सुदूरपश्चिम


सुदूरपश्चिममा प्राचीन युद्धकला झल्काउने ‘भुवा-भस्सो’ (तस्बिरहरू)

सुदूरपश्चिममा प्राचीन युद्धकला झल्काउने ‘भुवा-भस्सो’ (तस्बिरहरू)

गोकुल जोशी
पुस १०, २०८२ बिहिबार २०:५५, कञ्चनपुर

वृद्ध तथा युवाहरू गोलबद्ध छन्। एक हातमा तरबार र अर्को हातमा ढाल समातेका छन्। र, दमाहाको तालमा लहरै भएर नाच्दैछन्। 

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा युवादेखि बुढापाका ‘भुवा भस्सो’ नाचमा झुमेका छन्। संविधानचोक दमाहाको ध्वनीले गुञ्जायमान छ। 

प्राचीन युद्धको झल्को दिने दृश्यमा वृद्ध युवाहरूलाई तरबार र ढाल भिराएर नचाउन पनि सिकाउँदै छन्। नयाँ पुस्ता मौलिक संस्कृतबाट विमुख भएर मौलिकता ओझेलमा परिरहेका जानकारहरू बताउँछन्।

‘आजभोलि भुवा भस्सो कोही खेल्दैनन्। अहिलेका युवाहरूलाई यसबारे केही जानकारी नै छैन,’ बझाङबाट तराई झरेका हेमराज जोशी भन्छन्, ‘मौलिक संस्कृति, पहिचान हराउँदै गएको छ। यस्तो अवस्थामा आयोजना हुने यस्ता कार्यक्रमले संस्कृति पुस्तान्तरण र संरक्षणमा टेवा पुर्‍याउँछ।’

उनका अनुसार मौलिक संस्कृतिका रुपमा रहेको भुवा प्राचीनकालीन युद्धको भाका हो। यसमा प्राचीन युद्ध कौशलको प्रदर्शनी गरिन्छ। उनले भने, ‘जसको आफ्नै मौलिक विशेषता छ, हाम्रो पहिचान हो। त्यसैले यसको संरक्षणमा जुट्नु पर्छ।’

भुवा पर्व सुदूरपश्चिमको बझाङ, बाजुरा, अछाम, डोटी तथा कर्णाली प्रदेशका केही जिल्लामा मनाइन्छ। पहाडबाट बसाइँ सरेर कैलाली–कञ्चनपुर झरेका मानिसले यहाँ पनि पर्व मनाउँदै आएका छन्। 

पर्वमा प्राचीन युद्ध कौशलको झल्को दिने गरी भुवा नाच प्रदर्शन गरिन्छ। दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल नचाइने दृश्य सहितको भुवा नाच्ने गरिन्छ। 

जनाउको रूपमा भुवा पुस महिनाको पूर्णिमाको राति भुवाखाडोमा आगो बालेर प्रारम्भ गरिन्छ। यद्यपी पुसे औंसीमा ५ पाण्डवहरूको पुजापाठ गरेर पर्व सुरु हुने जानकारहरू बताउँछन्। 

कौरव र पाण्डवको लडाइँमा पाण्डवहरूले कौरवमाथि हासिल गरेको जितको उत्सवका रुपमा पुर्खौंदेखि पर्व मनाइँदै आएको बडिमालिका केदार समाज कञ्चनपुरका अध्यक्ष डम्मर खड्का बताउँछन्।

आधुनिकताले लोपोन्मुख अवस्थामा रहेको भुवा पर्वको ऐतिहासिक, सांस्कृतिक महत्व रहेको छ। यो पर्व द्वापर युगमा पाण्डवहरूले सुरु गरेको जनश्रुति छ। भुवा महाभारतको पाण्डव र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ।

सोही लडाइँको सम्झना तथा पाण्डवहरूको जीतको खुसीयालीमा पर्व मनाउन थालिएको हो। उनका अनुसार असत्यमाथि सत्यको विजयोत्सवका रुपमा पर्वलाई मनाइने गरिन्छ। 

द्वापर युगमा कौरवहरूको कपटी पासामा पाण्डवले राज्य हारे। पाण्डव वनबास बसेका बेला जीविकोपार्जन गर्न गाउँ गाउँमा गएर युद्ध कला सिकाउँथे। त्यहीबाट भुवा भस्सो पर्व सुरु भएको विश्वास छ।

महाभारत युद्धका लागि आफ्ना सेनालाई निपुर्ण बनाउन पाण्डवहरूले तरबार र ढाल चलाउन सिकाएको र त्यहीँबाट भुवा पर्व मनाउन थालिएको जनविश्वास छ। पर्वमा ढाल र तरबारसहित चाली खेल्ने प्रचलन रहँदै आएको छ। पुसे औंसीको राति भुवा खडोमा आगो बालिन्छ। 

आगो तापेर नुवाइधुवाई सरसफाई गरेर मीठो–मसिनो खाना खाने प्रचलन छ। आफ्ना हतियारहरू ढाल तरबारलाई चम्किलो बनाउने काम गरिन्छ। ढाल कालोले पोतिन्छ भने तरबारलाई धारिलो र चम्किलो बनाइन्छ।

यसरी चम्किलो बनाइएको तरबारहरू चाली खेल्दा घाममा टलक्क टल्किन्छन्। औंसीको भोलिपल्ट लुगाकपडा धोएर हातहतियार सजाउने, टल्काउने काम हुन्छ अनि द्वितीया तिथिको दिनमा विशेष ढंगले प्रदर्शन गरिन्छ। 

भुवा खेलको पहिरन पनि विशेष प्रकारको हुन्छ। भुवा खेल्ने पुरुषहरूले सेतो भोटोसहित जामा, पछाडि कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युँमा एउटा सेतो चादर जस्तो पहिरनुपर्छ। टाउकोमा पगरी बाँध्नुपर्छ। 

दिउँसोको समयमा भुवाखाडोमा गएपछि भुवाको रौनक सुरु हुन्छ। बाजागाजाका साथ दमाहाले पनि अनेक धुन बजाउँछन्, बाजागाजा लस्कर हुँदै औंसी र प्रतिपदाका दिन चम्काएका ढाल तरबार बाजागाजा भुवाको लयमा चम्कन सुरु हुन्छ।

बायाँ हातमा ढाल, दायाँ हातमा तरबार लिई बाजाको तालसँगै गुरुको निर्देशनअनुसार सुस्तगतिबाट भुवा खेल खेल्ने गरिन्छ। खेलमा २० भन्दा वटा चाली र ६३ कवच हुन्छ।

यस्तै स्थानीयले आ–आफ्नो घरमा मीठामीठा परिकारहरू पकाउँछन् र आपसमा बाँडेर खान्छन्। यस पर्वमा वर्षदिनसम्म भेटघाट नै नभएका ईष्टमित्र, दाजुभाइबीचको सम्बन्ध प्रगाढ हुने जनविश्वास उत्तिकै छ। 

हातमा तरबार र ढाल लिई सामूहिक रूपमा बाजागाजासहित घरघरमा गई भस्सो खेल्दा घरमा श्रीसम्पत्ति भित्रिने र खेलको माध्यमबाट सामाजिक सद्भाव कायम रहने जनविश्वास  छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad