अटो


फक्सवागनका बिक्रेता भन्छन्ः अटो व्यवसाय जोगाउन कर घटाऔँ, डाउनपेमेन्ट हेरफेर गरौँ

फक्सवागनका बिक्रेता भन्छन्ः अटो व्यवसाय जोगाउन कर घटाऔँ, डाउनपेमेन्ट हेरफेर गरौँ

नेपालखबर
बैशाख १४, २०७७ आइतबार ९:१४,

चालू आर्थिक वर्षको ९ महिनासम्म मात्रै करिब १० अर्ब रुपैयाँको सवारीसाधन तथा अटोपार्ट्स आयात घटिसकेको छ।

मासिक ७ अर्ब बढी आयात हुनेमा लकडाउनको कारण चैत महिनमा डेढ अर्बको मात्रै आयात भएको छ। कोरोना संक्रमणबाट जोगिन १ महिनायता लकडाउन कायम छ, खुल्ने निश्चित छैन।

नेपालमा राजस्व संकलनमा सबैभन्दा बढी सहयोग गर्ने अटो व्यवसाय लकडाउन खुलेपछि कसरी चलायमान हुन्छ? सबै अटो व्यवसाय चिन्तित छन्। नेपाली बजारमा सबै आयतित गाडी हुने भएकाले अटो व्यवसायीको ठूलो भार गाडी आयात गरी बिक्री गर्न नसकेका गाडीको ऋण तिर्नको लागि हुनेछ।

फक्सवागन नेपालको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलका कार्यकारी अधिकृत विवेक बिजुक्छे भन्छन्, ‘व्यवसायीहरुले गाडी आयात गर्दा बैंकबाट ऋण लिई आयात गरेको हुन्छ। तर डेढ महिनासम्म बजार पूरै ठप्प हुँदा एक रुपैयाँ पनि आम्दानी छैन। गाडी बिक्री कहिलेसम्म ठप्प हुने हो। बैंकको ऋण तिर्नलाई सबैभन्दा ठूलो समस्या पर्ने देखिएको छ।’

व्यवसायीहरुका अनुसार गाडी कम्पनीको खर्च ऋण÷ब्याज नै हुने बताउँछन्। कर्मचारीलाई तलब र अफिस भाडाभन्दा पनि ठूलो खर्च स्टक रहेका गाडीको ब्याज तिर्नु हो। धेरै कम्पनीलाई तलब खुवाउन पनि धौधौ पर्ने स्थिति बनिसकेको बिजुक्छे बताउँछन्।

अटो व्यवसाय कसरी चल्छ भन्ने देशको अर्थतन्त्र कसरी चल्छ भन्नेमा भर पर्छ। पर्यटन व्यवसाय, सेयर मार्केट, उद्योगहरु कसरी चल्छन्, अटो व्यवसाय त्यसैमा भर पर्ने हो। सरकारले अर्थतन्त्रलाई कसरी चलाउने नीति ल्याउँछ, त्यसैमा भर पर्छ।

‘अटो व्यवसायलाई चलायमान बनाइराख्नको लागि ३ सय प्रतिशतसम्म लगाउँदै आएको कर घटाउनुको विकल्प छैन। डाउनपेमेन्ट नै बढी रहेको छ। त्यसमा पनि ग्राहकले आफ्नो आयको ५० प्रतिशतभन्दा बढी डाउनपेमेन्ट तिर्न नपाउने नियम रहेको छ। यसमा हेरफेर गर्नुपर्छ’, बिजुक्छेले भने।

अन्तर्राष्ट्रिय रुपमा २०२० को अटो मार्केट नेगेटिभमै जान्छ। त्यसको असर नेपालमा त परिहाल्छ।

सरकारले गाडीमा जति कर लगायो राजस्व बढी उठ्छ भन्ने सोच राख्छ कि कर घटायो भने गाडीको मूल्य सस्तो पर्छ जसले गाडीमो माग बढी हुन्छ। यसरी गाडी बढी बिक्री हुँदा राजस्व पनि बढी उठ्छ भन्ने सोचाइ राख्छ। त्यसमा अबको अटो व्यवसाय भर पर्ने उनको भनाइ छ।

‘कर बढी लगाउँदा र डाउनपेमेन्टमा कडाइ गर्दा राजस्व झन् कम उठेको छ भन्ने सरकारले बुझेकै होला’, उनले भने, ‘अलि उदारपन देखायो भने अर्थतन्त्रमा चलायमान आउँछ।’

नाडा अटो शो २०२० मा पनि प्रभाव पर्छ
ग्राहकले आफ्नो आयस्रोतको सुनिश्चित भयो भने गाडी किन्ने हो। पैसा हुने धेरैले गाडी अहिले चढेकै छन्। नयाँ ग्राहकले किस्ताबन्दीमा किन्ने हुन्। नेपालमा गाडी किन्नु ठूलो लगानी गर्नु हो। त्यसको लागि भविष्यमा हुने आयस्रोतको ग्यारेन्टी छैन। गाडी किन्ने योजना बनाएका ग्राहकले पनि अन्य अत्यावश्यक कामको लागि खर्च गर्नुपर्छ।

कोरोना भाइरसको असर अन्य व्यवसायमा जति धेरै पर्छ अटो व्यवसायी त्यति सुस्त हुन्छ। विगतका वर्षहरुमा जस्तो यो वर्षको नाडा अटो शोमा पनि गाडीको माग कम हुने उनको बुझाइ रहेको छ।

लकडाउनको बेला के गरिरहेको छ फक्सवागन?
लकडाउनको समयमा पनि अत्यावश्यक कामको लागि सवारी चलिरहेका छन्। १ प्रतिशत मात्रै गाडी प्रयोगमा आएका भए पनि तिनको लागि अकस्मात् सर्भिसको खाँचो हुन सक्छ। बिजुक्छेका अनुसार फक्सवागनले सर्भिस मोबाइल भेनको लागि पास लिएको छ।

कम्पनीका ग्राहकको लागि अत्यावश्यक सेवा उपलब्ध गराउँदै आएको छ। कसैको गाडी बिग्रिहाल्यो भने कम्पनीमा फोन गर्दा उनीहरुले सेवा पाउने बिजुक्छे बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad