कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१, स्थित सुक्खा बन्दरगाह निर्माणस्थलको गौरीशंकर सामुदायिक वनमा सयभन्दा बढी रुख चोरी भएका छन्।
सामुदायिक वनमा रुख कटान सुरु गर्नुअघि नै छपान गरिएका सयभन्दा बढी रुख चोरी/तस्करी भएको पत्ता लागेको हो।
सुक्खा बन्दरगाह निर्माणस्थलमा रुख कटानका लागि छपान गरिएका १ सय ९ रुख गायब पारिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए।
गौरीशंकर सामुदायिक वन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र हो।
‘कटानको अनुमति दिनुअघि छपान गरिएका सयभन्दा बढी रुख भेटिएनन्। त्यसपछि हामीले सामुदायिक वनलाई स्पष्टीकरण सोधेका छौँ’, वाग्लेले भने।
उक्त सामुदायिक वनमा सिसौका ४० वटा ठूलो रुख र ६९ वटा पोल साइजका गरेर १०९ रुख चोरी/तस्करी भएका छन्।
सुक्खा बन्दरगाह निर्माणका लागि गौरीशंकर सामुदायिक वनको ४२ हेक्टरमा रहेका १ हजार ७ सय २ रुख कटान गर्नुपर्ने थियो।
त्यहीअनुसार रुख छपान गरिएको संरक्षण अधिकृत वाग्लेले जनाए।
०८१ असोज २ गते मन्त्रीपरिषद्को बैठकले रुख कटान गर्ने निर्णय गरेको थियो। असोज ६ गते वन मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई रुख कटान गर्न अनुमतिका लागि पत्राचार गर्यो।
असोज ९ गते इन्टरमोडल कार्यालयलाई रुख कटानको अनुमति प्रदान गरिएको थियो।
छपान गरिएका १ हजार ७ सय २ रुखमध्ये १०९ रुख चोरी भएको पाइपछि १ हजार ५ सय ९३ रुखको मात्रै कटान आदेश दिइएको हो।
अहिले सुक्खा बन्दरगाह निर्माणस्थलमा रुख कटान भइरहेको छ।

रुख चोरी/तस्करी भएपछि निकुञ्जले सामुदायिक वनका पदाधिकारीलाई स्पष्टीकरण लिएको थियो।
स्पष्टीकरणमा सामुदायिक वनका पदाधिकारीले सीमा क्षेत्रको वन भएका चोरी/तस्करी हुने, मसानघाट पनि नजिकै भएकाले अन्तिम संस्कारका लागि पनि रुख कटान गरिने र हात्ती, बाघजस्ता वन्यजन्तु आउने भएकाले रातिको समयमा गस्ती गर्न नसक्दा समस्या निम्तिएको बयान दिएका छन्।
‘छपान गरिएका रुख फिल्डमा नदेखेपछि हामीले सामुदायिक वन र पिपरैया रेन्ज पोस्टलाई स्पष्टीकरण सोधेका थियौँ’, वाग्लेले भने, ‘मसानघाट भएकाले स्थानीयले अन्तिम संस्कारमा प्रयोग गरेको सीमा क्षेत्र भएकाले जंगली जनावरको त्रासले राति नियमित गस्ती गर्न नसक्दा चोरी भएको स्वीकारेका छन्।’
सुक्खा बन्दरगाहका लागि सुरुमा ४२ हेक्टरमा १ हजार ७ सय २ रुख कटान गर्नुपर्ने थियो। यसमध्ये १ सय ९ रुख कटान भएपछि अब १ हजार ५ सय ९५ रुख कटान गर्नुपर्नेछ।
अहिले रुख कटानका काम निकुञ्जकै कर्मचारीको रोहबरमा भइरहेको छ। कटान गरिएको काठ निकुञ्जकै पिपरियामा घाटगद्दी भइरहेको छ।
गौरीशंकर सामुदायिक वनबाटै चोरी/तस्करी भएको काठसहित हालै ३ जना पक्राउ परेका छन्। उनीहरूबारे अनुसन्धान भइरहेको संरक्षण अधिकृत वाग्लेले बताए।
दोधारा चाँदनीकै तीन जनालाई ३२ क्युबिक फिट काठसहित पक्राउ गरिएको हो।
उनीहरूले गौरीशंकर सामुदायिक वनबाट रुख चोरी गरेको बयान दिएको वाग्लेले जनाए। रुख चोरीमा संलग्न फरार अन्य व्यक्तिको पनि खोजी भइरहेको उनले बताए।
एक जनालाई गौरीशंकर सामुदायिक वनभित्रै रुख कटान गरिरहेको र अर्कालाई नजिकै घरमा तस्करीको काठ लुकाएको अवस्थामा पक्राउ गरेको हो।
Shares

प्रतिक्रिया