ad ad

बागमती


बागमतीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी, लामाको भाग्य खुल्ला?

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी, लामाको भाग्य खुल्ला?

सुनिता विष्ट
फागुन २१, २०७९ आइतबार १७:३७, हेटाैँडा

केन्द्रमा आठ दलीय गठबन्धन बनेसँगै बागमती प्रदेशमा पनि सत्ता समीकरण फेरिएको छ। नयाँ समीकरण अनुसार बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले पनि दाबी गर्ने भएको छ। 

सरकार गठनकै क्रममा मुख्यमन्त्रीको दावेदार रहेको कांग्रेसले एमाले-माओवादी गठबन्धन बनेसँगै आफ्नो दाबी गुमाउनु परेको थियो। तर फेरि दुई महिनामै पुरानै गठबन्धन ब्यूँतिएपछि भने प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेस सत्तामा आउने भएको छ। 

नेकपा (एमाले), राप्रपालगायत दलसँगको गठबन्धनको भागबण्डामा बागमती प्रदेशको नेतृत्व माओवादी केन्द्रले पाएको थियो।

केन्द्रमा एमाले, राप्रपा, माओवादी, रास्वपा लगाएत मिलेर सत्ता समीकरणमा जाँदा त्यसको असर अन्य प्रदेश सँगै बागमतीमा पनि पर्न गयो। बागमतीमा तीन दल एमाले, माओवादी र राप्रपा मिलेर सरकारमा गए। जसका कारण ठूलो दल भएपनि कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न बाध्य हुनुपर्यो।

देशका ७ वटै प्रदेशमा शक्ति सन्तुलनको दृष्टिकोणले नयाँ भागबण्डा हुने भएपछि सरकार फेरबदल हुने लगभग पक्का छ। समीकरण परिवर्तन भएसँगै बागमतीको मुख्यमन्त्री नै कांग्रेसले दाबी गर्ने कांग्रेस बागमती संसदीय दलका नेता बहादुरसिंह लामाले बताए। उनका अनुसार यही सरकारमा मन्त्रालय लिएर मात्रै कांग्रेस सहभागी हुन चाहेको छैन।

बागमती प्रदेश सभाको सबैभन्दा ठूलो दल रहेको कांग्रेसबाट मुख्यमन्त्रीको दाबेदार संसदीय दलका नेता लामा नै हुन्। सरकार गठनको सुरुवातमै मुख्यमन्त्रीको दाबेदार रहेर संसदीय दलको नेता बन्न चुनावी प्रतिस्पर्धामै उत्रिएका लामा संसदीय दलका नेता त बने, तर मुख्यमन्त्री बन्ने भाग भने माओवादीले खोसिदियो।

त्यसो त, लामा कांग्रेस सभापति शेरबहादुर देउवाले बागमतीको मुख्यमन्त्री बनाउने प्रस्ताव गरेकै कारण संघ छोडेर प्रदेशमा झरेका थिए। २०७४ सालको आम निर्वाचनमा प्रतिनिधि सभा सदस्य बनिसकेका लामालाई मुख्यमन्त्री बनाउन भन्दै प्रदेशको टिकट थमाइएको थियो। 

केन्द्रमा एमालेले प्रधानमन्त्री बनाउने प्रस्ताव गरेसँगै नयाँ गठबन्धनमा पुगेको माओवादी २ महिनामै पुरानै गठबन्धन ब्यूँताउन आइपुगेपछि अब लामाको मुख्यमन्त्री बन्ने सपना पूनः जागृत भएको छ। 

यदी अहिलेको समीकरणमा उलटफेर नआए आफू नै प्रदेश सरकारको नेतृत्वको दाबेदार रहेको लामा बताउँछन्। मुख्यमन्त्रीको लागि तयारीसमेत गरिरहेको उनको भनाइ छ। 

‘मुख्यमन्त्रीमा मेरो दाबी रहनु स्वभाविक कुरा हो’ उनले भने, ‘कसरी अघि बढ्ने भनेर कार्यदल बनाइसकेपछि मात्रै थाहा हुन्छ। यो सबैको लागि फागुन २५ गतेसम्म कुर्नुपर्ने हुन्छ। त्यो बेलासम्म त केही हुने कुरै भएन।’ 

यदी, कांग्रेसले दाबी गरे अनुसार नै मुख्यमन्त्रीको जिम्मेवारी पाए बागमतीमा मन्त्रिमण्डल नै परिवर्तन हुने दखिएको छ। केन्द्रमा बनेको आठ दलीय गठबन्धन अनुसार बागमती प्रदेशमा माओवादी, कांग्रेस र नेकपा एकीकृत समाजवादी छ।

यद्यपी, हाल कायम रहेका माओवादीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नै सरकारको नेतृत्व पाइरहने अवस्थामा भने हाल रिक्त रहेको मन्त्रालय र एमालेका ४ मन्त्रीहरुले सत्ता छोडेको अवस्थामा रिक्त रहने ४ गरी ७ मन्त्रालयको जिम्मेवारी कांग्रेस र एकीकृत समाजवादीले पाउने मुख्यमन्त्री जम्मकट्टेलले बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .