महाकालीपारिको दोधाराचाँदनी नगरपालिका-१ की ५० वर्षीया वसन्तीदेवी पुजारालाई गत बुधबार राति भान्सामा खाना बनाइरहेका बेला सर्पले हातमा डस्यो।
सर्पले डसेलगत्तै नजिकैको दुलोमा पसेकाले उनले सर्प देख्न सकिनन्। त्यसैले सुरुमा न उनलाई सर्पले डसेको थाहा भयो न परिवारका सदस्यलाई।
केही समयपछि सर्पदंशको असर बढ्दै गएपछि परिवारले सर्पले डसेको आशंका गर्दै मध्यरातमा उनलाई महाकाली प्रादेशिक अस्पताल पुर्यायो।
अस्पताल पुग्दा उनको अवस्था गम्भीर थियो। चिकित्सकले उनलाई तत्काल आईसीयूमा भर्ना गरी उपचार थाले।
तीन दिनसम्म सघन उपचारपछि उनी पूर्णरूपमा निको भई घर फर्किएकी छन्। ‘यहाँ पुर्याउँदा अवस्था सिकिस्त थियो। हामी त आत्तिसकेका थियौँ,’ वसन्तीका श्रीमान् मदन पुजारा भन्छन्, ‘राम्रो उपचार भयो। कालको मुखबाट जोगाइदिनुभयो।’
डडेल्धुराको आलिताल गाउँपालिका-८ का दिलबहादुर थापामगरलाई खेतमा काम गर्ने बेला सर्पले डस्यो। उपचारका लागि महाकाली अस्पताल पुगेका उनी पनि निको भएर घर फर्किएका छन्।
केही वर्षअघिसम्म महाकाली प्रादेशिक अस्पतालमा पुग्ने सर्पदंशका अधिकांश बिरामी अन्यत्र ‘रिफर’ हुन्थे। यहाँ आईसीयूको व्यवस्था नहुँदा अस्पतालले उपचारमा समस्या व्यहोरिरहेको थियो। त्यही भएर जोखिम मोल्न खोज्दैनथे।
महाकाली प्रादेशिक अस्पतालमा पुगेका सर्पदंशका बिरामी अधिकांश निको भएर घर फर्किएका छन्। भारतका समेत सर्पदंशका बिरामी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल आउने गरेका छन्।
‘सर्पदंशको उपचारमा हामीले निकै मिहिनेत गरेका छौँ, त्यहीअनुसार सफलता पनि पाइएको छ,’ डा. अर्जुन भट्टले भने, ‘सर्पले डसेको शंका लागेका तत्काल अस्पताल ल्याउनुपर्छ। ढिलो गरी आउँदा समस्या हुन्छ।’
उनका अनुसार वैशाखयता बिषालु सर्पले डसेका १३ बिरामी निको भएर घर फर्किएका छन्। ढिलो उपचारका लागि आउने बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्नु परेको उनको भनाइ छ।
‘वैशाख जेठतिर कोब्रा सर्पले डसेको केस बढी थियो। पानी परेपछि अहिले करेतले टोकेको केस आइरहेका छन्,’ डा. भट्टले भने।
विषालु सर्पले टोकेको अवस्थामा झारफुक वा अन्य घरेलु उपचारमा अलमलिन छाडेर समयमै अस्पताल ल्याए जोखिम कम हुने उनले बताए।
‘धेरैले सुरुमा झरफुकमै लाग्ने र अन्तिम अवस्थामा अस्पताल ल्याउने गर्छन्,’ डा. भट्टले भने, ‘समयमै अस्पताल ल्याए जस्तोसुकै अवस्थामा पनि बिरामी जोगाउन सकिन्छ।’
महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तका अनुसार पछिल्ला तीन महिनायता अस्पतालमा उपचारका लागि आएका सर्पदंशका कुनै पनि बिरामीको मृत्यु भएको छैन।
अस्पतालमा आईसीयू सेवा, तालिमप्राप्त स्वास्थ्यकर्मी, पर्याप्त एन्टिस्नेक भेनम र आवश्यक उपकरणको व्यवस्थापन भएपछि सर्पदंश उपचारमा उल्लेखनीय सुधार आएको उनले बताए।
‘पहिले सर्पदंशका धेरै बिरामीलाई सुविधा अभावका कारण अन्य अस्पतालमा रिफर गर्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘अहिले प्रभावकारी उपचार सेवा उपलब्ध भएकाले अधिकांश बिरामी यहीँ निको भएर घर फर्किरहेका छन्।’
सीमावर्ती क्षेत्रका नागरिकका साथै टाढा टाढाका बिरामी पनि उपचारका लागि आइरहेको उनले बताए।
Shares

प्रतिक्रिया