ad ad

सुदूरपश्चिम


सुदूरपश्चिममा भाग पुर्‍याउन मन्त्रालय फुटाउने तयारी, मुख्यमन्त्री सोडारी काठमाडौंमा

सुदूरपश्चिममा भाग पुर्‍याउन मन्त्रालय फुटाउने तयारी, मुख्यमन्त्री सोडारी काठमाडौंमा

फाइल फोटो


गोकुल जोशी
जेठ ८, २०८१ मंगलबार २१:४५, कञ्चनपुर

सत्ता गठबन्धन उलटफेरपछि सुदूरपश्चिममा नयाँ सत्तागठबन्धनको नेतृत्वमा सरकार बनेको एक महिना पूरा भएको छ। तर अझैसम्म पनि सरकार विस्तार हुन सकेको छैन।

६ वैशाखमा सत्ता घटक नेकपा एकीकृत समाजवादी संसदीय दल नेता दीर्घबहादुर सोडारी संविधानको धारा १६८ को उपधारा २ बमोजिम सत्ता गठबन्धनमा आबद्ध दलहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भए।

त्यसैदिन मुख्यमन्त्री सोडारीले नागरिक उन्मुक्ति पार्टीको रञ्जिता पक्षका कैलाश चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिए। त्यसपछि १८ वैशाखमा नाउपाको रञ्जिता पक्षकै टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरे।

जेठ ३ मा मुख्यमन्त्री सोडारीले प्रतिपक्षी नेपाली कांग्रेस र नाउपाके रेशम पक्षको अवरोधकैबीच विश्वासको मत लिए। विश्वासको मत लिएको हप्ता दिन बित्नै लाग्दा पनि अझैसम्म मुख्यमन्त्री सोडारीले सरकार विस्तार गर्न नसकेका हुन।

सोडारीलाई नेकपा एकीकृत समाजवादीका ४, नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्रका १०, नाउपाको रञ्जिता पक्षका २ र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीसहित २८ जनाको मत पाएका थिए।

उनीहरुलाई सरकारमा भाग पुर्‍याउन मुख्यमन्त्री सोडारीलाई सकस छ। सुदूरपश्चिममा अहिले ४ पूर्ण र ३ राज्य मन्त्रालय रिक्त छन्।

आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय खाली छ।

समर्थन गर्ने दल र स्वतन्त्र सांसदको नजर पूर्ण मन्त्रालयतिर छ। नेकपा माओवादी केन्द्रले सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा दाबी गरेको छ।

विश्वासको मत दिएको नेकपा एमालेले तत्काल सरकारमा सामेल नहुने निर्णय गरेको छ। सरकारमा जाने अवस्था आए आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा दाबी गर्ने उसले आन्तरिक छलफल चलाइरहेको छ।

यस्तो अवस्थामा विश्वासको मत दिएका स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीको समेत व्यवस्थापन गर्न मन्त्रालय फुटाउने तयारी समेत सोडारीले गरेका छन्।

विश्वासको मत दिने दल तथा स्वतन्त्र सांसदबीच भागबण्डाका विषय टुंगो नलाग्दा सरकार विस्तारमा ढिलाइ भइरहेको नेकपा एकीकृत समाजवादीका एक नेताले बताए।

‘दाबी गर्ने धेरै भए। अहिलेकै अवस्थामा सबैलाई समेट्न गाह्रो छ,’ ती नेताले भने, ‘त्यसैले एउटा मन्त्रालय फुटाएर सबैलाई मिलाएर अघि बढ्छौँ।’

उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालय फुटाउने विषयमा प्रदेशस्तरमा दलहरुबीच समझदारी बनिसकेको छ। यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक र भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउन छलफल चलेको थियो।

मुख्यमन्त्री सोडारी शीर्ष नेतृत्वसँग भागबण्डाको विषयमा छलफल गर्न मंगलबार संघीय राजधानी काठमाडौँ गएका छन्। गठबन्धनमा छलफलपछि केन्द्रको निर्देशन अनुसार सरकार विस्तार हुने नेताहरु बताउँछन्।

सरकार विस्तारको तयारीसँगै मन्त्री बन्ने आकांक्षी पनि दौडधूपमा छन्। नेकपा माओवादी केन्द्रबाट संसदीय दल नेता मानबहादुर धामी, ओम विक्रम भाट, शिवसिंह ओली, अक्कलबहादुर रावल, झपड साउद र रमेश धामी मन्त्रीका आकांक्षी हुन्।

यस्तै, नेकपा एमालेबाट दमनबहादुर भण्डारी, सुरेन्द्र पाल, वीरबहादुर थापा र  धर्मराज पाठक प्रमुख दाबेदारका रूपमा हेरिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .