ग्लोबल


दुबईमा पुनः भारी वर्षा, उडान रद्द, विद्यालय तथा कार्यालय बन्द (भिडिओ)

दुबईमा पुनः भारी वर्षा, उडान रद्द, विद्यालय तथा कार्यालय बन्द (भिडिओ)

भारी वर्षाका कारण जलमग्न दुबई। तस्बिर : अन्तर्राष्ट्रिय सञ्चारमाध्यम


रासस/एएनआई
बैशाख २१, २०८१ शुक्रबार १९:४६, अबुधाबी (यूएई)

संयुक्त अरब इमिरेट्स (यूएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ। 

असामान्य मौसमका कारण धेरै उडान रद्द गरिएका छन् भने मानिस तथा विद्यार्थीलाई घरबाटै काम तथा अध्ययन गर्न आग्रह गरिएको खालिज टाइम्सले रिपोर्ट गरेको छ। 

संयुक्त अरब इमिरेट्समा भारी वर्षा र आँधीबेहरीका कारण बिहीबार सुन्तला चेतावनी जारी गरिएको थियो। पछिल्लो केही दिनदेखि यूएईले अस्थिर मौसमी लहरका लागि तयारी गरिरहेको छ। 

यसै क्रममा सबै क्षेत्रका मानिसलाई सुरक्षाका उपाय अपनाउन सल्लाह दिइएको छ। विद्यालयहरू दूर शिक्षामा छन् भने कम्पनीहरूलाई  घरबाटै काम गर्न अनुमति दिन आग्रह गरिएको छ। पार्क तथा समुद्र तटहरू बन्द गरिएका छन्।

खालिज टाइम्सका अनुसार दुबईले इमिरेटमा अस्थिर मौसमका कारण मे २ र ३ मा  सरकारी कर्मचारीहरूका लागि घरबाट काम गर्ने घोषणा गरेको थियो।

यूएईको विपद् व्यवस्थापन प्राधिकरणले आगामी मौसमी अवस्थालाई सामना गर्न तयारी दोहोर्‍याएको छ। सम्बन्धित एजेन्सीहरू उपायहरू कार्यान्वयन गरेर पूर्वानुमानित मौसमको उतारचढाव सामना गर्न तयार रहेको उल्लेख गरिएको छ।

यसअघि एनसीएम विज्ञले आगामी मौसमको अवस्था अप्रिल १६ को  जस्तो नहुने अनुमान गरेका छन्। अधिकारीहरूले आवश्यक सावधानीका उपायहरूबारे छलफल गरेका छन्। 

यूएईले विद्यार्थीहरूले विद्यमान मौसमको कारण मे २ र ३ मा देशका सबै सरकारी विद्यालयहरूका लागि अनलाइन कक्षा लिने घोषणा गरेको छ।

सरकारले सम्भावित अस्थिर मौसमी अवस्थाका कारण दुबईका सबै निजी विद्यालयमा मे २ र ३ मा अनलाइन सिकाइ हुने घोषणा गरेको छ। ज्ञान तथा मानव विकास प्राधिकरण (केएचडीए) ले यो निर्णय सबै निजी विद्यालय, नर्सरी र विश्वविद्यालयमा लागु हुने घोषणा गरेको छ। 

दुबई विमानस्थलका लागि पाँचवटा इनबाउन्ड उडान रातारात डाइभर्ट गरेको नौ आगमन तथा चार आउटबाउन्ड उडान रद्द गरेको विमानस्थलका प्रवक्तालाई उद्धत गर्दै खालिज टाइम्सले जनाएको छ। 

विमानस्थलका प्रवक्ताले भने, ‘दुबईको विमानस्थलबाट प्रस्थान गर्नेहरूलाई लागि थप समय छुट्याउन सल्लाह दिइएको छ। सडक भीडभाडको पूर्वानुमान गर्दै सम्भावित टर्मिनल १ र ३ मा पुग्न दुबई मेट्रोको उपयोग गर्न दृढतापूर्वक प्रोत्साहित गरिएको छ।’

इमिरेट्सले बिहीबार यूएईभर खराब मौसमका कारण धेरै उडान रद्द गरी दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन कम गरेको छ। 

एक विज्ञप्तिमा मे २ मा दुबई विमानस्थलबाट आगमन–प्रस्थान गर्ने उडानहरू पुनःर्निर्धारित भएका कारण केही ढिलाइ हुनसक्ने उल्लेख गरिएको छ। 

फ्लाईदुबईका प्रवक्ताले बिहीबार दुबईमा प्रतिकूल मौसमका कारण उडान सञ्चालनमा केही ढिलाइ भएको बताएको खालिज टाइम्सले उल्लेख गरेको छ। उनले यात्रुहरूलाई डीएक्सबीको यात्राका लागि अतिरिक्त समय दिन सल्लाह दिए। 

शारजहास्थित एयर अरेबियाले अबुधाबी, शारजाह र रास अल खैमाहबाट उडान गर्ने यात्रुहरूलाई मौसमको अवस्थाका कारण विमानस्थलमा थप यात्रा समयको योजना बनाउन सल्लाह दिएको छ। 

अबुधाबीस्थित इत्तेहाद एयरवेजले जायद अन्तर्राष्ट्रिय विमानस्थल र दुबईबीचको इत्तेहाद बस सेवा प्रयोग गर्ने यात्रुहरूलाई विमानस्थलमा पुग्न थप समय दिन तथा स्थानान्तरणका लागि चाँडै जाँच गर्न आग्रह गरेको छ। 

इन्डियन एयरलाइन्स इन्डिगोले दुबई, शारजाह, रास अल खैमाह र अबुधाबीमा खराब मौसमका कारण उडान सञ्चालन प्रभावित भएको बताएको छ। भिस्तारा र स्पाइसजेटले पनि खराब मौसमका कारण प्रस्थान, आगमन र उडानमा असर पर्ने बताएका छन्।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .