाश रावलले भने।

मुख्यमन्त्रीमा दाबी गर्दादेखि नै सोडारीलाई अड्को थापिरहेको नेकपा एमाले पनि विश्वासको मत दिनका लागि तयार छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत दिन निर्देशन दिएपछि एमालेले बुधबार संसदीय दलको बैठक बसेर सोडारीलाई विश्वासको मत दिने निर्णय नै गरेको छ।

तर एमालेले तत्काल सरकारमा सामेल नहुने बताएको छ। यसअघि वैशाख २१ र २२ गते विश्वासको मत लिने जमर्को गरेका मुख्यमन्त्री सोडारीले एमालेको अडानले विश्वासको मत लिन सकेका थिएनन्।

‘अहिलेसम्म समर्थन गर्ने सबैले विश्वासको मत दिन्छौँ नै भनेका छन्। भोलिसम्म के हुन्छ, केही थाहा छैन,’ एक मन्त्री भन्छन्।

नागरिक उन्मुक्ति पार्टीको रञ्जिता पक्षीय सांसदद्धय कैलाश चौधरी र टीका थापा सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री छन्। नाउपाभित्र रेशम र रञ्जिताको विवादले भाँडभैलो छ।

रेशमको बाहुल्यता रहेको संसदीय दलका प्रमुख सचेतक खुसीराम डगौँराले सरकारमा सामेल आफ्ना दुवै सांसदलाई विपक्षमा मतदान गर्न ह्वीप लगाएको छ। दुवै सांसदलाई छुट्टाछुट्टै पत्र लेखेर विपक्षमा मतदान गर्न निर्देशन दिएपनि उनीहरु त्यो निर्देशनलाई मान्ने पक्षमा छैनन्।

सोडारी नेतृत्वको सरकार इतर पक्षमा अहिले नेपाली कांग्रेसका १८, नाउपाको रेशम पक्षीय ५ सांसद र राप्रपाका १ सांसद छन्। नेपाली कांग्रेसले सोडारी नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै कडा प्रतिवाद गर्ने र बिहीबारको प्रदेश सभा बैठक अवरुद्ध गर्नेसम्मको तयारी गरेको छ।

सर्वोच्च अदालतमा सोडारीविरुद्धको मुद्दा विचारधीन रहेको अवस्थामा विश्वासको मत लिने विषय थप त्रुटिपूर्ण हुने र त्यसको विरोधमा उत्रिने नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक बिक्रम धामीले जानकारी दिए।

‘मुद्दामा भोलि सुनुवाइ तोकिएको छ। बिहान १०ः१५ मा विश्वासको मत लिँदै हुनुहुन्छ। इतिहासमै नभएको यस्तो कार्यले षड्यन्त्रको गन्ध आइरहेको छ,’ उनले भने, ‘त्यसैले हामी यसको प्रतिवाद गर्छौँ।’

यसअघिका मुख्यमन्त्रीका दाबेदार नाउपाका लक्ष्मणकिशोर चौधरी सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको भन्दै प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री सोडारीविरुद्ध  अदालत गएका छन्।

कांग्रेसले संसद अवरुद्धदेखि बहिष्कारसम्मको तयारी गरेको छ। बिहीबार बिहान ८  बजे बस्ने संसदीय दलको बैठकले कुन रुपमा प्रस्तुत हुने विषयमा आधिकारिक निर्णय गर्ने प्रमुख सचेतक धामीले बताए।

‘मुद्दा विचारधीन रहेको समयमा विश्वासको मतका लागि बोलाइएको बैठकमा हाम्रो आपत्ति हो। आज हामीले कार्यव्यवस्था परामर्श समितिको बैठक बहिष्कार गर्‍यौँ,’ उनले भने, ‘यो ट्रेलर मात्रै हो। फिल्म भोलि देखाइन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .