ad ad

बागमती


विश्वासको मत लिने तयारीमा बागमतीका मुख्यमन्त्री, नेतृत्व लिन कांग्रेसको दौडधुप

विश्वासको मत लिने तयारीमा बागमतीका मुख्यमन्त्री, नेतृत्व लिन कांग्रेसको दौडधुप

सुनिता विष्ट
चैत ७, २०७९ मंगलबार १९:४३, हेटाैँडा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले भोलि बुधबार दोस्रो पटक विश्वासको मत लिन लागेका छन्। सरकारमा रहेको राप्रपाले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले संसदमा विश्वासको मत लिन लागेका हुन्। 

मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मतको प्रस्ताव प्रदेश सभामा लैजाने तयारीमा जुट्दै गर्दा कांग्रेस विश्वासको मत दिने भन्दा सरकारको नेतृत्व गर्ने आन्तरिक तयारीमा जुटेको छ।

प्रदेशसभाको सबैभन्दा ठूलो दलको रुपमा रहेको कांग्रेस सरकारको नेतृत्व लिन आतुर देखिएको छ भने मुख्यमन्त्री जम्मकट्टेल केन्द्रमा ‘बिन्ती बिसाएर’ भएपनि आफूले पाएको नेतृत्व गुमाउने पक्षमा देखिँदैनन्। 

एमाले, राप्रपाको गठबन्धनबाट मुख्यमन्त्री बनेका जम्मकट्टेललाई कांग्रेसले साथ दिन नसक्ने कांग्रेसका सांसदहरु बताउँछन्। संविधानको मूल्य र मान्यतालाई आधार मान्ने हो भने पनि बागमतीमा कांग्रेसकै नेतृत्व हुनुपर्ने कांग्रेस बागमती संसदीय दलका नेता बहादुर सिंह लामा बताउँछन्। यद्यपी जम्मकट्टेललाई विश्वासको मत दिने लामाले संकेत गरे।

कांग्रेस बागमती प्रदेशका सचेतक कुन्दनराज काफ्ले पनि कांग्रेसले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिँदैमा प्रदेश नेतृत्वको दावेदार अन्त्य नहुने बताउँछन्।

‘विश्वासको मत दिएनौं भने १३ गते पछि बागमती सरकारविहीन हुन्छ, त्यसलाई ख्याल गरेर भएपनि विश्वासको मत दिन्छौं’ उनले भने, ‘विश्वासको मत दिँदैमा अब कांग्रेसले मुख्यमन्त्रीको दाबी छोड्छ भन्ने होइन। सरकार बचाउन हामी उहाँलाई नै विश्वासको मत दिन्छौं। बागमती सहित सातै प्रदेशको बारेमा केन्द्रबाट निर्णय आएपछि राजीनामा दिन लगाएर भएपनि बागमतीको नेतृत्व कांग्रेसले गर्छ। यसमा दुईमत छैन।’

सचेतक काफ्लेले बुधबारका लागि तय गरिएको विश्वासको मत माग्ने प्रस्ताव एक दुई दिन ढिलो हुन सक्ने समेत बताए। केन्द्र र प्रदेश समितिको छलफलमा रहेको र निर्णय आउन विलम्ब भए पूर्वनिर्धारित कार्यक्रम केही दिनको लागि स्थगन हुन सक्ने समेत सचेतक काफ्लेले जानकारी दिए।   

यता, चैत १३ गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेकाले पहिला विश्वासको मत लिन चाहेको मुख्यमन्त्री शालिकराम जम्मकट्टेल बताउँछन्। विश्वासको मत लिने विषयमा पनि सबै दलसँग छलफल भइरहेको उनले जानकारी दिए। उनले कांग्रेसले विश्वासको मत लिने दिन केही सार्न प्रस्ताव गरेको बताए।

त्यसो त, पूरानै सत्ता गठबन्धन ब्यूँतिएपछि केन्द्रमा फेरिएको समीकरण अनुसार नै प्रदेशमा पनि फेरबदल हुन लागेको हो। तर केन्द्रमा सरकारबाट बाहिरिएको एमाले हालसम्म पनि प्रदेश सरकारबाट नबाहिरिँदा पछि गठबन्धनका दलहरु सरकारमा जान अलमलिएका छन्। 

एमालेले सरकार छोडे मन्त्रिपरिषद् विस्तारका लागि बाटो फुकुवा हुने माओवादीका एक सांसदले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .