पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ मा पर्छ– वनहरा पुल। केही सातायता राजमार्गको वनहरा पुल क्षेत्रको दृश्य फेरिएको छ।
अरू बेला शान्त रहने यो क्षेत्र अहिले गुलजार बनेको छ। राजमार्गमा लहरै टहरा राखिएका छन्। अनि टहरामुनि तर्बुजा (खर्बुजा) राखेर कोही ग्राहक कुरिरहेका छन् त कोही बिक्रीमा व्यस्त।
राजमार्गमा ‘तर्बुजा मेला’ लागेजस्तै दृश्य देखिन्छ। कृष्णपुर नगरपालिका–२ वनहराकी ५० वर्षीया लिलावती बडायकलाई राजमार्ग छेउमा तर्बुजा बिक्री गर्न थालेको दशक बितिसक्यो।

उनी अनडैयाबाट आरक्ष विस्तारका क्रममा विस्थापन भइन्। आफू बसिरहेको थातथलोबाट विस्थापित भएपछि बस्न र खेतीपातीका लागि जमिन भएन। त्यसपछि वनहरा नदीको बगरमा तर्बुजा खेती गरेर जीविकोपर्जन गरिरहेकी छिन् उनी।
‘आरक्ष विस्थापित कसैले जमिन पाए, कसैले पाएनन्, मैलेँ जमिन नपाएपछि बस्न खानलाई केही थिएन’, उनी भन्छिन्, ‘यो सिजनमा बगरमा तर्बुजा खेती गर्छु, अरू बेला मजदुरी, अधियाँ गरेर घरखर्च चलेको छ।’
वनहराकै प्रकाश चौधरी पनि अचेल राजमार्गमा तर्बुजा बिक्री गरिरहेका भेटिन्छन्। उनलाई तर्बुजा बेच्न भ्याइनभ्याइ छ। उनले वनहरा नदीको बगरमा १० कठ्ठा क्षेत्रमा तर्बुजा खेती गरेका छन्।

‘चैत अन्तिमदेखि बेच्न सुरु गरेको हो। अहिलेसम्म ८० हजार भन्दा बढीको बिक्री गरेँ’, उनले भने, ‘दैनिक ४/५ हजारसम्मको बिक्री हुने गरेको छ।’
प्रकाशको परिवार नै बगरमा तर्बुजा खेती गर्नमा खटिने गरेका छन्। उनको ६ जनाको परिवार छ।
वनहरा पुल क्षेत्रमा तर्बुजा बेचेर जीविकोपार्जन गर्नेहरूमा अधिकांश मुक्त कमैया र आरक्ष पीडित छन्। वनहराको बगरमा १५० भन्दा बढीले खेती गरेका छन्। वनहरा नदीको बगरमा उनीहरूले तर्बुजा लगायत तरकारी खेती गर्ने गर्छन्।

वनहराकै २२ वर्षीया सीता चौधरीले १५ कट्ठा बगर क्षेत्रमा तर्बुजा लगायत तरकारी खेती गरेकी छन्। यस्तै, १५ कट्ठा जमिन लिजमा लिएर त्यहाँ पनि खेती गरेकी छन्।
बिहान बगरबाट तर्बुजा टिपेर दिनभर राजमार्ग छेउमा बिक्रीका लागि बस्छिन् उनी। दैनिक १२ हजारको तरकारी बिक्री भइरहेको उनले बताइन्। ‘सबै खर्च कटाएर सिजनमा ५ लाख बचत हुन्छ,’ उनले भनिन्।
चैत अन्तिम सातादेखि जेठसम्म तर्बुजा बिक्री गर्ने गरेको उनीहरू बताउँछन्। ‘सुरुमा भारतीयहरूले बगरमा खेती गर्थे, उनीहरूबाटै हामीहरूले पनि बगरमा तरकारी खेती गर्न सिकेका हौँ’, उनी भन्छिन्, ‘अहिले बगरमा भारतीय छैनन्।’

सुरुमा घरमै खानलाई मात्रै तर्बुजाको खेती गर्थे, उनीहरू। आम्दानी राम्रो हुन थालेपछि १२ वर्षयता तर्बुजाको व्यावसायिक खेती गरिरहेको सीता सुनाउँछिन्।
छोराछोरीको विद्यालयको खर्चलगायत खाद्यान्न खरिद गर्न तर्बुजा बिक्री गरेको पैसाबाटै जोहो गर्ने गरेको उनले बताइन्। मल, बीउबिजन गरेर ३०/४० हजार रुपैयाँ तर्बुजा खेतीमा लगानी लाग्ने गरेको उनको भनाई छ।
माघदेखि बगरमा तर्बुजा खेतीका लागि तयारी थालिन्छ। चैत अन्तिम साता तयार भएपछि तर्बुजा बिक्रीका लागि बजारमा ल्याउने गरिन्छ।

तर्बुजाप्रति केजी रु. २५ देखि ४० रुपैयाँसम्म बिक्री गर्ने गरिएको छ। बेला बेलामा वनहरामा आउने बाढीले खेतीमा नोक्सानी गर्ने गरेको किसानको गुनासो छ। वनहराको बगरमा तर्बुजा खेती गर्ने उनीहरू अन्यत्र बिक्री गर्दा राम्रो मोल पाउँदैनन्।
‘अन्यत्र बिक्री गर्दा राम्रो मोल पाइँदैन, ढुवानीको पनि खर्च बच्ने हुनाले हरेक वर्ष राजमार्गमै बसेर तर्बुजा बेच्छौँ’, कमला रानाले भनिन्।
Shares

प्रतिक्रिया