ad ad

बागमती


राजनीति छिरेपछि बन्द हेटौंडा कपडा उद्योग फेरि सञ्चालन गर्न कति सजिलो?

अन्य उद्योग पनि खुलाउन प्रधानमन्त्री सक्रिय
राजनीति छिरेपछि बन्द हेटौंडा कपडा उद्योग फेरि सञ्चालन गर्न कति सजिलो?

तस्बिर : सुनिता विष्ट


सुनिता विष्ट
माघ १७, २०८० बुधबार १८:१०, हेटौंडा

हरेक वर्ष संघीय सरकारको नीति तथा कार्यक्रमका बेला चर्चा आउने गरेको हेटौंडा कपडा उद्योगको चर्चा यस वर्ष पनि उस्तै छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका रुग्ण उद्योगहरू सञ्चालनमा ल्याइने बताएपछि यसको फेरि चर्चा सुरु भएको हो।

मंगलबार प्रधानमन्त्री प्रचण्डले बन्द रहेको गोरखाली टायर, बुटवल धागो उद्योग र हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउने बताउँदै एक साताभित्र मोडालिटी तयार पार्न निर्देशन दिइसकेका छन्।

जसअनुसार नेपाली सेनाले ती उद्योग सञ्चालन गर्ने बताइएको छ। 

तर, हेटौंडा कपडा उद्योग प्रधानमन्त्रीले भने जसरी सजिलै सञ्चालनमा ल्याउन कठिन रहेको जानकारहरू बताउँछन्।

भवनदेखि मेसिनसम्म मर्मत नगरी उद्योग सञ्चालनमा ल्याउन सक्ने स्थिति नरहेको बागमती प्रदेश उद्योग परिसंघका उपाध्यक्ष स्वागतराज प्याकुरेल बताउँछन्।

उनका अनुसार पुराना प्रविधिका मेसिनका कारण पनि सबै मेसिनरी सामानहरू परिवर्तन नगरी सञ्चालनमा ल्याउन सकिने अवस्था छैन। 

‘पुराना मेसिन जबरजस्ती चलाउन खोजे दुर्घटना हुने सम्भावना हुन्छ। खिया लागेर बसेका छन्’, उनले भने, ‘उस बेला जस्तो अवस्थामा बन्द भएको थियो। अहिले पनि त्यस्तै अवस्थामा छ। मेसिनमै धागो कुहिएका छन्। छानो चुहिएर पानी पस्ने अवस्था छ। सञ्चालन हुँदै नहुने भन्ने होइन, तर मेसिनहरूकै अध्ययन गर्न आवश्यक छ।’

यता, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका व्यवस्थापक भोजराज बिनाडी  यसबारे कुनै जानकारी प्राप्त नभएको बताउँछन्।

‘प्रधानमन्त्रीले निर्देशन दिनुभएपछि उद्योग मन्त्रालयले सञ्चालन प्रक्रिया थाल्ने होला,’ उनले नेपालखबरसँग भने, ‘तर हामीलाई यो बिषयमा केही जानकारी आएको छैन। कुनै निर्देशन प्राप्त भएको छैन।’ 

उद्योग चल्न सक्ने नसक्ने के लाग्छ यहाँलाई? नेपालखबरको प्रश्नमा उनले भने, ‘तत्कालै चल्न सक्ने अवस्था त देखिँदैन। सरकारले अध्ययन गरेको होला। प्रयत्न गरियो भने हुँदै नहुने भन्ने हुँदैन।’ 

यस्तो छ इतिहास
२०३२ सालमा शिलान्यास भएको उद्योग चिनियाँ सरकारको सहयोगमा बनेको थियो। २०३५ साल माघ ५ बाट सञ्चालनमा आएको उद्योग कुनै समय मकवानपुरको मात्र नभएर देशकै शान थियो।

हेटौंडा औद्योगिक क्षेत्रको मात्र नभएर देशकै ठूलो उद्योगबाट उत्पादन भएका सुती धागो, कोरा, रंगीन, बुट्टेदार र सेतो कपडा खरिद गर्न व्यवसायी र उपभोक्ताले तँछाडमछाड गर्थे।

तर, २०५० तिर जब उद्योगमा राजनीतिले प्रवेश पायो तब उद्योगको दुर्गती सुरु भयो। 

ट्रेड युनियनको नाममा भएको राजनीति र सत्तारुढ दलले आफ्ना नेता तथा कार्यकर्ताको भर्तीकेन्द्र बनाउँदा नाफामा रहेको उद्योग २०५७ सम्म आइपुग्दा पूरै बन्द भयो।

सरकारले २०५७ साल माघ १८ गते उक्त उद्योग बन्द गर्ने निर्णय गर्‍यो। २०५९ सालमा सरकारले उद्योग खारेजीको प्रक्रिया अघि बढायो।

उद्योग बन्द भएसँगै सयौँको रोजगारी त खोसियो नै, सबैभन्दा धेरै नाफा गर्ने नेपाली कपडालाई विश्व बजारमा ‘ब्राण्डिङ’ गर्ने उद्योगको अस्तित्व सकियो।

करिब १५ सय व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको उद्योगमा राजनीति छिरेपछि धराशायी हुँदै बन्द भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .