ad ad

बागमती


बागमती प्रदेश : दोस्रो कार्यकालमा पनि दोहोरिए माओवादीका यी तीन मन्त्री

बागमती प्रदेश : दोस्रो कार्यकालमा पनि दोहोरिए माओवादीका यी तीन मन्त्री

सुनिता विष्ट
माघ ११, २०७९ बुधबार २०:४६, हेटाैँडा

बागमती प्रदेश सरकारले बुधबार (माघ ११ गते) पूर्णता पाएको छ। पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसहित अर्थमन्त्री जगन्नाथ थपलिया र बिनाविभागीय मन्त्री उद्धव थापा गरी तीन जना मन्त्रीले शमथ खाएका थिए। बाँकी मन्त्रालयको विस्तार आज गरिसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। 

१४ मन्त्रालयबाट ३ वटा समायोजन गरे ११ मन्त्रालय कायम गरेको बागमतीमा ११ मन्त्री चयनसँगै मन्त्रीहरूको जिम्मेवारी पनि तोकिएको छ। नवनियुक्त ११ मन्त्रीहरुमा ३ जना भने पूरानै अनुहारले पुनः मन्त्री बन्ने अवसर पाएका छन्।

प्रदेश सरकारको पहिलो कार्यकालमा माओवादीबाट निर्वाचित भएर मन्त्री बनेकाहरु पुनः दोस्रो कार्यकालको लागि पनि मन्त्री बन्ने अवसर पाएका हुन्। 

शालिराम जम्मकट्टेल
बागमती प्रदेश सरकारको दोस्रो कार्यकालका पहिलो मुख्यमन्त्री बनेका शालिकराम जम्मकट्टेल प्रदेश सभामा दोहोरिएका व्यक्ति हुन्। उनी २०७४ को निर्वाचनमा पनि धादिङ जिल्ला क्षेत्र नं. १ को (२) बाट निर्वाचित भएका थिए।

२०७४ मा बागमती प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्री भए। लगभग ३ बर्षभन्दा बढि आन्तरिक मन्त्रालय सम्हालेका जम्मकट्टेलले राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा सरकार गठन हुँदा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी प्राप्त गरे। पहिलो कार्यकालमै २ वटा मन्त्रालयको स्वाद चाखिसककेका मुख्यमन्त्री जम्मकट्टेल दोस्रो कार्यकालमा मुख्यमन्त्री बन्ने दौडमा थिए। 

त्यसो त, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी लगायतका दलको पाँचदलीय गठबन्धन आम निर्वाचनमा होमिँदा निर्वतमान मुख्यमन्त्री पाण्डेले आफू केन्द्रमा जाने भन्दै जम्मकट्टेललाई मुख्यमन्त्री दिलाउने शर्तमा प्रदेशमै दोहोराएको चर्चा समेत चलेको थियो।

एकै निर्वाचन क्षेत्रबाट कहिले प्रतिस्पर्धी त कहिले सहयात्रीको रुपमा निर्वाचनमा होमिएका पाण्डे र जम्मकट्टेलको सल्लाहमै पाण्डे संघीय संसद र मुख्यमन्त्री जम्मकट्टेल प्रदेशमा दोहोरिएका हुन्। 

गत मंसिर ४ को निर्वाचनमा नेकपा एमालेका गजेन्द्र थपलियालाई ७ हजार ४ सय २५ मतअन्तरले पराजित गर्दै जम्कट्टेल विजयी भएका हुन्। जम्कट्टेलले १९ हजार ९ सय ३ मत प्राप्त गर्दा एमालेका थपलियाले १२ हजार चार सय ७८ मत प्राप्त गरेका थिए।

यद्यपी यो पटक उनले प्रतिनिधिसभा सदस्य बन्ने इच्छा नदेखाएका भने होइनन्। गठबन्धनभित्रको भागबन्डा नमिलेपछि उनी प्रदेशसभातर्फ नै चुनावी मैदानमा होमिएर जित हासिल गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रियपात्रको रुपमा चिनिएका उनलाई केन्द्रको पनि राम्रै साथ रह्यो। जसका कारण बागमती प्रदेश सरकारको इतिहासमा चौथो मुख्यमन्त्रीको रुपमा नाम लेखाउन सफल भए।

कुमारी मोक्तान
मकवानपुर क्षेत्र नम्बर २(१) बाट २०७४ सालको निर्वाचनमा विजयी भएकी कुमारी मोक्तान संसद विघटन भएपछि पहिलो पटक समामाजिक विकास मन्त्री बनिन्। माओवादी केन्द्रको पोलिटब्युरो सदस्य समेत रहेकी मोक्तान प्रदेशको दोस्रो कार्यकालमा पनि सामाजिक विकास मन्त्रीकै जिम्मेवारीमा फर्किएकी छन्। 

मकवानपुरको सोही निर्वाचन क्षेत्रबाट नेकपा एमालेका विष्णुप्रसाद ढकाललाई ३ सय २२ मत अन्तरले हराउँदै उनी विजयी भएकी थिइन्। उनले १९ हजार ८ सय ७३ प्राप्त गर्दा ढकालले १९ हजार ५ सय ७१ मत प्राप्त गरेका थिए। 

गत मंसिर ४ को निर्वाचनमा दोस्रो कार्यकालको लागि सांसदमा निर्वाचित भएकी उनलाई पनि केन्द्रकै दबाबमा मन्त्रीमा नियुक्त गरिएको भन्ने चर्चा सांसदहरुले नै चलाइरहेका छन्। 

सांसदको पदभार ग्रहण गरेपछि सामाजिक विकास मन्त्रीबाट राजीनामा दिँदै उनले पुनः मन्त्री बनेर यही भवनमा आउँछु भनेकी थिइन्। मुख्यमन्त्री जम्मकट्टेल र प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डको जोडबलमा नै उनलाई पुनः मन्त्रीमा नियुक्त गरिएको स्रोतको दाबी छ। त्यसो त, प्रदेशका ११ मन्त्रीमध्ये महिला मन्त्री बन्ने मोक्तान एक्ली हुन्। 

युवराज दुलाल
सिन्धुपाल्चोक–२ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्, मन्त्री युवराज दुलाल। २०७४ सालको आम निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका उनी पहिलो कार्यकालको सुरुवातमै सामाजिक विकास मन्त्रीमा नियुक्त भएका थिए।

२०७७ साल पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि बदलिको राजनीतिक परिस्थितीमा सामाजिक विकास मन्त्रीको पदबाट राजीनामा दिएका उनी त्यसपछि नयाँ गठबन्धनको सरकारमा अटाएनन्। उनले सांसदको भूमिकामै बाँकी समय निर्वाह गरे। 

गत मंसिर ४ गतेको आम निर्वाचनमा पनि सिन्धुपाल्चोकको सोही क्षेत्रबाट उम्मेदवारी दिएका दुलाल भारी मतान्तरका साथमा विजयी भए। उनले २० हजार ९०६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अमान सिं तामाङले १२ हजार १ सय ३९ मत पाए। उनीहरुबीचको मतान्तर ८ हजार ७६७ छ।

दुलाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य पनि हुन्। सांसदको शपथ ग्रहण गरेदेखि नै दुलाल मन्त्रीका लागि केन्द्रमा लबिङ गरिरहेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .