ad ad

बागमती


बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिन भौतिक मन्त्रालय फुटाउने तयारी

बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिन भौतिक मन्त्रालय फुटाउने तयारी

सुनिता विष्ट
जेठ १०, २०८० बुधबार ११:२६, हेटौँडा

बागमती प्रदेशका नवनियुक्त बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिन भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउने तयारी भएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सहरी विकास मन्त्रालय अलग्याएर पदीय जिम्मेवारी दिने तयारीमा प्रदेश सरकार जुटेको बताइएको छ।

गत आइतबार बिनाविभागीय मन्त्रीमा नियुक्त कांग्रेसका रामकृष्ण चित्रकारलाई सहरी विकास मन्त्रालय दिने तयारीस्वरुप भौतिक मन्त्रालय फुटाउने तयारी भइरहेको स्रोतको दाबी छ। 

बागमतीमा सत्तारुढ दलहरुको भागबन्डा मिलाउन ११ मन्त्रालय रहे पनि एकजना बिनाविभागीयसमेत १२ मन्त्री नियुक्त गरिएको छ।

उनलाई पदीय जिम्मेवारी दिन मन्त्रालय विभाजन गर्ने तयारी भइरहेको हो।

कुनै एक मन्त्रालयको राज्यमन्त्री बनाउने कि भन्ने मुख्यमन्त्रीको प्रस्तावलाई कांग्रेसका नेताहरुले अस्वीकार गरेको कांग्रेस निकट स्रोत बताउँछ। मन्त्रालय संख्या बढाएर भए पनि मन्त्रीकै जिम्मेवारी दिनुपर्ने अडान कांग्रेसले राखेको बताइएको छ। 

प्रदेशको आर्थिक भार कम गर्न भन्दै मन्त्रालयको संख्या १४ बाट ११ मा झारेका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गठबन्धन टिकाउन अहिले एक मन्त्रालय थप्नुपर्ने अवस्थामा पुगेका हुन्। 

जेनतेन भागबन्डा मिलाएका मुख्यमन्त्रीलाई अब मन्त्रालय विभाजन गरेर जिम्मेवारी दिन चुनौती भइरहेको छ। 

बागमती प्रदेशको १२ सदस्यीय मन्त्रिपरिषद्‌मा कांग्रेसबाट ६, माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ र एकीकृत समाजवादीबाट २ जना मन्त्री बनेका छन्।

सत्ता गठबन्धनका कांग्रेसले ६ र एकीकृत समाजवादीले २ मन्त्रालय नभई नहुने अडान लिएपछि ११ मन्त्रालय रहेकामा कुनै फुटाएर भए पनि १२ मन्त्रालय बनाउनुपर्ने बाध्यता सिर्जना भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .