बिजुली चिम सजाएर राखिएका छन्। नजिकै केही युवा उपकरण जडान गरेर चिम तयार गरिरहेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-३, शान्ति टोलका १८ वर्षीय अमृत नेपाली पनि त्यसमै व्यस्त भेटिए।
उनी स्थानीय नोबेल स्कुलमा कक्षा १२ मा होटल म्यानेजमेन्ट अध्ययनरत छन्। बिहान स्कुल जान्छन्। फर्केपछि उनी चिम तयार गर्ने काममा जुट्छन्।
पढाइसँगै गाउँमै चिम तयार गर्ने काम गरेर नेपालीले गतिलो आम्दानी गरिरहेका हुन्। सोही कामबाट आउने रकमले पढाइ खर्चका साथै परिवारका लागि समेत जुटाइरहेका छन्। उनले दुई वर्षदेखि चिम बनाउने काम गरिरहेका हुन्।
‘स्कुल पढ्दा पढ्दै गाउँमै विद्यालयको समयबाहेक फुर्सदको समयमा काम गरिन्छ। राम्रो आम्दानी हुन्छ, परिवारको घरखर्च र पढाइ खर्च जोहो हुन्छ,’ नेपाली भन्छन्, ‘चिम तयार गर्ने काम यतै सिकेको हो। यसले अहिले निकै राहत गरेको छ। आर्थिक अभाव झेल्नु परेको छैन।’
नेपाली मात्रै होइन, उनीसँगै अध्ययन गर्ने अन्य तीन जना पनि चिम तयार गर्ने काम गरिरहेका छन्।

यो अवसर जुटाइदिएका हुन्- दोधारा चाँदनी नगरपालिका-३ कै २३ वर्षीय गजेन्द्र भट्टले।
इलेक्ट्रिकल इलेक्ट्रोनिक्स ओभरसियर गरेका उनले २०७६ सालमा चिम बनाउने उद्यम सुरु गरेका हुन्।
गजेन्द्र सानैदेखि बिग्रेका इलेक्ट्रिकल उपकरण बनाउन रुचाउँथे। त्यसैले बुटवलमा बसेर त्यहीसम्बन्धी पढाइ पनि अघि बढाए।
कोरोना महामारीका बेला लकडाउनले पढाइ बन्द भएपछि उनी घर फर्किए।
फुर्सदिलो समयमा उनले गाउँमा बिग्रेका एलईडी बल्ब, टर्चलगायत संकलन गरे। अनि युट्युबमा भिडिओ हेर्दै बिग्रिएका उपकरण बनाउन सिके। अन्तत: उनले गाउँमा त्यसको उद्यम नै सुरु गर्ने सोच बनाए।
‘पढाइभन्दा पनि मैले धेरै कुरा युट्युबबाट सिकेँ। सुरुमा बिग्रिएका बल्ब एक/दुई रुपैयाँमा किनेर बनाउँथेँ,’ गजेन्द्र भन्छन्, ‘त्यसपछि व्यावसायिक रूपमा यसतर्फ लागेँ।’
उनका अनुसार सुरुमा ३२ हजार रुपैयाँ लगानीमा उपकरण मगाएर चिम तयार गरिएको थियो।
भारत र चीनबाट चिमका उपकरण ल्याएर जडान गर्ने र चिम तयार पार्ने गरिएको गजेन्द्र सुनाउँछन्।
जीबी आइडल ग्रुप नाम दिइएको गजेन्द्रको उद्योगमा उत्पादित चिम दोधारा चाँदनीमा मात्रै खपत भइरहेका छैनन्, काठमाडौँसम्म पुगेका छन्।
गुणस्तरीय र सुपथ मूल्य भएकाले उत्पादन कञ्चनपुरसहित बैतडी, डोटी र काठमाडौँसम्म पुग्ने गरेको गजेन्द्र बताउँछन्।
विभिन्न क्षमताका एलईडी चिम उत्पादन गर्ने गरिन्छ। दैनिक ५ सय चिम बनाउने गरिएको जानकारी उनले दिए।
‘यहाँका मान्छे चिम ल्याउन भारत जान्थे। भारतबाट चिम नल्याएर अहिले यहीँको उत्पादन प्रयोग गरिरहेका छन्’, गजेन्द्र भन्छन्, ‘स्थानीय र सरकारले राम्रो सहयोग गरेको छ।’
उनका अनुसार दोधारा चाँदनी नगरपालिका १० वटै वडामा जडान गरिने ‘स्ट्रिट लाइट’ उत्पादनको जिम्मा दिइएको छ।
सोबापत नगरपालिकाले ३०/४० लाखको ठेक्का दिएर उद्यममा ठूलो सहायता गरेको गजेन्द्र बताउँछन्।
गजेन्द्रले चिमको बजारीकरणका लागि दुई युवालाई बजार व्यवस्थापनको काममा राखेका छन्। उपकरण जडान गरेर चिम बनाउने काममा गाउँकै ४ जना युवालाई आबद्ध गरेका छन्।
एक चिम तयार गरेबापत १० रुपैयाँ पाउने गरेको दोधारा चाँदनी-३ जमुनाघाडीका प्रवीणसिंह विष्टले बताए।
‘यहीँ आएर चिम बनाउने काम सिकेँ। अहिले पढाइसँगै कमाइ पनि भइरहेको छ’, उनले भने, ‘घरखर्च जोहो गर्न सहज भएको छ।’
Shares

प्रतिक्रिया