ad ad

सुदूरपश्चिम


कहाँ पुग्यो महाकाली करिडोरको काम?

कहाँ पुग्यो महाकाली करिडोरको काम?

गोकुल जोशी
पुस १२, २०८० बिहिबार ९:५, कञ्चनपुर

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलास्थित नेपाल–भारत–चीनको त्रिदेशीय नाका तिंकर जोड्ने महाकाली करिडोरअन्तर्गत सडक निर्माणको गति सुस्त छ। सडक बनाउन थालिएको दशकभन्दा बढी बितिसक्दा पनि ट्रयाक खोल्ने कामसम्म सकिएको छैन।

वि.सं. २०६५/०६६ देखि महाकाली करिडोरको काम थालिएको थियो। सुरुमा दार्चुला-तिंकर सडक नाम राखिएको यो आयोजनालाई केही वर्षअघि मात्रै महाकाली करिडोर नामकरण गरिएको हो। 

वातावरण प्रभाव मूल्यांकन (ईआईए), विस्फोटक पदार्थ र बजेट अभाव तथा रुख कटानको आदेश नआउँदा करिडोर निर्माण ढिला भइरहेको छ।

कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका विकट क्षेत्र जोड्दै चीनको सीमानाकासम्म पुग्ने यो सडकले सुदूर पहाडको आधाभन्दा बढी भूभागलाई सिधै तराईसँग जोड्ने छ। 

कञ्चनपुरदेखि दार्चुलासम्म ४२५ किलोमिटर लामो सडक निर्माण गर्ने दशकअघिको सपना हो। करिडोरअन्तर्गत महाकाली तीरैतीर कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको छाङरु-तिंकरसम्म सडक बन्नेछ।

ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म ३ सय ३४ किलोमिटर सडक महाकाली करिडोर सडक आयोजनाले निर्माण गरिरहेको छ।

तुसारपानीदेखि तिंकरसम्म ९१ किलोमिटर सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ।

महाकाली करिडोर आयोजना कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीका अनुसार हालसम्म २४१ किलोमिटर मात्रै ट्रयाक खुलेको छ। डडेल्धुरा, बैतडी र दार्चुलामा गरेर अझै ९३ किलोमिटर सडकको ट्रयाक खोल्ने बाँकी छ।

‘बाँकी ट्रयाक खोल्ने काम जारी छ। रुख कटानको आदेश आएको छ’, प्रमुख जोशीले भने, ‘ट्रयाक खोलिएको खण्डमा कालोपत्रेको तयारी भइरहेको छ।’

डडेल्धुराको सिमल्टा–भागेश्वर–सुनर्या खण्डको ३१ किलोमिटरको झण्डै २० महिनापछि रुख कटानको आदेश आएको छ। डडेल्धुरा खण्डमा २ हजार ६ रुख र २ हजार ८७ पोल साइजका रुख कटान हुनेछन्। 

बैतडीको ३५ किलोमिटर दूरीको सुनर्या-दोगडाकेदार खण्डमा ट्रयाक खोल्ने काम भइरहेको छ। दार्चुलाको २७ किलोमिटर धनथला-सलेती खण्डको पनि कटान आदेश आएर ट्रयाक खोल्ने काम भइरहेको आयोजनाले जनाएको छ।

ट्रयाक खोलिएको ३७ किलोमिटर खण्डमा कालोपत्रेका लागि सडक स्तरोन्नतिको काम भइरहेको छ। ‘डडेल्धुरा खण्डको ५ किलोमिटर स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा सकिन्छ’, आयोजना प्रमुख जोशीले भने, ‘दार्चुला खण्डमा अहिले सडक चौडा गर्ने, नाली बनाउने काम भइरहेको छ।’

महाकाली करिडोरअन्तर्गत पर्ने १९ हजार ६६ रुख तथा पोल साइजका रुख काट्नुपर्ने देखिएको छ। करिडोर बनेपछि सुदूरपश्चिमको कायाकल्प हुने यस क्षेत्रका स्थानीयको विश्वास छ। दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण हुनेछ। महाकाली नदीमाथि पक्की पुल निर्माण अन्तिम चरणमा छ।

महाकाली करिडोरलाई पक्की पुलसम्म जोडेर सुदूर पहाडलाई सडक सञ्जालका साथै त्रिदेशीय नाकाका रुपमा विकास गर्न सकिने नेताहरुले आश्वासन दिने गरेका छन्। 

तर आयोजनाको प्रगति सन्तोषजनक नहुँदा यस क्षेत्रका नागरिक निराश बन्दै गएका छन्।

‘हामी त जसो तसो दुखकष्ट काट्यौँ। छोरा नातिनतिनाले हाम्रो जस्तो दु:ख बेहोर्न नपरोस्’, कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका कृष्ण नेपाली भन्छन्, ‘महाकाली करिडोरलाई यस क्षेत्रका लागि लाइफ लाइनका रुपमा हेरिएको छ। नेताहरुले बारम्बार आश्वासन दिए तर दशक बितिसक्दा पनि सडक निर्माण हुन सकेको छैन।’

महाकाली करिडोरअन्तर्गत कञ्चनपुर–डडेल्धुरा खण्डमा सडकको ट्रयाक खोल्ने काम हालै सकिएको छ। कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको सादनीसम्मको ट्रयाक खुलेसंगै ब्रह्मदेव भएर डडेल्धुराको परशुरामसम्म गाडी सञ्चालन गर्न सकिने निर्माण कम्पनी दिवा सनीदेव जेभीका सञ्चालक देवीदत्त भट्टले जानकारी दिए। 

‘जिरो प्वाइन्टदेखि डडेल्धुरासम्मको १५ किलोमिटर सडकको ट्रयाक खोल्ने काम सकिएको छ। तत्काल एकतर्फी गाडी चलाउन सकिन्छ’, उनले भने,‘दुईतर्फी गाडी चलाउन मिल्ने गरी फराकिलो बनाउँदै छौँ।’

उनका अनुसार हाल ५ मिटर चौडाइ रहेको सडक १० मिटर चौडाइसम्म पुर्‍याइनेछ। ट्रयाक खोल्ने क्रममा कटान गरिएका रुख संकलन भइरहेको उनले बताए। 

वि.सं. २०७८ मा दिवा सनीदेव जेभीले ब्रह्मदेवदेखि कञ्चनपुर खण्डमा पर्ने ११ किलोमिटर र डडेल्धुरा खण्डको ४ किलोमिटर गरेर १५ किलोमिटरको ठेक्का पाएको थियो। 

कटान आदेश नआउँदा सडक निर्माण अघि बढ्न सकेको थिएन। २०७९ फागुनमा कटान आदेश आएसँगै सडक निर्माणले गति लिएको थियो। 

कञ्चनपुर–डडेल्धुरा सडक खण्डको १५ किलोमिटर ट्रयाक खुलेपछि डडेल्धुराको जोगबुढासम्म सवारीसाधन चल्ने भयो भनेर यस क्षेत्रका बासिन्दा खुसी भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .