नेपाली बजारमा बढ्दो चिनियाँ ब्रान्डलाई टक्कर दिने गरी हुन्डाईले क्रेटा ईभी सार्वजनिक गरेको छ। विद्युतीय गाडीमा चासाे राख्नेहरूले पर्खिरहेकाे क्रेटा ईभीको कम्पनीले भव्य लन्च गरेको हो।
क्रेटा नेपाली बजारमा १० वर्षअघि नै सार्वजनिक भएको थियो। हुन्डाईले नेपालमा यो १० हजार बढी बिक्री नै गरिसकेको छ। अहिले कम्पनीले इलेक्ट्रिकतर्फ पनि यही गाडी ल्याएको छ। क्रेटा ईभीको आगमनले नेपालमा आक्रामक बजार लिने अपेक्षा कम्पनीको छ।
यसको सुरूवाती मूल्य ५१ लाख ९६ हजार रुपैयाँ रहेको छ भने प्रिमियमकाे ५९ लाख ९६ हजार रुपैयाँ छ।
नेपालमा हुन्डाईका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल रहेको छ। कम्पनीले नेपालमै बनेकाे हुन्डाईको पेट्रोल इन्जिनको गाडीको तुलनामा क्रेटा ईभी २ लाख रुपैयाँ सस्तोमा सार्वजनिक गरेको हो।
नेपालमै बनेकाे क्रेटाकाे मूल्य भने ५३ लाख ९६ हजार रूपैयाँ रहेको कम्पनीले जनाएको छ। यसअघि, अल न्यु क्रेटाको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ थियो। पुरानो क्रेटाको मूल्य अहिले ५४ लाख ५६ हजार रुपैयाँ छ।

४२ किलोवाट आवर ब्याट्री भएको क्रेटा ईभीले ३९० किमि रेन्ज दिने कम्पनीले उल्लेख गरेको छ।
गाडीमा ९९ किलोवाटको मोटर छ भने २०० एमएम ग्राउन्ड क्लियरेन्स छ। यो ईभी ७.९ सेकेन्डमै १०० किमिको गति लिन सक्षम छ भने माइनस ३५ डिग्रीसम्म चल्न सक्छ।
११ किलोवाटको स्मार्ट चार्जरबाट ४ घण्टामै फुल चार्ज हुने यो गाडी डिसी फास्ट चार्जरबाट १ घण्टामै ८० प्रतिशत चार्ज हुन्छ। गाडीको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किमिसम्मको वारेन्टी छ।

८ स्पिकर साउन्ड सिस्टम रहेको गाडीमा भ्वाइस कमान्ड फिचर्ससहित प्यानारोमिक सनरुफ छ। गाडीमा ७० वटा कनेक्टेड फिचर र हुन्डाई स्मार्टसेन्स लेभल २ एडाससहितका १९ फिचर्स छन्।
कम्पनीका अनुसार तत्काल नेपालमा ४२ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट मोटर भेरियन्टको मात्रै उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ। यसमा पनि एक्जुकेटिभ र प्रिमियम भेरियन्ट उपलब्ध हुनेछ।
नेपालमा क्रेटा २०७२ भदौमा लन्च गरिएको थियो। हुन्डाईका मोडलमध्ये नेपालमा धेरै बिक्री हुनेमा क्रेटा एसयूभी पर्छ। कम्पनीले नेपालमा विद्युतीय क्रेटा सार्वजनिक भएसँगै ‘मास प्रोडक्ट’ हुने दाबी गरेको छ।

सोमबार सार्वजनिक क्रेटा ईभीमा ६ एयरब्याग, एबीएससँगै ईबीडी, हिल डिसेन्ट कन्ट्रोल, लेन चेन्ज इन्डिकेटर विथ फ्यास एडजस्टमेन्ट, ईपीबीसँगै अटो होल्ड, लेभल २ को एडास फिचरहरू छन्। एफआर क्यामेरा, एफआर राडार र आरआर राडार छन्।
कम्फर्ट एन्ड कन्भिनेन्सको लागि रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पावर एडजस्मेन्ट ड्राइभर सिट, वायरलेस चार्जर, स्मार्ट प्यानारोमिक सनरुफ लगायतका फिचर रहेका छन्। त्यस्तै, लक्ष्मी हुन्डाईले आइस इन्जिनमा नेपालमै उत्पादन सुरू गरेकाे छ।
भेन्यु माेडलबाट उत्पादन सुरू गरेकाे लक्ष्मी ग्रुपले क्रेटा पनि नेपालमै बनाउन थालेकाे हो। नेपालमा बनेकाे क्रेटाकाे मूल्य कम हुने हुन्डाईले जनाएकाे छ।






Shares

प्रतिक्रिया