ad ad

बागमती


उद्योग मन्त्रालय स्थापनाको एक महिना पूरा : कर्मचारी अभावले छैन कामको मेलोमेसो

उद्योग मन्त्रालय स्थापनाको एक महिना पूरा : कर्मचारी अभावले छैन कामको मेलोमेसो

नेपालखबर
असोज ५, २०८० शुक्रबार १३:१०, हेटाैँडा

बागमती प्रदेशमा सत्ता गठबन्धन दलहरुको भागवण्डा मिलाउन मन्त्रालय थप गरेको एक महिना पूरा भयो। गत ५ भदौमा कांग्रेसबाट मन्त्री बनेका रामकृष्ण चित्रकारलाई विभागीय जिम्मेवारी दिनका लागि मन्त्रालय थप गरिएको थियो।

९३ दिनसम्म विभागीय जिम्मेवारी नपाएर कामविहीन हुनपरेका मन्त्री चित्रकारले ९४ औं दिनमा विभागीय जिम्मेवारी त पाए। तर जिम्मेवारी पाएको १ महिना पूरा भैसक्दा कर्मचारी अभावका कारण कामको मेलोमेसो भने पाउन सकेका छैनन्।

दुईवटा मन्त्रालय विभाजन गरेर गठन भएको उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा कर्मचारीको पदपूर्तिमै सकस देखिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका केही कर्मचारी र संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयबाट केही कर्मचारीको साहायतामा केही अनिवार्य कामहरु गर्ने गरिएता पनि मन्त्रालयको नियमित कामका लागि कर्मचारीको पदपूर्तिमा समस्या भैरहेको उद्योगमन्त्री रामकृष्ण चित्रकार आफैं स्वीकार्छन्।  

‘मन्त्रालयमा सचिव देखि कानुन अधिकृत केही नहुँदा मन्त्रालयको नियमित कामकारवाही गर्नै पाइरहेको छैन’, मन्त्री चित्रकारले भने, ‘पहिले भैरहेका मन्त्रालयहरुमा त कर्मचारीको संख्या प्रयाप्त थिएनन्। थपिएको यो मन्त्रालयमा त झन् एक सेट नै नयाँ कर्मचारीको आवश्यकता छ। तीनवटा महाशाखा र अन्य शाखाहरुका लागि ४२ जनाको दरवन्दी छ। तर हाल जेनतेन १२ जना कर्मचारी पाएका छौं।’

उनका अनुसार उक्त मन्त्रालयमा सचिवकै अभाव हुँदा कामकारबाहीमै समस्या भैरहेको हो। हाल संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका सचिव गोविन्द प्रसाद रिजाललाई नै उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको समेत जिम्मेवारी छ।

यस्तै, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयकै लेखा अधिकृत विनोद प्रधानले नै यस मन्त्रालयको समेत काम गर्दै आएका छन्। आफूले मन्त्रालयमा बसेर कार्ययोजनाकहरु तयार गरे पनि कर्मचारी अभावका कारण एउटै कामको निर्णय हुन हप्तौं लाग्ने गरेको मन्त्री चित्रकारको अनुभव छ।

त्यसोत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेको प्रदेशमा कर्मचारीको व्यवस्थापन, सरुवा तथा बढुवाको हक पाएको प्रशासन पनि चित्रकारको भागमा आएको यसै मन्त्रालय मातहतमा आएको छ। तर, आफ्नै मन्त्रालयमा कर्मचारीको चरम अभावका कारण कामकारवाही नै प्रभावित बन्न पुगेको मन्त्री चित्रकारकै गुनासो छ।

कर्मचारी व्यवस्थापनको जिम्मेवारी बोकेको प्रशासन नै तपाईंको मन्त्रालयमा छ, १ महिनासम्म पदपूर्ति गराउन नसक्नु गैर जिम्मेवारीपन भएन र? नेपालखबरको यो प्रश्नमा मन्त्री चित्रकारले हाँस्दै जवाफ दिए, ‘गैर जिम्मेवारीपन भन्ने त होइन। बागमतीमा कर्मचारीको अभाव छ। मेरो मन्त्रालयमा मात्रै हो र?’

उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा मात्रै नभएर अन्य मन्त्रालयमा भएको कर्मचारी अभावका समस्यालाई समेत हल गर्न आफू लागिपर्ने मन्त्री चित्रकारले बताए।

उनले थपे, ‘पुराना ६ वर्षदेखिका मन्त्रालयमा पनि त्यस्तै छ हालत। एउटा कर्मचारीले ३ वटासम्म मन्त्रालय र कार्यालय धानेका छन्। तर यति भन्दै गर्दा पदपूर्तिमा चासो नदेखाएको भने होइन, छिट्टै सबै दरबन्दी पूरा गरेर मन्त्रालयको कामहरु अघि बढाउने तयारीमा छौं।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .