कञ्चनपुर महेन्द्रनगरको मदनचोकमा गाडी र मानिसको चहलपहल छ। चोकनजिकै सडकपेटीमा केही मानिस बसेका छन्। उनीहरूसँग सियो, धागो, कैचीँलगायत सामान छन्।
कोही फाटेका जुत्ता, चप्पल सिउँदै छन् त कोही ग्राहकको पर्खाइमा।
कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका ५६ वर्षीय राजु सार्कीले २० वर्ष मदनचोकमै कटाए, जुत्ता-चप्पल सिउँदै।

बिहान सबेरैदेखि जुट्ने उनी बेलुका अबेरसम्म काममा हुन्छन्। घरबाट साइकलमा आउँछन्, दिनभर जुत्ता-चप्पल सिएर बेलुकी फर्कन्छन्। त्यहीँबाट कमाएको पैसाले जेनतेन घरखर्च चलाइरहेकाका छन्, उनले।
‘हामीलाई बस्ने ठाउँ पनि छैन। चर्को घाम र वर्षा पनि खुला आकाशमा सडकपेटीमा बस्नुपर्छ’, उनले भने, ‘सरकारले हामीलाई काम गर्न बस्नका लागि ओत लाग्ने ठाउँ दिए राम्रो हुन्थ्यो।’
राजु मोचीको काम गर्नुअघि भारतमा होटलमा काम गर्थे। होटलमा काम गर्न छोडेर २० वर्षअघि उनले आफ्नो सीपअनुसार स्वदेशमै यो काम थालेका हुन्।
उनका २ छोरा र १ छोरी छन्। एक छोरा र छोरी स्नातक पढिरहेका छन्, अर्का छोरा कक्षा १२ मा पढ्छन्।

छोराछोरीको पढाइ, घरायसी खर्चलगायतको जोहो राजुले नै गर्नुपर्छ। उनको परिवार ५ जनाको छ। ५ कट्ठा जमिन छ।
‘परिवारमा कमाउने अरू कोही छैनन्। खानलाई रासन पनि पुग्दैन’, राजु भन्छन्, ‘मासिक १५ हजारसम्म खर्च हुन्छ।’
उनले हालसालै ६ कोठाको पक्की घर बनाएका छन्। घर बनाउँदा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले उनलाई पिरोलिरहन्छ।
‘कमाइको स्रोत यही एउटा काम हो। बस्नलाई घर पनि नहुनाले यसलाई ऋण काढेर घर लगाइएको छ’, उनले भने, ‘यो कमाइले १० लाख ऋण कहिले तिर्न सकिएला?’

लगानीको अभावमा जुत्ता बनाउन नसकेको उनी बताउँछन्।
‘लगानी भए आफैँ जुत्ता बनाउथेँ। तर हामीसँग लगानी नै भएन, के गर्नु? फाटेका जुत्ता-चप्पल सिउँदै छु’, उनले भने, ‘कुनै दिन एक हजारसम्म कमाइ हुन्छ। कुनै दिन चिया पिउने पैसा पनि हुँदैन। त्यसै दिन बिताउनुपर्छ।’
भीमदत्त नगरपालिका-१२ का ६० वर्षीय मोहन सार्की पनि थोत्रा जुत्ता-चप्पल सिलाउने काम गर्छन्। उनका बुवा, बाजे जुत्ता बनाउने काम गर्थे। यसैले मोहनले पनि यो काम अँगालेका हुन्।

उनले जुत्ता-चप्पल सिउने काममा आधा उमेर बिताए।
‘जानेको काम यति छ। खर्च व्यवस्थापन गर्न धौधौ छ’, उनले भने, ‘नुनतेल, सागपातको जोहो यसबाट भएको छ।’
उनको जमिन छैन। बस्नलाई घर मात्रै हो। अधियाँ बनाएर खाद्यन्नको जोहो गर्ने गरेको सार्की बताउँछन्।

उनका ३ छोरी र एक छोरा छन्। १९ वर्षीय छोरा कक्षा १२ मा अध्ययन गर्छन्।
‘छोरोको पढाइ खर्च जोहो गर्न गाह्रो छ। ब्याजमा ऋण काढेर कसरी पढाउनु’, उनी भन्छन्, ‘यही कमाइले ब्याज पनि तिरिँदैन।’
पैसा बचत नहुँदा बिरामी परेको बेला ऋण काढेर उपचार गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्।

Shares

प्रतिक्रिया